शुक्रवार २८ मंसिर, २०७५ (Friday, 14th December 2018)
२८ मंसिर, २०७५ (14 December 2018)

उपत्यकाका नदी किनारमा छठको रौनक

राजधानी समाचारदाता
1 month ago
13/11/2018

काठमाडौं । ललितपुरको कुपण्डोल थापाथली घाटलगायत उपत्यकाका विभिन्न नदी र पोखरीका किनारमा सोमबारदेखि नै छठको रौनक सुरु भएको छ ।

किनारामा पूजाका निम्ति घाट बनाउने, सिंगार्ने र झिलीमिली पार्ने काम सुरु भएको छ । मंगलबार अस्ताउँदो र बुधबार उदाउँदो सूर्यलाई अर्घ दिने तयारीस्वरूप घाट व्यवस्थापन तयारीमा भक्तजन लागिपरेका हुन् ।

देशका विभिन्न जिल्लाबाट आएर हाल काठमाडौं बसोबास गर्ने भक्तजनको भीड लाग्ने गर्छ । प्रायः महिला व्रतालु सौभाग्यसहित शृंगारपटारमा सजिएर बाग्मती नदी किनार सूर्य र छठी माईको ध्यान गर्ने गर्छन् ।

नदी किनारमा घाट बनाएर फलफूल चढाएर अस्ताउँदो सुर्यलाई अर्घ दिने चलन छ । कात्तिक शुक्ल षष्ठीका दिन अस्ताउँदो सूर्यलाई अर्घ दिने परम्परा छ ।

 

सप्तमी तिथिमा उदाउँदै गरेको सूर्यलाई अर्घ अपर्ण गरेपछि छठ पर्व सम्पन्न हुन्छ । पर्वमा पानीको मुख्य स्रोत नदी र पोखरी किनार सफासुग्घर गर्दै झिलीमिलीसहित सजाएर राख्ने परम्परा छ ।

पर्सा, वीरगन्ज, रौतहट, सिराहा, सप्तरी, धनुषा, महोत्तरीलगायतका जिल्लाका बासिन्दा कुपण्डोल घाटमा आफन्तसहित पूजा गर्न आएका छन्् । ३० वर्षदेखि काठमाडौं बस्दै आएका राजविराजका शिवनारायण दास परिवारसहित त्यहाँ छठी माई र सूर्यको पूजा गर्ने तयारीका साथ त्यहाँ पुगे । ‘अघिल्ला छठमा हामी रानीपोखरीमा जान्थ्यौं,’ उनले भने,

‘त्यहाँ अहिले पानी नै छैन, मन्दिर पुनर्निर्माण भइरहेको छ, त्यसैले यहाँ हामी आएका हौं ।’

छठ पूजाका लागि घाटमा कुनै शुल्क नराखिएको कुपण्डोल छठ व्यवस्थापन समितिले जनाएको छ ।  ‘व्रतालुका लागि कुनै शुल्क व्यवस्था गरिएको छैन,’ एक समिति सदस्यले भने, ‘उपत्यकामा भएका विभिन्न १३ ठाउँमध्ये निःशुल्क व्यवस्था यहाँ मात्र हो ।’

करिब साढे ५ सय व्रतालु आउने अनुमान छ  ।  केही दिनअघिसम्म फोहोर रहेको स्थल सफाइ गरी सम्याएर बाग्मती किनारामा पूजा गर्ने स्थल बनाइएको छ ।

प्रधानमन्त्री वा मन्त्री पनि त्यहाँ पुगी छठी माईको दर्शन गरी प्रसाद ग्रहण गर्ने गरेका छन्् । कुपण्डोल घाट काठमाडौंकै सबैभन्दा पहिलो पूजास्थल हो ।

ललितपुरमा कुपण्डोलबाहेक कुसुन्ती, राजतीर्थ, लगनखेल पोखरी, खुमलटार पोखरीमा घाट बनाएर पूजा गर्न तयारी गरिएको छ ।

यसैगरी, भक्तपुरमा मनोहरा खेला किनार र सानो ठिमी श्यामाश्याम धाममा पूजाका निम्ति व्यवस्था गरिएको छ । काठमाडौंमा गुहेश्वरी, कमलपोखरी, टंकेश्वर, बल्खु, कुलेश्वर महादेव मन्दिर, बालाजु बाइसधारा, कीर्तिपुरमा पनि छठका निम्ति घाट बनाइएको छ ।

गौरीघाट छठ व्यवस्थापन समिति अध्यक्ष किरणकुमार दासले छठका लागि पण्डाल र पाल व्यवस्था गरिएको जानकारी दिए । नयाँ खाद्यान्न, केरालगायतका वस्तु छठी मातालाई अर्पण गर्ने परम्परा छ ।

भूकम्पका कारण पुनर्निर्माणक्रममा रहेको रानीपोखरीमा यसपालि छठ पूजाका लागि घाट बनाइएको छैन ।

द्रौपदीसहित पाँच पाण्डव अज्ञात बासमा रहँदा ‘अज्ञातवास सफल होस्’ भनी सूर्यदेवलाई आराधना गरेको महाभारतमा उल्लेख छ । त्यस समय पाण्डव विराट राजाको दरबारमा वास बसेका थिए । सोही समयदेखि छठ मनाउने परम्परा थालनी भएको भनाइ चल्दै आएको  छ ।

यसैगरी, सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेको उल्लेख छ । व्रतपश्चात् अटल सौभाग्य र पतिप्रेम प्राप्त गरेको उल्लेख छ । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्परा सुरुवात भएको पुराणमा उल्लेख छ ।

अर्को प्रसंगअनुसार आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्ब सूर्यको आराधनाको फलस्वरूप रोगमुक्त हुन गएको साम्ब पुराणमा वर्णन गरिएको छ । संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै रहको छ ।

सूर्यको तेज शक्तिबिना रूख, विरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्य किरणको चिकित्सामाथि कयौं चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ ।

सूर्यको किरणबाट कयौं असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइने धार्मिक जनविश्वास छ ।

षष्ठी तिथिमा मुख्य पूजा गरिने हुनाले यसलाई  छठ, छैठ, छइठ र छठी भनेर सम्बोधन गरिन्छ । यस पर्वमा भगवान् सूर्यलाई प्रसादका रूपमा ठेकुवा, भुसुवा, केरा, मिठाइ, उखु, नरिवल, पान, सुपारीलगायतका प्रसाद सामग्री नयाँ माटोको भाँडो र बाँसको टोकरीमा राखेर सूर्यदेव र छठी मैया“लाई अर्पण गरिन्छ ।

आफ्नै खेतबारीमा उत्पादित वस्तु चढाउने हुनाले यसको सम्बन्ध कृषिसँग पनि रहेको संस्कृतिविद् डा. रामदयाल राकेश बताउ“छन्् । छठमा व्रत बस्नाले परिवारको सुखशान्ति, सन्तान प्राप्तिका साथै विभिन्न मनोकामना पूरा हुने विश्वास छ ।

यसैगरी, चर्म रोग नास हुने पनि धार्मिक विश्वास छ । परिवारका कुनै ज्येष्ठ महिला उपवासमा बसी सूर्यलाई अर्घ  दिने  तर उनीहरूले नसक्ने अवस्था आए, अन्य व्रतालुले तिनीहरूको प्रसाद लिएर सूर्यलाई चढाउन परम्परा छ ।

कात्तिक शुक्ल सप्तमी तिथिमा उदाउँदै गरेको सूर्यलाई अर्घ अर्पण गरेपछि विधिवत् छठ सम्पन्न हुन्छ । गएको आइतबारदेखि सुरु यो पर्वलाई सत्य, अहिंसा, आरोग्य र समृद्धिका रूपमा चार दिनसम्म मनाउने गरिन्छ ।

धनुषा जनकपुरधामस्थित धनुष सागर, गंगासागर, रामसागरलगायतका पोखरी एवं जलाशयमा भक्तजनको भीडलाग्ने गर्दछ ।

मिथिला क्षेत्रका जलाशयमा मात्र नभई, तराइका अन्य क्षेत्र र उपत्यकामा पनि छठको रौनक बढ्न थालेको छ । पर्सा वीरगन्जस्थित घडिअर्वा पोखरी, बारा निजगढ, सिमरा, परवानीपुर, कलैयालगायतका स्थानमा पनि छठको रौनक बढेको छ ।

(Visited 3 times, 1 visits today)