शुक्रवार २८ मंसिर, २०७५ (Friday, 14th December 2018)
२८ मंसिर, २०७५ (14 December 2018)

एनआरएनएद्वारा मध्यपूर्व संयोजक शर्माको रिहाइ माग

राजधानी समाचारदाता
1 month ago
13/11/2018

 

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संघका मध्यपूर्व संयोजक राजेन्द्रकुमार (आरके) शर्माको शीघ्र रिहाइ माग गरेको छ । गत महिनादेखि शर्मालाई कतारको सुरक्षा निकायले गिरफ्तार गरेर राखेकोमा एनआरएनएले आपत्ति जनाउँदै शीघ्र रिहाइ माग गरेको हो । संघले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै संघका मध्यपूर्व संयोजक शर्मालाई लामो समयसम्म आफ्न्तको सम्पर्क बाहिर राखेकामा पनि संघले निकै आपत्ति जनाएको बताएको छ ।

शर्मालाई गत १८ अक्टोबरमा कतारको सुरक्षा निकायले पक्राउ गरेको थियो । उनलाई किन गिरफ्तारी गरियो भन्ने विषयमा त्यहाँको सरकारी निकायले अझैसम्म आधिकारिक रूपमा जानकारीसमेत नगराएको संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । गिरफ्तार गरिएको तेस्रो दिन छोटो समय परिवारका सदस्यसँग कुरा गर्न दिए पनि कतारमा दसैंअघि आयोजना गरिएको एक सांस्कृतिक कार्यक्रमको प्रस्तुतिका विषयलाई लिएर गिरफ्तार भएको र सुरक्षित रहेकोबाहेक अन्य जानकारी पाउन नसकेको शर्माको पारिवारिक स्रोतले जनाएको छ ।

कतारी प्रहरीको गिरफ्तारीमा परेका शर्मा गत ५ अक्टोबरमा दोहामा लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको कतार शाखाको आयोजनामा सम्पन्न भएको एक सांस्कृतिक कार्यक्रममा सहभागी भएका थिए । त्यस कार्यक्रममा रोजगारदाताले नेपाली कामदारलाई दिएको पीडाको विषय समेटिएको थियो । शर्मा त्यस कार्यक्रमको विशेष अतिथिका रूपमा उपस्थित भएका थिए ।

उनीबाहेक सो कार्यक्रमका आयोजक प्रतिष्ठानका उपाध्यक्ष शक्ति क्षत्री र कलाकार रामबाबु बोहरा, रितकुमार श्रेष्ठ र कृष्ण ढकाललाई पनि त्यहाँको सुरक्षा निकायले कार्यक्रम पछि नियन्त्रणमा लिएको बुझिएको छ । गत बिहीबार संघका मध्यपूर्व संयोजक शर्माले करिब १५ मिनेट परिवारका सदस्यसँग कुरा गरेको र नेपाली समुदायको नेतृत्वकर्ता भएर पनि त्यस किसिमको कार्यक्रम किन रोक्ने प्रयास नगरेको भन्ने विषयमा नै कतार प्रहरीको सोधखोज केन्द्रित रहेको शर्माले परिवारका सदस्यलाई जानकारी गराएकोेबताइएको छ ।

शर्माको गिरफ्तारी पछि संघले कतारस्थित नेपाली दूतावास, परराष्ट्र मन्त्रालयलगायत सम्बन्धित निकायमा उनको अवस्था यकिन गर्न र रिहाइका लागि आवश्यक पहल गरिदिन अनुरोध गर्दै आएको छ । संघले प्रेस विज्ञप्तिमार्फत संघका मध्यपूर्व संयोजक शर्मा र हिरासतमा रहेका अन्य नेपालीको शीघ्र रिहाइका लागि जोडदार अपिल गरेको जनाएको छ ।

यसैगरी, संघले प्रेस विज्ञप्तिमार्फत कसैले पनि व्यक्तिको स्वाभिमानमाथि चोट पुग्ने गरी संघ र संघका पदाधिकारीलाई समेत जोडेर काल्पनिक, आधारहीन र भ्रामक समाचार सम्प्रेषण तथा टीका टिप्पणी नगरिदिन आग्रह गरेको छ ।

(Visited 13 times, 1 visits today)