शुक्रवार २८ मंसिर, २०७५ (Friday, 14th December 2018)
२८ मंसिर, २०७५ (14 December 2018)

कात्तिक नाच सुरु

राजधानी समाचारदाता
1 month ago
13/11/2018

ललितपुर । ललितपुरको मंगलबजारमा सोमबार बेलुकाबाट ऐतिहासिक कात्तिक नाच सुरु भएको छ  मंगलबजारस्थित कात्तिक डबलीमा ३७८ वर्ष पुरानो परम्परागत नाच सुरु भएको हो ।

पहिलो दिन सोमबार बाथ ः प्याँख नाच देखाइएको कात्तिक नाच प्रबन्ध समितिले जनाएको छ । बाथः प्याँख नाचअन्तर्गतको ल्यवः लायगु देखाइएको हो । मंगलबार पनि बाथः प्याँख नाचअन्तर्गतको खुसी छिकेगु देखाइने तयारी छ ।

धार्मिक महŒवसमेत रहेको कात्तिक नाचमा नृत्यको माध्यमबाट जीवन उपयोगी विभिन्न धार्मिक नाटक प्रस्तुत गरिने समितिका अध्यक्ष किरण चित्रकारले जानकारी दिए । यो नाच आउने ७ मंसिरसम्म हरेक साँझ ७ बजे देखाइने समितिले जनाएको छ । यो नाच यसपालि पनि १२ दिनसम्म देखाउन लागिएको समितिका अध्यक्ष चित्रकारले बताए । कात्तिक नाच केही वर्ष पहिलेसम्म आठदेखि १० दिन हुनेमा चार वर्ष पहिलेदेखि १२ दिनसम्म चलिरहेको छ ।

यो १२ दिनमा नाचमा बाथ ः प्याँख, उषा हरण लीला, नारायण जल सयन, नृसिंह अवतार, भैरव, कुमारी, महालक्ष्मी नाच, मधु कैटव बध, हिरणाक्ष वध, हिरण्यकश्यप बध, वस्त्रहरण र दधिलीलालगायतका नाच देखाइने समितिका अध्यक्ष चित्रकारले जानकारी दिए ।

यी नाचका लागि तालिम लिएका करिब सय जना कलाकार तयारी अवस्थामा छन् । अध्यक्ष चित्रकारका अनुसार नृसिंह नाचमा कृष्ण मन्दिरका पुजारी प्रतापधर शर्माले अभिनय गर्नेछन् । वरपर भत्किएका मन्दिरको पुनर्निर्माण चलिरहे पनि नाच देखाउन कुनै अप्ठेरो नपर्ने समितिले जनाएको छ ।

२८ कात्तिकदेखि २ मंसिरसम्म उषाहरण लीला हुनेछ । यो लीलाअन्र्तगत २८ कात्तिक बुधबारका दिन वाणासुरयात सहश्रभुज वरदान, २९ कात्तिकमा उषा–अनिरुद्र शृंगार, ३० कात्तिकमा उषाहरण लीलाअन्तर्गत देवीप्याँख, १ मंसिरमा युद्ध कला र २ मंसिरमा वाणासुरया सहश्र भुज ल्वाल्हाइगु नाच रहेको कलाकार प्रतापधरले बताए । ३ मंसिरमा जल शयण मधु कैटव वध, ४ मंसिरमा बराह अवतार हिरण्याक्ष वध, ५ मंसिरमा नृसिंह अवतार हिरण्यकश्यपु वध, ६ मंसिरमा वस्त्रहरण लीला र ७ मंसिरमा दधिलीला रहेका छन् ।

कात्तिक महिनामा सञ्चालन गरिने भएकाले यसलाई कात्तिक नाच भनिएको हो । पहिले कात्तिक कृष्ण प्रतिपदादेखि कात्तिक शुक्ल पूर्णिमासम्म एक महिनासम्म कात्तिकभर देखाइने नाच छोट्याएर देखाइँदै आइएको छ ।

नाचप्रबन्ध समितिका अनुसार ३७८ वर्षपहिले मल्ल राजा सिद्धिनरसिंह मल्लले हरेक कात्तिकमा मंगलबजारस्थित डबलीमा कलाकारहरूलाई अभिनय गर्न लगाई नाचको थालनी गरेका हुन् । १६९७ सालमा राजा मल्लले यो नाच सुरु गरेको इतिहास छ । उनका छोरा श्रीनिवास मल्लले नाचको अवधि सात दिन विस्तार गरे भने नाति योगनरेन्द्र मल्लले २७ दिनसम्म नाच देखाउने चलन बसाएका हुन् ।

(Visited 3 times, 1 visits today)