शुक्रवार २८ मंसिर, २०७५ (Friday, 14th December 2018)
२८ मंसिर, २०७५ (14 December 2018)

छठपर्व : अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै

रासस
1 month ago
13/11/2018

विराटनगर, २७ कात्तिक । आज छठ पर्वको तेस्रो दिन सूर्यदेवको आराधना, उपासना र पूजा गरी हर्षोल्लासपूर्वक रुपमा छठ पर्व मनाइँदैछ । चार दिनसम्म मनाइने यस पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खर्ना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत्रुपमा सम्पन्न हुने गर्दछ ।

छठ अवधिभरि माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो, उसानाको चामललगायतका खाद्य वस्तु प्रयोग गर्न निशेष गरिएको हुन्छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व आइतबारदेखि शुरु भएको हो ।

छठको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइन्छ भने बुधबार उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व सम्पन्न हुन्छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइने जनविश्वास रहेको छ । यो पर्वको व्रत बसेमा मुख्यतः सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याण हुने विश्वास रहेको छ ।

विराटनगर महानगरपालिका क्षेत्रमा मधेशी र पहाडी समुदाय संयुक्तरुपमा यो पर्व मनाउँदा यसले सामाजिक सद्भाव कायम गरेको छ । विराटनगरको पूर्वमा सिघिया र पश्चिममा रहेको केसलीया खोला तथा महानगरपालिकाबीचको दुवै क्षेत्रमा रहेको सुनसर¬¬ मोरडको नहरको डिल र पोखरीमा टेण्ट गाडी विभिन्न ध्वजा, रङ्गीचङ्गी बिजुली बत्तीले सजावट गरिएको क्षेत्रमा आज अस्ताउँदो सूर्य र भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिई यो पर्व समापन हुने गर्दछ ।

(Visited 3 times, 1 visits today)