शुक्रवार २८ मंसिर, २०७५ (Friday, 14th December 2018)
२८ मंसिर, २०७५ (14 December 2018)

तराईका तालतलैया झकिझकाउ, अस्ताउँदो सूर्यलाई अर्घ

राजधानी समाचारदाता
1 month ago
14/11/2018

जनकपुरधाम । मिथिलाञ्चलको आस्थाको महापर्व  छठको तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिई मनाइएको छ । प्रत्येक वर्ष  कात्तिक र चैत महिनाको शुक्ल षष्ठी तिथिका दिन जलाशयको किनारमा भगवान सूर्यदेव र षष्ठी देवीलाई अर्घ अर्पण गरी छठ पर्व मनाइने परम्परा मिथिलाञ्चल तथा तराईमा रहेको छ ।

चार दिवसीय  छठ पर्वको मंगलबार तेस्रो दिन अस्ताउँदै गरेको सूर्यदेव भगवानलाई ठेकुवा, भुसवा, नरिवल, केरा, उखु, अदुवा, फलफूलसहितका विभिन्न परिकारहरूका साथमा अर्घ अर्पण गरिएकोे छ ।

जनकपुरको ऐतिहासिक गंगा सागर, धनुष सागर, अरगज्जा, नवकी पोखरी, दशरथ तलाउ, भुतही पोखरीलगायत दर्जनौं पोखरीहरूलाई दुलहीझैं सिंगारेर  छठ पर्व मनाइँदै छ । जनकपुरका दुई दर्जन पोखरीलाई सजाउन मात्रै १ करोडभन्दा बढी रुपैयाँ खर्च गरिएको गंगा सागर छठ पूजा समितिका उपाध्यक्ष रमण सिंहले बताए ।

चार दिवसीय छठ पर्वअन्तर्गत नहाय खाए र खरना यसअघि नै सम्पन्न भएको छ भने बुधबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिइनेछ ।

यसैगरी, धनुषा जिल्लाको ग्रामीण क्षेत्रमा पनि हर्षोल्लासका साथ  छठ पर्व मनाइँदै छ । जनकपुरको छठ हेर्न गत वर्षको तुलनामा बढी व्यक्ति बाहिरबाट जनकपुर आएका छन् । यस वर्ष चीचनबाट मात्रै २ सय जनाको टोली जनकपुर आएको छ ।

करिब ३६ घण्टासम्म निराहार रही गरिने यस व्रतलाई कठोर निष्ठा, आस्था र पवित्रताको पर्वका रूपमा मनाउने गरिएको छ । संस्कृतिविद्  डा. भोगेन्द्र झाले छठ पर्वका कारण जनकपुरको एउटा छुट्टै पहिचान रहेको बताए । छठका बेला स्थानीय पोखरीमा सुरक्षा व्यवस्था कडा पारिएको धनुषाका प्रहरी उपरीक्षक दिपेन्द्र रोक्काले जानकारी दिए ।

छठ पर्वमा सूर्यलाई अर्घ दिएमा दुःख क्लेशबाट मुक्ति, सन्तान प्राप्ति, चर्मरोग निको हुने र पारिवारिक सुख शान्ति रहने जनविश्वास रहिआएको छ ।

जलाशय किनारमा व्रतालु र दर्शानार्थीको घुइँचो

राजविराज।धार्मिक सहिष्ण्ुाता र आपसी सद्भावका लागि प्रसिद्ध छठ पर्वका अवसरमा मंगलबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ ।सूर्यलाई अर्घ दिएर व्रतालुले आफ्ना परिवारको सुख, शान्ति, समृद्धि र दीर्घायुको कामना गरे ।

सो अवसरमा सदरमुकाम राजविराजस्थित भगवती पोखरी, खर्साल पोखरी, कल्टु पोखरी, तुरन्ती पोखरी, पूर्णी लगायतका जलाशय किनारमा २ हजारभन्दा बढी पूजाघाट बनाइएको छ । यी जलाशयहरूमा स्थानीय तथा आसपासका क्षेत्रबाट आएका व्रतालुले छठ मनाउँदै छन् ।

यस्तै, सप्तकोसी ब्यारेजको पूर्वपट्टि नहर किनारमा झन्डै १ हजार बढी छठघाटमा व्रतालुले सूर्यलाई अर्घ दिए । त्यहाँ सप्तरी, सुनसरीसहित भारत विहारको सुपौल, अररिया, सहरसा र पूर्णियालगायतका स्थानबाट समेत छठ पूर्जा गर्न आउनेको ओइरो लागेको छ ।

यसैगरी, ब्यारेजकै पश्चिमपट्टिमा समेत छठ पूजाका लागि दुई किलो मिटरसम्म पूजाका घाटहरू बनाइएको छ । यस वर्ष कोसी ब्यारेजमा नेपाल तथा भारतका झन्डै २५ हजारभन्दा बढी व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ दिएको पूजा समितिले जनाएको छ ।

जिल्लाको अन्य जलाशयमा समेत व्रतालु र दर्शानार्थीहरूको घुइँचो लागेको छ । छठ मनाउने स्थलहरूमा छठी मइयाको महŒव झल्किने भोजपुरी तथा मैथिली गीत गुन्जिएको छ भने घाटहरू दुलहीझैं सिँगारिएको छ । बुधबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिइएपछि चार दिवसीय छठ पर्व सम्पन्न हुनेछ ।

कष्ट हर्ने पर्व छठ

मोरङः हरेक दुःख कष्ट हरण गर्ने पर्वका रूपमा लिइने छठ पर्व बुधबार (आज) उदाउँदो सूर्यलाई अर्घ दिई सम्पन्न हुँदै छ । सूर्यदेवको उपासना र पूजा–आरधानासँगै उदाउँदो सूर्यलाई अर्घ दिएर समापन हुने गर्दछ । चार दिनसम्म मनाइने छठ पर्वको तेस्रो दिनको साँझ र चौथो दिनको बिहान महŒवपूर्ण क्षण हुने गर्दछ । चार दिनसम्म मनाइने यो पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासना गरिन्छ ।

पहिलो दिन नुहाएर शुद्ध भई चोखो खाने, दोस्रो दिन दिनभर उपासना गरी साँझ मात्र विशेष फलाहार ग्रहण गर्ने र तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिई राति भजन कीर्तन गरी यथाशक्य जाग्राम बस्ने र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि प्रसाद ग्रहण गरी विधिवत रूपमा सम्पन्न हुने गर्दछ ।

छठ अवधिभर माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो, उसिना चामललगायतका खाद्य वस्तु प्रयोग गर्न निषेध गरिएको हुन्छ ।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व आइतबारदेखि सुरु भएको हो । मिलन, छुवाछूतरहित, धार्मिक आस्था बढाउने पर्वका रूपमा मानिने यो पर्व कठोर मानिन्छ । यस पर्वमा अदुवाको बोट, उखु, सुठुनी, पानीफल, नरिवल, केरा, माटोको दियोलगायतका सामग्रीहरू महŒवपूर्ण र पूजाका आवश्यक सामग्रीका रूपमा लिइन्छ ।

मंगलबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी पश्चिमतर्फ फर्किएर अर्घ दिइएको छ । बुधबार उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व सम्पन्न हुन्छ । छठ पर्वमा व्रत बसे दुःख, कष्ट र दरिद्रताबाट मुक्ति पाइने जनविश्वास रहेको छ । यस्तै यो पर्वको व्रत बसेमा मुख्यतः सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याण हुने विश्वास श्रद्धालुहरूमा पाइन्छ ।

विशेषगरी तराई क्षेत्रमा मनाइने यो पर्वको रौनकता भव्य हुने गरेको छ । छठ पर्वका लागि विराटनगरका सिंगिया खोलाको किनार, केशलिया खोलाको किनार, सुनसरी मोरङ सिँचाइ आयोजनाको नहर र स्थानीय पोखरीहरू दुलहीझैं सिंगारिएका छन् ।

सिंघिया घाट छठ पर्व संयोजन समितिका अनुसार यस वर्ष पनि भक्तजनहरूको उल्लेख्य सहभागिता रहेको छ । छठ पर्वको व्रत बसे सबै मनोकांक्षा पूर्ण हुने विश्वास रहेकाले यस पर्वमा सबै समुदायको सहभागिता बढ्दै गएको बताइएको छ ।

सो पर्वमा व्रत बस्नाले परिवारको स्वास्थ्य राम्रो हुने, मानव जातिको उत्थान हुने र निःसन्तानले सन्तान पाउने धार्मिक विश्वास छ, विराटनगर–१२ का राजु साहले बताए । यस्तै, विराटनगर–११ स्थित पिच्रा नहर छठ पूजा समारोह समितिका अध्यक्ष शिवराम सहनीका अनुसार यो पर्वले सामाजिक सद्भाव कायम राख्न अत्यन्त ठूलो भूमिका निर्वाह गर्छ । सबै जाति र धर्मकाले पनि मनाउने हुनाले एकताको पर्वका रूपमा छठ पर्व रहेको उनले बताए ।

छठमा नगरप्रमुखको दण्डवत प्रणाम

विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले यस वर्ष पनि छठ पर्वको पूजाको कष्टकर व्रत बसेका छन् । निराहार व्रत बसेका प्रमुख पराजुली १५आंै पटक दूरी नापेर साष्टांग दण्डवत् गर्दै (दूरी नापेर घसँ्रदै) सिंघिया घाटमा पुगी अस्थाउँदो सूर्यलाई अर्घ दिए ।

 

 

 

छठमा पहाडी र तराईवासी एकैठाउँ

नवलपरासी।  पूर्वी र पश्चिम नवलपरासीका तालतलैयाहरूमा पहाडी र तराईवासी दुवै समुदायले छठ पर्व मनाएका छन् ।

जिल्लाको मुख्य नदी नारायणी, स्वर्ण भद्रा र पूर्ण भद्रा नदीको संगम त्रिवेणीमा छठ पर्वको ठूलो मेला लागेको छ भने पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित झराही खोलामा भव्य मेला लागेको छ ।

परासीको झराही खोलामा मेला व्यवस्थापनका लागि मात्रै रामग्राम नगरपालिकाले १८ लाख खर्च गरेको छ ।

जिल्लाका त्रिवेणी र परासीका अलावा बर्दघाटे खोला, भुजहवा खोला, रामपुरवा झराही नदी खोला, हरपुर झराही नदी, महेशपुर बसपार्क, त्रिवेणी, कुडिया, नर्सही, गोपीगञ्ज, सेमरी, प्रतापपुर, ठूलो खैरटहवा, सोमनीलगायतका क्षेत्रमा छठ पर्वका सानाठूला मेलाहरू लागेका छन् ।

जिल्लामा रहेका तालतलैया तथा नदी खोला किनारमा मंगलबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाइएको छ । बुधबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि यो पर्व समापन हुने गर्दछ ।

मंगलबार छठ पर्वको मुख्य दिन हो । सोमबार राति दर खाएर मंगलबार बिहानैदेखि छठ पर्व मान्नेहरू पानीसमेत नखाई व्रत बस्ने गर्छन् । छठको अन्तिम दिन बुधबार उदाउँदो सूर्यलाई अर्घ दिएपछि मात्र व्रत सकिने गर्दछ ।

छठ पर्वको मुख्य दिन मंगलबार दुलहीझैं सिँगारिएका नदी तालतलैया तथा खोला किनारमा अस्ताउँदो सूर्यलाई अर्घ दिने प्रचलन छ । अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि रातभर जाग्राम बस्ने प्रचलन छ ।

सूर्यलाई अर्घ दिँदा लगेका केरा, सुथनी, डण्डी, उखु, सिंहाडा, बदाम, बेसारको बोट, काँचो अदुवाको बोट, नरिवल, विभिन्न प्रकारका फलहरू कागती, काँचो चना, फर्सी, अनार, स्याउ, सुन्तला, बेलौतीलगायतका प्रसादहरू एक अर्कालाई वितरण गर्दै छठ समापन गरिने त्रिवेणीका पत्रकार प्रेमचन्द रौनियारले बताए ।

कुनै बेला मधेसी मूलको समुदायको पर्व मात्रै भनेर चिनिने छठ पर्व अहिले मधेस र पहाडी सबै क्षेत्रको साझा पर्वका रूपमा विकास भएको रौनियारले बताए । यस पर्वमा महिलाहरू आफ्ना छोराछोरी, श्रीमान् तथा आफन्तको दीर्घायु, समृद्धिका लागि व्रत बस्ने गर्छन् ।

त्रिवेणीमा मेला तथा छठ पर्व मान्न आउने व्रतालुको सुरक्षाका लागि सुरक्षा व्यवस्था बलियो पारिएको पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताए । प्रमुख जिल्ला अधिकारी नेपालले सशस्त्र प्रहरी, जनपथ प्रहरीलगायतका सुरक्षाकर्मी परिचालन गरेको बताए ।

(Visited 3 times, 1 visits today)