मंगलवार ३१ भाद्र, २०७६ (Tuesday, 17th September 2019)
३१ भाद्र, २०७६ (17 September 2019)

सिद्धार्थको जित

राजधानी समाचारदाता
10 months ago
14/11/2018

 

धनगढी । साबिकको विजेता सिद्धार्थ शिशु सदन र क्यास्पियन एकेडेमीले मंगलबारबाट धनगढीमा सुरु तेस्रो संस्करणको विद्यालयस्तरीय निस्ट लिटिल फ्लावर प्रिमियर लिग (निस्ट एलपीएल) क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेका छन् ।

धनगढीस्थित संघीय एकाइ प्रहरी कार्यालयको खेल मैदानमा मंगलबार भएको उद्घाटन खेलमा सिद्धार्थले निस्ट भक्तपुरमाथि ४ रनको रोमाञ्चक जित निकाल्यो । १० ओभरमा छोट्याइएको खेलमा सिद्धार्थले टस जितेर पहिले ब्याटिङ गर्दै ५ विकेट गुमाएर ६३ रन जोडेको थियो । सिद्धार्थका लागि गजेन्द्र बोहोराले १८ रन जोडे । सुरेन्द्र साउदले अविजित १५ र खडक बोहोराले १४ रन बनाए । निस्ट भक्तपुरका कप्तान सोहन यादवले २ विकेट लिए । ६४ रनको विजयी लक्ष्य पछ्याएको निस्ट भक्तपुरले निर्धारित १० ओभरमा ३ विकेट गुमाउँदै ५९ रन मात्रै जोड्न सक्यो । निस्टका लागि शिशिर केसीले १९ र कप्तान सोहन यादवले १४ रन जोडे पनि आफ्नो टिमलाई जिताउन सकेनन् । सिद्धार्थलाई जिताउन प्रकाश थापाले २ ओभरमा ६ रन खर्चंदै २ विकेट लिए । प्रकाश नै खेलको म्यान अफ द म्याच घोषित भए । उनले नगद हजार रुपैयाँ पाए ।

मंगलबारै भएको अर्काे खेलमा क्यास्पियन एकेडेमीले शारदा माविलाई १४ रनले पराजित ग¥यो । टस जितेर पहिले ब्याटिङ गरेको क्यास्पियनले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १०१ रन बनायो ।

 

उसका लागि दिनेश अधिकारीले सर्वाधिक ३० रन जोडे । प्रकाश पाठक २० तथा निशान बोगटीले १८ रन बनाए । १०२ रनको विजय लक्ष्यसहित मैदान उत्रिएको शारदाले १६ ओभर ३ बलमा सबै विकेट गुमाउँदै ८७ रनमा समेटियो । शारदाका लागि दीपक टमटाले ३४ रन र जीवन मगरले २२ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो रन अंक छुन सकेनन् । क्यास्पियनलाई जिताउन रोशन अधिकारीले ६ विकेट लिए । निराजन रावलले २ विकेट लिए । ६ विकेट लिएका रोशन म्यान अफ द म्याच भए । उनले नगद हजार रुपैयाँसहित ट्रफी पाए ।

प्रतियोगितामा बुधबार कैलाली मोडेल र विज्डम एकेडेमी तथा दोस्रो खेलमा मोदाक्षा काठमाडौं र एबीसी स्कुल नेपालगन्जबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृप ओडले उद्घाटन गरेका थिए ।

संस्कार क्रिकेट एकेडेमी धनगढीको आयोजना तथा निस्ट कलेज लैनचौरको मुख्य प्रायोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा देशभरिका १२ टिमले सहभागिता जनाएका छन् ।

प्रतियोगिताको विजेताले १ लाख ११ हजार १११ रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले ५५ हजार ५५५ नगदका साथै ट्रफी पाउनेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १० हजार, उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदीयमान खेलाडीलाई नगद ५ हजारसहित ट्रफी प्रदान गरिनेछ ।

 

 

 

(Visited 14 times, 1 visits today)
Loading comments...