शुक्रवार १० फाल्गुण, २०७५ (Friday, 22nd February 2019)
१० फाल्गुण, २०७५ (22 February 2019)

स्मार्ट लाइसेन्स अझै दुई महिनापछि

कमला अर्याल
3 months ago
16/11/2018

काठमाडौं।  लामो समयदेखि पालो कुरेर बसेका सेवाग्राहीले स्मार्ट लाइसेन्स लिन अझै दुई महिना कुर्नुपर्ने भएको छ ।
विभागसँग भएका प्रिन्टिङ मेसिनमा भएको खराबी तथा एउटै नम्बरका ६ हजार लाइसेन्स दोहोरिएका कारण पालो कुरेर बसेका सेवाग्राहीले लाइसेन्स पाउन अझै दुई महिना कुर्नुपर्ने भएको हो ।
विभागको ढिलासुस्तीका कारण एक वर्षअघि आवेदन दिएकाले समेत पाउन सकेका छैनन् । छपाइ एक महिनाभित्रमा गरिसक्ने भए पनि वितरण गर्दा लगभग दुई महिना लाग्छ । यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले भने, ‘छपाइको काम एक महिनाभित्र सकिन्छ, त्यसपछि सम्बन्धित कार्यालयमार्फत वितरण हुँदा लगभग दुई महिना लाग्छ ।’

आफूसँग भएका प्रिन्टिङ मेसिनमार्फत कार्ड छपाइको काम गरे पनि सेवाग्राहीको माग पूरा गर्न सकिरहेको छैन । विभागसँग हाल पाँचवटा मात्रै प्रिन्टिङ मेसिन छन् । ती मेसिनमा दैनिक २ हजार ५ सयप्रति मात्रै कार्ड छापिन्छन् । तर, माग भने दैनिक ५ हजारको हाराहारीमा छ ।
सो माग पूर्ति गर्न नसक्दा निजी कम्पनी मालिका इनकर्पाेरेटलाई लाइसेन्स कार्ड छाप्न दिइएको विभागले जनाएको छ । विभागका अनुसार भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्टर्सले उपलब्ध गराएका ती स्मार्ट लाइसेन्स छाप्ने मेसिनले लाइसेन्स छाप्दै आएको छ ।

विभागले पाँचवटा मेसिनले छापेका स्मार्ट लाइसेन्स आफू मातहतका १६ वटा कार्यालयबाट वितरण गरिरहेको छ । तर, माग पूर्ति गर्न नसक्दा सेवाग्राहीले सास्ती खेप्नुपरेको छ । अहिले लाइसेन्स लिन लाइनमा रहेका सेवाग्राही ६ लाखको हाराहारीमा छन् । कम्पनीले आगामी एक महिनाभित्र ती ६ लाख सेवाग्राहीलाई ६ लाखप्रति कार्ड छापेर विभागलाई हस्तान्तरण गर्दै छ ।

सरकारले निजी कम्पनीमार्फत कार्ड छपाइ गर्दा प्रतिकार्ड १५ रुपैयाँ बढी तिर्नुपर्छ । यस आधारमा हेर्ने हो भने ६ लाख कार्डको ९० लाख रुपैयाँ सरकारले थप आर्थिक भार खेप्नुपर्छ । विभागको ढिलासुस्तीका कारण एकातर्फ सेवाग्राही १० महिनादेखि लाइनमा कुरेर बस्न बाध्य छन् भने अर्कातर्फ सरकारलाई ९० लाख रुपैयाँ थप आर्थिक भार परेको छ । अहिलेसम्म साढे ५ लाख स्मार्ट लाइसेन्स वितरण भइसकेको विभागले जनाएको छ ।

विभागका अनुसार सरकारले सेना, प्रहरी, विदेश अध्ययन गर्न जाने विद्यार्थी तथा विदेशमा काम गर्न जाने चालकका लागि तुरुन्तै लाइसेन्स छपाइको सुविधा उपलब्ध गराएको छ । त्यस्ता व्यक्तिले तुरुन्तै लाइसेन्स प्राप्त गर्न सक्छन् । यसका लागि आवश्यक प्रमाण भने पेस गर्नुपर्नेछ ।
विभागले गत वर्षको साउन महिनादेखि १६ वटा कार्यालयबाट स्मार्ट लाइसेन्स सेवा सुरु गरेको थियो । विभागअन्तर्गतका उपत्यकाका तीनवटा कार्यालयले यो सेवा २०७२ मंसिरदेखि सुरु गरेका थिए । विभागले आश्यक गृहकार्यबिनै देशभरका सबै यातायात व्यवस्था कार्यालयबाट स्मार्ट लाइसेन्स वितरण सुरु गरेपछि सेवाग्राही मर्कामा परेका हुन् ।

(Visited 9 times, 1 visits today)
Loading comments...