आइतवार १ पौष, २०७५ (Sunday, 16th December 2018)
१ पौष, २०७५ (16 December 2018)

मुस्ताङमा ‘भकुन्डो’

सुन्दरकुमार थकाली
1 month ago
16/11/2018

 

मुस्ताङ। नेपाली राष्ट्रिय टिमका फुटबलर अनिल गुरुङको जीवनकथालाई अब चलचित्रमा देख्न पाइने भएको छ । उनको जीवन कथामा आधारित चलचित्र भकुन्डो मुुस्ताङमा सुटिङ भइरहेको छ । चलचित्रको ६० प्रतिशत सुटिङ सकेर २० प्रतिशत सुटिङ मुस्ताङमा हुँदै छ । हिउँदयामको माइनस डिग्री तापक्रम छिचोल्दै निर्माण युनिटले अहोरात्र जोमसोममा सुटिङ गरिरहेको छ ।

चलचित्र भकुन्डोको निर्देशन शिव पुरीले गरिरहेका छन् । यसका निर्माता सुन्दर थापा हुन् । ‘भकुन्डोको सम्पूर्ण कथा फुटबलर अनिल गुरुङको जीवनकथामा आधारित रहेको छ, एउटा सफल राष्ट्रिय खेलाडी जन्माउन केकस्ता समस्या बेहोर्नुपर्छ भन्ने सन्देश चलचित्र भकुन्डोमा समेट्न खोजिएको छ,’ थापाले भने, ‘खेलको पीडा स्वयं खेलाडीलाई मात्र थाहा हुन्छ, खेलाडी राष्ट्रका गहना हुन् भन्ने यथार्थ चित्रण चलचित्रमा पस्कन खोजिएको छ ।’

उनले चलचित्र निर्माणको मुख्य उद्देश्य खेलकुद क्षेत्रको विकास तथा यसको प्रवद्र्धन गर्ने रहेको पनि निर्माता थापाले बताए । सहारा एकेडेमी पोखराको उत्पादन सफल फुटबल खेलाडी अनिल गुरुङको पोखरेली खेल इतिहासदेखि अन्तर्राष्ट्रिय फुटबल इतिहाससम्मको उनको जीवनी चलचित्रले समेट्ने यसका निर्देशक शिव पुरीको भनाइ छ ।

उनका अनुसार अनिल गुरुङ पोखराको मात्र नभई राष्ट्रकै गहना भएकाले उनका कथालाई चलचित्रमा उतार्न खोजिएको हो । सहारा एकेडेमीबाट अनिलको फुटबल अभ्यासदेखि अन्तर्राष्ट्रिय फुटबलमा उनले लिएको सन्न्याससम्मको कथा पस्कन खोजेका छौं । यो चलचित्र पुरै व्यावसायिक नभई राष्ट्रियता र खेलाडीको जीवनमा समर्पित रहेर निर्माण गरिरहेको निर्देशक शिव पुरीले जानकारी गराए । उनका अनुसार २०७३ सालबाटै निर्माण सुरु भएको यो चलचित्र आउँदो वैशाखमा रिलिज गरिनेछ ।

‘स्थानीय स्तरदेखि राष्ट्रिय फुटबल तथा अन्तर्राष्ट्रिय फुटबल खेलहरूको दृश्य छायांकनका लागि समय लाग्यो, मुस्ताङको सुटिङ सम्पन्न भएपछि बाँकी सुटिङ पोखरा र काठमाडौंमा हुन्छ,’ निर्देशक पुरीले भने ।

स्वतन्त्र रूपमा रुचिअनुसार प्रोत्साहित गर्नुपर्छ भन्ने सन्देश मुख्य विषय बनाएको पनि निर्माण पक्षको भनाइ छ । अनिलको बाल्यकालको भूमिकामा उत्सव घिमिरेले अभिनय गर्दै छन् । जोमसोममा अनिलको बाल्यकालको फुटबल स्टोरी सुटिङमा उत्सवलाई मुस्ताङ ल्याइएको यसका व्यवस्थापक दिनेशप्रकाश महतले बताए ।

चलचित्र भकुन्डोमा अनिल गुरुङको भूमिकामा उत्सव घिमिरे छन् । यस्तै, कलाकार श्याम राई, दिगविजय केसी, करुणा श्रेष्ठलगायतको यसमा मुख्य भूमिका रहेको छ ।

भकुन्डोको कथा डा. नवराज लम्सालले लेखेका हुन् । जसमा पटकथा किरण माइकलको छ । भकुन्डोमा रामेश्वर कार्कीको छायांकन, ब्याकुल माइलाको गीत र राजनराज शिवाकोटीको संगीत रहनेछ

(Visited 4 times, 1 visits today)