बुधवार ८ जेठ, २०७६ (Wednesday, 22nd May 2019)
८ जेठ, २०७६ (22 May 2019)

ड्रिम गर्लका लागि आकाशले छाडे वीर विक्रम २

राजधानी समाचारदाता
6 months ago
18/11/2018

 

काठमाडौं। अभिनेता आकाश श्रेष्ठ यतिबेला चलचित्र र पारिवारिक दुवै हिसाबले तनावमा छन् । एकातिर हजुरबुबालाई ग्रान्डी अस्पतालमा आईसीयूमा राखिएको छ भने अर्कोतिर ७ मंसिरबाट रिलिज हुने आफ्नो चलचित्र ‘ड्रिम गर्ल’का लागि उनले समय निकाल्न पनि गाह्रो भएको छ ।

यही कारण पनि उनले चार दिनअघि नयाँ चलचित्र ‘वीर विक्रम–२’ को छायांकन छाडेका छन्, ‘चलचित्र ड्रिम गर्ल प्रदर्शनीको तयारीमा रहेको बेला यसको प्रचार छाडेर वीर विक्रमको सुटिङमा हिँड्न पनि सहज थिएन । अर्कोतर्फ हजुरबुबा आईसीयूमा भएकाले पारिवारिक जिम्मेवारी छाडेर वीर विक्रमको छायांकनमा जान सकिनँ,’ उनले शनिबार राजधानीसँग भने ।

निर्देशन सुदर्शन थापाको पछिल्लो चलचित्र ‘राम कहानी’को सफलतापछि अभिनेता आकाश श्रेष्ठलाई एक पछि अर्को चलचित्रको प्रस्ताव छ । हरेक साता नयाँनयाँ चलचित्रमा मुख्य भूमिकाको प्रस्ताव पनि उनलाई आइरहेको छ । आफूसँग भएका सिनेमालाई सही व्यवस्थापन गरेपछि राम्रो ब्यानरको चलचित्रमा अनुबन्धित हुने योजना यी अभिनेताको छ ।

उनको पछिल्लो चलचित्र तिमीसँग र रामकहानीले राम्रो व्यापार ग¥यो । आफूले चलचित्र ड्रिम गर्लमा पनि त्यत्तिकै राम्रो भूमिका निर्वाह गरेको यी अभिनेताको कथन छ । यो चलचित्रको सफलताप्रति विश्वस्त भएका यी अभिनेताले भने, ‘ड्रिम गर्ल प्रेमकथामा आधारित चलचित्र हो । एउटा युवकको प्रेमप्रति कतिसम्म समर्पण हुन्छ भन्ने उदाहरणका रूपमा म यो चलचित्रमा प्रस्तुत भएको छु ।’

निर्देशक ऋषिराज आचार्यले निर्देशन गरेको ड्रिम गर्लको छायांकन काठमाडौं रारा क्षेत्र र थाइल्यान्डको विभिन्न स्थानमा गरिएको छ । दृश्यको हिसाबले पनि यो चलचित्र त्यत्तिकै सुन्दर बनेको यी अभिनेताले बताए । ड्रिम गर्लमा आकाशको जोडी भएर नव अभिनेत्री आश्मा गिरी प्रस्तुत भएकी छन् ।

नयाँ भए पनि आश्माले निकै राम्रो काम गरेको र ड्रिम गर्लका रूपमा उनलाई निकै सुहाएको पनि आकाशले बताए । यो चलचित्र रिलिज भएपछि आफू र आश्माको जोडीलाई दर्शकले आगामी चलचित्रमा पनि खोज्ने विश्वास यी अभिनेताले व्यक्त गरे ।

छायांकनमा जानुभन्दा दुई दिनअघि वीर विक्रम २ छाडेका यी अभिनेताले वीर विक्रम २ का निर्देशक मिलन चाम्ससँग सहमतिमै चलचित्र छाडेको बताए । हजुरबुबा सिकिस्त बिरामी पनि हुन र ड्रिम गर्लको रिलिज पनि सोही समयमा परेकाले आकाशले यो चलचित्र छाड्नुपरेको निर्देशक चाम्सले पनि विज्ञप्तिमार्फत प्रस्ट्याइसकेका छन् । वीर विक्रमको मुहूर्तमा समेत सहभागी भएका आकाशले मिलनसँग अर्को चलचित्रमा काम गर्ने सम्भावना रहेको बताएका छन् ।

 

 

(Visited 16 times, 1 visits today)
Loading comments...