शुक्रवार २८ मंसिर, २०७५ (Friday, 14th December 2018)
२८ मंसिर, २०७५ (14 December 2018)

एपेक बैठकमा चीन–अमेरिका विवादले घोषणापत्र जारी भएन

एजेन्सी
4 weeks ago
18/11/2018

पोर्ट मोर्सबी । पपुआ न्यू गिनीमा विश्वका नेताको कटुतापूर्ण देखिएको एपेकको शिखर बैठक अन्ततः संयुक्त घोषणापत्र जारी गर्न असफल भएको छ । सम्मेलनमा सहभागी विश्वका दुई महाशक्ति राष्ट्र चीन र अमेरिकाबीचको मतभेदका कारण सम्मेलन घोषणापत्र जारी नगरी सकिएको हो ।

गिनीको पोर्ट मोर्सबीमा एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) को दुई दिने शिखर बैठक भएको थियो । बैठकमा एपेकका २१ सदस्य राष्ट्रका सरकार प्रमुखहरु र प्रतिनिधिको सहभागिता थियो ।

अधिकारीका अनुसार चीन र अमेरिकाबीच मुख्यगरी विश्व व्यापार संगठनको भूमिकाका बारेमा उत्पन्न विवादले उग्ररुप लिएको थियो । सदस्य राष्ट्रको सहमतिमा सम्मेलनको अध्यक्षता गरेका पपुआ न्यूगिनीका प्रधानमन्त्री पिटर ओ–निलले अध्यक्षको वक्तव्य मात्र जारी गरेका छन् । ठूलो संख्यामा उपस्थित पत्रकारले सोधेका प्रश्नका जवाफ दिँदै ओ–निलले भने, ‘चीन र अमेरिकाबीचको तनावका कारण विश्व नै चिन्तित छ ।’

प्रधानमन्त्री ओ–निलले नेताहरुको विवादले संयुक्त घोषणापत्र सार्वजनिक हुन नसकेको र त्यसबाट आपूmलाई व्यक्तिगतरुपमा दुःख लागेको बताएका छन् । एपेक स्थापनाको २९ वर्षमा पहिलोपटक नेताहरुले संयुक्त घोषणापत्र सार्वजनिक गर्न नसकेका हुन् ।

विश्व अर्थतन्त्रको करिब ६० प्रतिशत हिस्सा यही समूहको नियन्त्रणमा छ । एपीले फेला पारेको मस्यौदा घोषणापत्रमा चीनको अनुचित व्यापारिक अभ्यासका विरुद्धमा कडा शब्द राख्नुपर्ने अमेरिकी माग थियो ।

तर, चीनले भने अमेरिकी संरक्षणवादको विरोध गर्न चाहेको थियो । यसै वर्षमात्र अमेरिकाले २५० अर्व अमेरिकी डलर बराबरका चिनिया सामानमा करवृद्धि गरेको छ । प्रतिशोध स्वरुप चीनले पनि अमेरिकी वस्तु तथा सेवामा करवृद्धि गरेको छ ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सम्मेलनका क्रममा व्यापारका बारेमा भिन्न धारणा आउने कुरामा आफूलाई आश्चर्य नलागेको बताएका छन् । अमेरिकी उपराष्ट्रपति माइक पेन्स र चिनिया राष्ट्रपति सी जिनपिङले शनिबारको उद्घाटन समारोहमा सम्बोधन गर्दा एकअर्काप्रति आक्षेप लगाएका थिए ।

उपराष्ट्रपति पेन्सले सी र चीनप्रति सहानुभूति राखे पनि विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीनमाथि बौद्धिक सम्पत्ति चोरी गरेको, जबर्जस्ती प्रविधि हस्तान्तरण गरेको तथा अनुचित व्यापारिक शैली अपनाएको आरोप लगाएका थिए ।

उनले विकासशील मुलुकहरुलाई पूर्वाधार निर्माणका नाममा ऋण दिएर चीनले अरु देशलाई ऋणको जालोमा पारेको आक्षेपसमेत लगाए । राष्ट्रपति सीले अमेरिकी संरक्षणवादले पारस्परिक सहयोगलाई रोकेको बताएका थिए । उनले दोस्रो विश्वयुद्धपछि स्थापित विश्व व्यापार संगठनलाई आफ्ना निहित स्वार्थी एजेन्डा पूरा गर्ने संस्थाका रुपमा हेर्न नहुने बताए ।

(Visited 4 times, 1 visits today)