शुक्रवार १० फाल्गुण, २०७५ (Friday, 22nd February 2019)
१० फाल्गुण, २०७५ (22 February 2019)

चेपाङ वस्तीमा नगरपालिकाले बिजुली बाल्ने

राजधानी संवाददाता
3 months ago
18/11/2018

लमजुङ । स्थानीय सरकारले सबै नागरिकहरुको घरमा बिजुली पुगोस् भन्ने लक्ष्यका साथ जिल्लाको बेंसीसहर नगरपालिका–११ वरबोटस्थित चेपाङ वस्तीमा बेंसीसहर नगरपालिकाले विद्युत सेवा वितरण गर्ने भएको छ ।

सो सेवाका लागि आवश्यक पर्ने तार, मिटर बक्स र विद्युत प्राविधिकसहितको व्यवस्था गरेर नगरपालिकाले बिजुली बाल्ने भएको हो ।

आर्थिक अभावका कारण सो चेपाङ वस्तीका १० घर मध्ये ७ घरपरिवारले बिजुली बाल्न सकेका छैनन् । वस्ती अगाडि नै विद्युत परियोजना भएर पनि आर्थिक अभावका कारण वर्षौदेखि अन्धकारमा बस्न बाध्य चेपाङ वस्तीमा बिजुली बाल्नका लागि कार्यपालिकाको बैठकले ६० हजार रुपैयाँ बजेट विनियोजना गरेको नगरपालिकाका प्रमुख गुमानसिङ अर्यालले बताए ।

कार्यपालिकाले विनियोजन गरेको उक्त ६० हजार रुपैयाँबाट मिटरबक्स, आवश्यक पर्ने तार र विद्युत प्राविधिकको व्यवस्था गरिने भएको छ । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भीमप्रसाद तिवारीले रकम मात्र दिएर पनि उनीहरुले बत्ति बाल्न समस्या भएकोले वडा कार्यालयसँग समन्वय गरी मिटरबक्स, आवश्यक पर्ने तार र विद्युत प्राविधिकको व्यवस्था गर्न लागिएको बताए ।

चेपाङ वस्तीको घरआँगन नजिकै जिल्लाकै पहिलो ७० मेगावाटको मध्यमस्र्याङ्दी जलविद्युत आयोजनाकोे जलाशय रहेको छ । एक दशक अघि नै आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान गरिसकिएको छ ।

जिल्लाका प्राय सबै गाउँहरु बिजुलीले झिलीमिली छन् तर जलविद्युत आयोजनाको छेउमै रहेको चेपाङवस्ती टुकीकै साहारामा रहँदै आएका छन् । बत्ती नहुदा गाउँ नै सञ्चार सेवाबाट बञ्चित छन् । सो वस्ती टिभी, रेडियाजीता सञ्चार उपकरणबाट समेत टाढा रहेको छ ।

बिजुली बाल्न मात्र होइन, कार्यपालिकाले चेपाङ वस्तीमा सामुदायिक भवन निर्माणका लागि ३ लाख रुपैया बजेट विनियोजन गरेको छ । ‘उनीहरुसँग रहेका कला संस्कृति, सामाजिक चालचालनबारे अध्यायन गर्न र सो विषयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सामुदायिक भवन आवश्यक भएकाले नगरपालिकाले सो बजेट छुट्टाएको नगर उपप्रमुख लक्ष्मी अधिकारीले बताइन् ।

नगरपालिकाले यसअघि दशैं खर्चस्वरुप चेपाङहरुलाई ६० हजार रुपैया सहयोग गरेको थियो । उनीहरुलाई दशैं मनाउन समस्या भएपछि नगरपालिका भित्रका १० घरलाई प्रतिपरिवार ६ हजारका दरले नगरपालिकाले सहयोग गरेको थियो । बेंसीसहर नगरपालिका–११, चिती बरबोट चेपाङटारमा १० र दोर्दी गाउँपालिका–९, भीरकुनामा ४ गरी लमजुङमा चेपाङ समुदायको १४ घर रहेको छ ।

(Visited 10 times, 1 visits today)
Loading comments...