शुक्रवार २८ मंसिर, २०७५ (Friday, 14th December 2018)
२८ मंसिर, २०७५ (14 December 2018)

प्रधानमन्त्री ओली आफैं अनुगमनमा

राजधानी समाचारदाता
4 weeks ago
19/11/2018

काठमाडौं  ।  प्रधानमन्त्री केपी शर्मा ओलीले पर्सि (बुधबार) देखि विभिन्न मन्त्री, सचिव र मन्त्रालयले गरेका कामबारे अनुगमन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले चालू आर्थिक वर्ष २०७५÷०७६ को प्रथम चौमासिकमा मन्त्री र सचिवहरूले गरेका कामबारे गहन अनुगमन गर्ने कार्यक्रम तय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

अधिकांश मन्त्री, सचिव र मन्त्रालयका कर्मचारीको कार्यसम्पादन प्रभावकारी र गतिशील हुन नसकेको भन्दै सर्वत्र गुनासो आइरहेको अवस्थामा प्रधानमन्त्री ओली आफैंले अनुगमन गर्न लागेका हुन् । ओली केही मन्त्रीको कार्यशैलीप्रति असन्तुष्ट रहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।
प्रधानमन्त्री ओलीले २१ वटै मन्त्रालयले सम्पन्न गरेका कार्य र तिनका भावी योजना र कार्यक्रमबारे अनुगमन गर्ने प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले जानकारी दिए ।

प्रधानमन्त्री कार्यालयले यसअघि नै सबै मन्त्रालयले गरेका कार्यको विवरण अनलाइनमार्फत हेर्न सक्ने गरी सफ्टवेयर विकास गरिसकेको छ । प्रधानमन्त्री कार्यालयमा सबै सचिवले चौमासिक तथा वर्षभरि गर्ने कार्यक्रम र योजनाको सबै विवरण दुई महिनाअघि नै बुझाएका थिए । प्रधानमन्त्री ओलीले सचिवहरूले बुझाएको कार्यक्रम र योजना कार्यान्वयनमा ल्याए नल्याएको र त्यसले जनतामा पारेको प्रभावबारेसमेत अनुगमन गर्ने कार्यालयका प्रवक्ता  कुँवरले बताए ।

स्रोतका अनुसार अधिकांश मन्त्रालयले प्रधानमन्त्री कार्यालयमा चौमासिक प्रगति विवरण बुझाइसकेका छन् । तर, सो प्रगति विवरण चित्तबुझ्दो नरहेको जनाइएको छ । मन्त्रालयले गरेका कामको अनुगमनका आधारमा प्रधानमन्त्रीले मन्त्री र सचिवको कार्यसम्पादन मूल्यांकनसमेत गर्ने प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।

(Visited 5 times, 1 visits today)