शुक्रवार १० फाल्गुण, २०७५ (Friday, 22nd February 2019)
१० फाल्गुण, २०७५ (22 February 2019)

सदरमुकाम ‘दुर्गन्धित’ बन्दै

राजधानी समाचारदाता
3 months ago
20/11/2018

 

जुम्ला ।  जुम्ला सदरमुकाम खलंगामा सार्वजनिक शौचालय नहुँदा बजार क्षेत्र दुर्गन्धित बन्दै गएको  छ । अहिले बजार क्षेत्रका विभिन्न स्थानमा राखिएका शौचालय पनि प्रयोगविहीन छन् । सदरमुकाम अहिले फोहोर र दुर्गन्धित बन्दै गए पनि सरोकारवाला निकायको ध्यान जान सकेको छैन ।

खलंगाका विभिन्न स्थानमा स्थानीयहरूले खुला शौच गरिरहेका छन् । दिनदहाडै खुला दिशा, पिसाब गरिरहेका देखिन्छन् । मानिसको बढी आवातजावात हुने बसपार्क, जुगाड खोला र कालेखोली फोहोर बन्दै गइरहेका छन् । बाटोको छेउछाउमै दिशा पिसाबले भरिँदा आवातजावात गर्न मुख छोपेर हिँड्नुपर्ने बाध्यता छ ।

होटल, व्यपार व्यवसायबाट निस्कने फोहोरको उचित व्यवस्थापन स्यवं व्यवसायीले नगर्दा यस्तो समस्या भएको हो । खलंगामा प्रतिदिन अनुमानित १ टन फोहोर उत्सर्जन हुन्छ । चन्दननाथ नगरपालिकाले पनि जन चाहनाअनुसार यहाँको फोहोर व्यवस्थापन गर्न नसकेको गुनासो बढ्न थालेको छ । स्थानीय प्रकाश कामी बजार क्षेत्र फोहोर बन्दै जाँदा यहाँको पहिचान नै गुम्ने खतरा भएको बताउँछन् । ‘रारा हुँदै जुम्ला आउने आन्तरिक तथा बाह्य पर्यटक जुम्लाको फोहोरको सामना गरिहेका छन्,’ उनले भने, ‘नगरपालिकाले ध्यान दिएको पाइँदैन ।’

घँुघुती हुँदै सदरमुकाम भएर बग्ने जुगाड खोला फोहोर विसर्जन गर्ने उपयुक्त गन्तव्य नै बनेको छ । यहाँका व्यक्तिहरूले लामो समयदेखि शौचालयको ढल नै जुगाड खोलामा मिसाएका छन् । केही वर्ष पहिले स्वच्छ र कञ्चन पानी बग्ने जुगाड खोलामा अहिले दिशैदिशा र फोहोर मिसिएको पानी बग्छ । पाँच वर्षदेखि जुगाड खोलानजिकै होटल व्यवसाय सञ्चालन गर्दै आएकी अन्जु धामीले जुगाड खोला फोहोर भएका कारण आफ्नो व्यवसायमा समेत नकारात्मक असर परेको बताइन् ।

 

(Visited 8 times, 1 visits today)
Loading comments...