आइतवार १ पौष, २०७५ (Sunday, 16th December 2018)
१ पौष, २०७५ (16 December 2018)

क्षतिपूर्तिमा सहमति नजुट्दा शव अस्पतालमै

राजधानी संवाददाता
4 weeks ago
20/11/2018

बर्दिया । क्षतिपूर्तिका सम्बन्धमा सहमति जुट्न नसक्दा बसको ठक्करबाट ज्यान गुमाएकी बालिकाको अन्तिम संस्कार अझै हुन सकेको छैन ।

उनको शव अस्पतालमा राखिएको छ । पूर्व–पश्चिम राजमार्गमा पर्ने बर्दियाको भुरिगाउँ खण्डमा गत सोमबार बिहान बसको ठक्करबाट ठाकुरबाबा नगरपालिका–६ बकुवाकी १४ वर्षीय बालिका निर्मला चौधरीको घटनास्थलमै मृत्यु भएको थियो ।

क्षतिपूर्तिका सम्बन्धमा सुदूरपश्चिम यातायात व्यवसायी समिति र पीडित पक्षबीच मंगलबार दिनभर छलफल भए पनि सहमति जुट्न सकेन ।

पीडित पक्षले २० लाख रुपैयाँ माग गर्दै आएको भए पनि छलफलका क्रममा सो रकम घटाएर १० लाख रुपैयाँ माग गर्दै आएको छ भने बस समितिले सो मात्राको रकम दिन नसक्ने जनाएपछि पहिलो चरणमा सहमति जुट्न नसकेको छलफलमा सहभागी सञ्चारकर्मी भावुक योगीले जानकारी दिए ।

छलफलमा पीडित पक्षका तर्फबाट ठाकुरबाबा नगरपालिका नगरप्रमुख घननारायण श्रेष्ठ, वडाध्यक्ष पदम खड्कासहितको टोली र बस समितिको तर्फबाट सुदूरपश्चिम यातायात समितिका उपाध्यक्षको टोली रहेको छ ।

पहिलो चरणको छलफलमा सहमति नजुटेपछि दोस्रो चरणको छलफल प्रमुख जिल्ला अधिकारीसहितको उपस्थितिमा भइरहेको बताइएको छ । पीडित पक्षले क्षतिपूर्तिबापत १० लाख रुपैयाँ पाउनुपर्ने अडान नछाडेको बताइएको छ ।

दुवै पक्षको आआफ्नै अडानका कारण सहमति जुटाउन गाह्रो भइरहेको छलफलमा सहभागी नगरप्रमुख घननारायण श्रेष्ठले बताए । दुवै पक्षले लचकता नअपनाउँदा मंगलबार दिनभरको छलफलमा कुनै टुंगो लागेन ।

घटना भएकै दिन अर्थात् सोमबार नै क्षतिपूर्तिका सम्बन्धमा छलफल गर्न यातायात समितिलाई बोलाइए पनि सो दिन समितिका तर्फबाट कोही पनि आएको थिएन । छलफलका लागि यातायात समिति मंगलबार बिहान घटनास्थल आएको थियो ।

समितिले बेवास्ता गरेको भन्दै पीडित र स्थानीयवासीले सोमबार दिनभर पूर्व–पश्चिम राजमार्गको भुरिगाउँ खण्ड अवरुद्ध गरेका थिए ।

छलफलका लागि मंगलबार बिहान पनि समितिका पदाधिकारी समयमै नआउँदा स्थानीयले ६ बजेदेखि ११ बजेसम्म राजमार्ग ठप्प पारेका थिए । समितिका पदाधिकारी आएपछि बल्ल स्थानीयवासी राजमार्ग खुला गरी छलफलमा बसेका थिए ।

माग सम्बोधन नहुन्जेल बालिकाको अन्त्येष्टि नगर्ने परिवारले बताएको छ । मंलगबार अबेरसम्म सहमति नजुटे बुधबारदेखि पूर्व–पश्चिम राजमार्गमा सुदूरपश्चिम यातायात समितिबाट सञ्चालित कुनै पनि सवारीसाधन चल्न नदिने पीडित पक्षले जनाएको छ ।

कालिकोटबाट कैलालीको टिकापुरतर्फ गइरहेको ना४ख ५३७५ को बसले सोमबार बिहान ठक्कर दिँदा ठाकुरबाबा नगरपालिका–६ बकुवाकी १४ वर्षीया बालिका निर्मला चौधरीको घटनास्थलमै ज्यान गएको थियो ।

(Visited 3 times, 1 visits today)