शुक्रवार २८ मंसिर, २०७५ (Friday, 14th December 2018)
२८ मंसिर, २०७५ (14 December 2018)

युक्रेनमा सैनिक कानुन लागू, रुस समर्थक विद्रोही दबाउने रणनीति

एजेन्सी
2 weeks ago
27/11/2018

किभ । युक्रेनको संसदले आफ्ना तीन वटा जहाज र २३ नौसैनिक रुसले कब्जा गरेपछि देशको एक क्षेत्रमा सैनिक कानुन (मार्शल ल) लगाउन स्वीकृति दिएको छ । संसदमा छलफलपछि रुस सँगको सीमा क्षेत्र तथा रुससमर्थित विद्रोहीको पकड रहेको क्षेत्रमा सैनिक कानुन लगाउने भएको हो ।

नौसैनिक जहाज र नौसैनिक रुसले कब्जा गरेपछि राष्ट्रपति पेट्रो पोरोसेन्कोले देशमा सैनिक कानुन लगाउने प्रस्ताव संसदमा गरेका थिए ।

संसदले देशको एक क्षेत्रमा सैनिक कानुन लगाउन स्वीकृति दिएपछि अब ३० दिनसम्म रुसले आक्रमण गर्ने आशंका गरिएको क्षेत्रमा सैनिक कानुन लागू हुने राष्ट्रपति पोरोसेन्कोले बताएका छन् ।

यसक्रममा प्रशासनले विरोध प्रदर्शन र हड्ताल गर्न प्रतिबन्ध लगाउन सक्ने छ भने आम जनतालाई पनि सैन्य सेवाका लागि बोलाउन सक्नेछ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भने युक्रेनको पछिल्लो कदमप्रति चिन्ता व्यक्त गरेका छन् ।

युक्रेनले देशको पूर्वी क्षेत्रमा रुस समर्थित विद्रोहीको गतिविधि रहेको क्षेत्रमा सैनिक कानुन लगाएपछि सो क्षेत्रमा थप रक्तपात मच्चिनसक्ने खतरा उत्पन्न भएको छ ।
रुसी तटरक्षकले आइतबार युक्रेनका तीनवटा नौसैनिक जहाजलाई क्राइमिया क्षेत्र नजिकबाट कब्जा गरेपछि पछिल्लो तनाव सतहमा आएको हो ।

सन् २०१४ मा जनमत संग्रह गर्र्दै क्राइमिया रुसमा बिलय भएपछि समुद्री क्षेत्र पनि रुसको नियन्त्रणमा आएको थियो । रुसले अवैध रुपमा आफ्नो क्षेत्रमा नौसैनिक जहाज आएपछि कब्जा गर्नुपरेको जनाएको छ ।

युक्रेनी जहाज आफ्नो क्षेत्रमा प्रवेश गरेपछि रुसले कर्च स्ट्रेट नामको महत्वपूर्ण समुद्री मार्गमा ट्यांकर राखेर जलमार्ग रोकिदिएको छ । आइतबार युक्रेनी नौसैनिकका दुई वटा बन्दुकले लैस जहाज अजोब सागरस्थित बन्दरगाह शहर मेरिपोल पुग्ने कोशिस गरिरहेका बेला रुसले कब्जा गरेको हो ।

सन् २००३ मा रुस र युक्रेनबीच भएको एक सन्धीअनुसार कर्चको समुद्री मार्ग र अजोब सागरबीचको जल सीमान बाडिएको थियो । तर, हालै रुसले युक्रेनको बन्दरगाह सहरमा आउने जहाजमाथि चेकजाँच गर्न सुरु गरेको छ ।

युक्रेनले जल सीमाको उल्लंघन गरेपछि रुस निर्मित पुलमुनी एक ट्यांकर राखेर अजोव सागर जाने बाटो बन्द गरिदिएको छ । अजोब सागर जमिनले घेरिएको छ र काला सागरको कर्चको बाटो हुँदै यहाँ प्रवेश गर्न सकिन्छ ।

यसका साथै रुसले पनि यस क्षेत्रमा दुई फाइटर जेट र दुई हेलिकप्टर पनि तैनाथ गरेको छ । युक्रेनियन नेभीले सो क्षेत्र छाडेर बाहिर निस्किरहेका बेला हमला गरेर निश्किृय पारेको बताएका छन् । युक्रेनले यो आक्रमणमा २३ युक्रेनी सर्वसाधारण र ६ जना जहाजका चालक दलका सदस्य घाइते भएको बताएको छ ।

पछिल्ला केही वर्षदेखि रुस र युक्रेनबीचको तनाव गहिरिदै गएको छ । युक्रेनको सुरक्षाफौज पुर्वी युक्रेनमा रुस समर्थक पृथकतावादीसँग संघर्ष गरिरहेको छ । युक्रेनमा सैनिक कानुन लगाएपछि सेनालाई युद्धका लागि तयार रहन आदेश दिइएको छ । तर राष्ट्रपति पोरोसेन्कोले यो कदमको अर्थ युद्धको घोषणा नभएको दाबी गरेका छन् ।

सन् २०१४ मा क्राइमिया रुसमा बिलय भएपछि युक्रेनले रुसको चर्को विरोध गरेको थियो । सोही क्रममा रुसले कर्च ब्रिजको निर्माण गराएको थियो । यसले यो प्रायद्विपलाई दक्षिणी रुससँग जोड्छ ।

युक्रेनले आइतबारको घटनाअघि नै रुसलाई आफ्ना जहाज मेरिपोलहुँदै लैजादै गरेको अग्रिम सूचना दिएको दाबी गर्दै रुसको कदमलाई आक्रामकताको नमुना भएको आरोप लगाएको छ । रुसले भने युक्रेनले जानीजानी उक्साउने खालका कदम चालेको बताएको छ ।

रुसका अनुसार आगामी वर्षको मार्चमा हुन लागेको राष्ट्रपतीय निर्वाचनलाई ध्यानमा राखेर यो कदम उठाइएको हो । सैनिक कानुन लगाएपछि यसले सरकारले सार्वजनिक विरोध रोक्ने, मिडियामाथि नियमन, चुनाव बहिस्कार गर्ने र आम नागरिकलाई सामाजिक रुपमा अत्यावश्यक काम, जस्तो सैनिक प्रतिष्ठानमा काम गर्नका लागि बाध्य बनाउन सक्नेछ ।

रुसको पछिल्लो कदमको विरोधमा सोमबार युक्रेनस्थित रुसी दूतावासबाहिर प्रदर्शन गर्नुका साथै दूतावासको एउटा गाडीमा आगो लगाएका थिए ।

सन् २०१४ मा क्राइमिया रुसमा बिलय भएपछि रुस र युक्रेनबीच तनाव जारी छ । यसपछि युक्रेनको पूर्वी क्षेत्रमा रुस समर्थित पृथकतावादी र युक्रेनियन सेनाबीच संघर्ष चलिरहेको छ । यो संघर्षका क्रममा सेनाको दमनबाट करिब १० हजारको मृत्यु भइसकेको छ ।

युक्रेनले रुसमाथि आफ्नो पूर्वी क्षेत्रमा सेना पठाएर पृथकतावादी तयार गरेको आरोप लगाउँदै आएको छ । रुसले भने यो आरोपको खण्डन गर्दै आएको छ । तर रुसी स्वयमसेवकले सो क्षेत्रमा सहयोग गरेको रुसले बताउँदै आएको छ । युक्रेनले गत मार्चमा क्राइमियाको एक माछा मार्ने जहाज कब्जा गरेको थियो । त्यसपछि रुसले कर्च भएर जाने युक्रेनी जहाजमाथि जाँच गर्न थालेको हो ।

रुसका अनुसार युक्रेनी जहाजमाथिको जाँच सुरक्षाका कारण आवश्यक छ । रुसले युक्रेनबाट कर्च ब्रिजमाथि खतरा हुनसक्ने संकेत गर्दै आएको छ । युक्रेनी राष्ट्रपति पोरोसेन्कोले यो प्रतिबन्धका कारण आफ्नो देशको अर्थव्यवस्थामा नकारात्मक असर परेको बताउँदै आएका छन् ।

गत सेप्टेम्बरमा वासिंगटन पोस्टसँग पोरोसेन्कोले मेरिपोलबाट निर्यात हुने फलाम र इस्पात कुल उत्पादनको २५ प्रतिशत रहेको बताएका थिए । युक्रेनको उत्तरी तटमा रहेका बर्डयेक्स र मेरिपोल बन्दरगाह अन्नको निर्यात र कोइला आयातका लागि जरुरी छन् ।

(Visited 5,330 times, 1 visits today)