मंगलवार १२ चैत्र, २०७५ (Tuesday, 26th March 2019)
१२ चैत्र, २०७५ (26 March 2019)

 ‘बेटी पढाऊ, बेटी बचाऊ’ महाअभियानमा रेखा थापा

रमेश तिमलसिना
4 months ago
29/11/2018

रौतहट । अभिनेत्री रेखा थापा प्रदेश २ का लागि ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानको अभियन्ताका रूपमा अनुबन्धित भएकी छन् । प्रदेश २ को सरकारले उनलाई यो अभियानको अभियन्ताका रूपमा अनुबन्धित गरेको हो । यसरी अभिनेत्री थापालाई चयन गरेपछि उनले यो अभियान रौतहटबाट सुरु गरेकी छन् ।

छोरीका निम्ति स्वर्णिम नेपाल महाअभियानअन्तर्गत बुधबार रौतहटको परोहा नगरपालिकामा रौतहट संकल्प सम्मेलन गरिएको छ । कार्यक्रममा अभिनेत्री रेखा थापाले आफूले यो ठूलो जिम्मेवारी पाएकोमा हर्षित भएको बताइन् । छोरीले अन्याय पाइरहेको अवस्थामा प्रदेश सरकारले दिएको जिम्मेवारीलाई अझ गहनताका साथ सफल गराएर छाड्ने कलाकार थापाले प्रतिबद्धता गरिन् ।

प्रदेश २ मा अशिक्षा, अन्धविश्वास, दाइजो प्रथा, बोक्सीजस्ता हिंसात्मक घटना व्याप्त रहेको अवस्थामा यस्ता घटनालाई न्यूनीकरण गर्ने नै मुख्य लक्ष्य हुने थापाले बताइन् ।

सम्मेलनमा बोल्दै पूर्वमन्त्री तथा संसद् अफताब आलमले छोरीलाई शिक्षा अनिवार्य भएको बताएका छन् । अभिनेत्री रेखा थापाको साथ र सहयोगले यो अभियानमा ठूलो सहयोग पुग्ने विश्वास उनले कार्यक्रममा व्यक्त गरे ।

सो संकल्प सम्मेलनमा रौतहट क्षेत्र नं. ४ का सांसद देवप्रसाद तिमलसिना, परोहा नगरपालिकाका नगरप्रमुख शेख वकिलले अभिनेत्री थापासँगै यो अभियान सार्थक तुल्याउन आफूहरूको पनि साथ रहेको प्रतिबद्धता जनाए ।

प्रदेश २ का आठ जिल्ला सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा यही १५ मंसिरदेखि १५ पुससम्म अभियान सञ्चालन हुनेछ । प्रदेशका सबै जिल्लामा छोरीलाई पढाउन र दाइजो प्रथा हटाउन जनचेतनामूलक ‘सडक नाटक’ प्रदर्शन गर्ने र अन्तक्र्रिया कार्यक्रम गरिनेछ । विभिन्न स्थानमा पुगेर कार्यक्रममा सहभागी हुँदै अभिनेत्री थापाले छोरीलाई स्कुल पठाउन र पढाउनका लागि सबैलाई पहल गर्नेछिन् ।

 

(Visited 80 times, 1 visits today)
Loading comments...