शुक्रवार २८ मंसिर, २०७५ (Friday, 14th December 2018)
२८ मंसिर, २०७५ (14 December 2018)

बर्निङ मिररको इतिहास

एजेन्सी
2 weeks ago
01/12/2018

आजभन्दा २ हजार २ सय वर्ष अगाडि सिराकस भनिने देशमा आर्किमिडजले सौर्य शक्ति प्रयोगमा ल्याए । उनी प्रसिद्ध गणितिज्ञ तथा ज्योतिषशास्त्री थिए । उनले प्रयोगमा ल्याएको सौर्य शक्ति आजको जस्तो जीविकाका लागि इन्धनका रूपमा प्रयोग गर्न ल्याइएको थिएन । बरु त्यो युद्धमा अस्त्रका रूपमा प्रयोग गर्न ल्याइएको थियो ।

यसको लामो युद्धकालीन इतिहास छ । त्यति बेला सिराकस र रोमन (हालको इटली) दुईदेशबीचमा ठूलो दुश्मनी थियो । रोमन एक बलियो साम्राज्य थियो । त्यसले सिराकसको राजधानी सिसिलीमाथि बारम्बार अक्रमण गर्ने गर्दथ्यो । पटकपटकको आक्रमण र त्यसको निरन्तर प्रतिरोधको लामो शृंखलापछि सिराकसमा पनि हातहतियार तथा नयाँ प्रविधिको निरन्तर खोजी र विकास हुँदै गयो । सिराकसमा वैज्ञानिक आर्किमिडिजले खोज र अनुसन्धानको नेतृत्व गरे । उनी शासक हियरो द्वितीयका विश्वासपात्र थिए ।

यसै बखतमा रोमन साम्राज्यको आक्रमणको प्रतिरोधका क्रममा नयाँनयाँ हतियारको आविष्कार भयो । यसै क्रममा गुर्ता, घिर्नी तथा उत्तोलकहरू विकसित भए । यी हतियारले नजिकै जमिनदेखि जमिनसम्म मात्र मार हान्न सक्थे । तर, रोमनहरूले टाढासम्म मार हान्न सक्ने हतियार प्रयोगमा ल्याइसकेका थिए । यसै क्रममा इसापूर्व २१४ देखि २१२ को लडाइँका वर्षहरूमा आर्किमिडिजले काँशको भीमकाय कचौरा आकारको गहिरो ऐना निर्माण गरे । यसले सूर्यको प्रकाश एकत्रित गरी आगो बाल्थ्यो । यसैको प्रयोग गरेर सिराकसले रोमन युद्धक पानी जहाजहरूमाथि प्रकाश एकत्रित गरी आगो लगाएर सैनिक तथा जहाजहरू ध्वस्त पारिदिने गथ्र्याे । आर्किमिडिजले काँशका यति धेरै ऐनाहरू एकैपटक प्रयोग गर्दथे कि त्यहाँ सूर्यको किरण परावर्तन भई एकै ठाउँ केन्द्रित हुँदा तुरुन्त आगो लागिहाल्थ्यो ।

यी कांशका कचौराहरू पछि गएर विभिन्न आकार, प्रकार र स्वरूपमा विकास गरिए । यिनले डेढदेखि दुई किलोमिटरसम्मको दूरीभित्रका जहाजलाई आगो लगाई ध्वस्त पारिदिन्थे । प्रकाश परावर्तन गर्ने यी ऐनाहरूलाई त्यतिबेला चमत्कारी हतियारका रूपमा लिइन्थ्यो ।

(Visited 114 times, 1 visits today)