शुक्रवार १० फाल्गुण, २०७५ (Friday, 22nd February 2019)
१० फाल्गुण, २०७५ (22 February 2019)

पहिलो लाभग्राही भन्छन्, घरले खोसेको खुसी घरैले फर्कायो

ध्रुव लम्साल
3 months ago
04/12/2018

दोलखा।  ७८ वर्षको उमेरमा जगतबहादुर खत्रीको जीवनले दोस्रो लय समातेको छ । दोलखाको दोस्रो सदरमुकाम मानिने सिंगटी बजारमा सानो किराना पसल छ, उनको ।  २०७२ सालको विनाशकारी भूकम्पले उनको घर भत्काएपछि साथ दिने श्रीमती मात्रै छिन् । ‘तीन भाइ छोरा, दुई छोरी थिए सबै मरेर सकिए अहिले हामी बूढाबूढी मात्रै छौं,’ सिंगटीपुलछेउमै चिटिक्क परेको आफ्नै घरमा भेटिएका जगतबहादुरले भने ।
पाँच सन्तान कसरी बिते ? ‘भो नगरम ती कुरा ईश्वरले जे मन लाग्यो त्यही गरे,’ सन्तान मृत्युको पीडाबारे उनी बोल्न चाहदैन ।
सिँगटी बजारभन्दा केही माथि साबिकको लादुक गाउँमा जन्मेका जगतबहादुर लादुकमै जन्मे, हुर्के । बिहे भयो छोराछोरी जन्मिए । बुढेसकालमा सहारा देलान् भन्ने छोराछोरी आँखैअघि भकाभक मरेपछि उनलाई लाग्यो ‘आखिर यो सब दुःख केका लागि ?’
उठेदेखि साँझसम्मको काम उही दुई छाकका लागि । आफ्नै जीवनदेखि दिक्क लाग्यो उनलाई । श्रीमतीसँग सल्लाह गरे, ‘कति यो पखेरो खुर्केर बस्ने, हिँड बरु बजार गएर व्यापार गरम ।’ पाँच सन्तान गुमाउनुको पीडा भोगेकी एउटी आमाले श्रीमान्को सल्लाह नमान्ने कुरै थिएन ।

धान, मकै, बाख्रा, पाठा र कुखुरा बेचबिखन गरेर जम्मा गरेको केही पैसा पोको पारे । २०५१ सालमा सिँगटी बजार झरे । सिँगटी सानो भए पनि बजारको केन्द्र मानिन्थ्यो । गौरीशंकर, बिगु र कालिञ्चोक गाउँपालिकाका बासिन्दाको बजार भर्ने ठाउँ । एउटा कोठा भाडामा लिएर पसल सञ्चालन गरे । सानो कोठा भाडामा लिएर व्यापार सुरु गरे ।
व्यापार राम्रै भयो । खाएर केही पैसा बचाउथे पनि । व्यापार सुरु गरेको ६ वर्षपछि ७५ हजारमा घडेरी किने । ढुंगामाटो जोडेर घर बनाए । जगतबहादुर भन्छन्, ‘घर बनाएपछि भाडा तिर्न परेन पैसा बच्न थाल्यो ।’
प्रत्येक महिना पसलले कमाएको पैसा बैंकमा जम्मा गर्थे । ‘जे भोग्नु थियो भोगियो, बाँकी जीवन रमाइलैसँग बित्ने भो’ श्रीमान्–श्रीमतीबीच कुरा हुन्थ्यो । यस्तैमा जिन्दगी चल्दै थियो ।

उनको खुसी फेरि खोसियो । २९ वैशाख २०७२ मा आएको विनाशकारी भूकम्पले जिन्दगी फेरि उजाड बनाइदियो । १२ वैशाखमा आएको विनाशकारी भूकम्पले गोरखाको बारपाक ध्वस्त भएको खबर रेडियोमा सुनेर थाहा पाएका जगतबहादुरले त्यही प्रलय आफ्नो ठाउँमा पनि दोहोरिएला भनेर सोचेकै थिएनन् ।
‘भूकम्पमा यतिको मृत्यु भन्ने खबर सुनेर नरमाइलो मानिरहेका जगतबहादुर २९ वैशाखको भूकम्पपछि पूर्ण रूपमा विस्थापित भए । घर पुरै भत्कियो । भएका सामान सबै पुरियो । नजिकैको खुला चौरमा बास स¥योे ।
चौरमा बसेको रात मनमा विभिन्न कुरा खेल्यो । हिसाबकिताब सम्झे । घरनजिकै भएको निजी बैंकमा ५ लाख जम्मा गरेका थिए । उनले सोचे ‘जे भयोभयो, अब त्यही ५ लाखले घर बनाउँछु ।’ बिहान उठेपछि थाहा पाए भूकम्पले बैंक पनि ध्वस्त भएछ । उनलाई लाग्यो, ‘पैसा कमाएर बैंकमा राखेर पनि काम रहेनछ, आखिर सर्वसाधारणको पैसाको सुरक्षा गर्ने बैंक पनि त प्राकृतिक विपत्तिमा भाग्नैपर्ने रहेछ ।’

भूकम्प केही मथ्थर हुँदै गयो । सरकारले भूकम्पपीडितका लागि आवास निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन ग¥यो । त्यतिबेलासम्म गाउँबाट उठेको बैंक फेरि गाउँमै फर्कियो । जगतबहादुरले बैंकमा गएर बुझे ।
बैंकका कर्मचारीले भने, ‘बा तपाईंको पैसा सुरक्षित छ, मनलागेका बेला झिक्न पाउनुहुन्छ ।’ जगतबहादुरको मन फेरि एकपटक खुसी भयो । सरकारले ३ लाख अनुदान दिने कुरा गाउँभरि फैलिसकेको थियो । प्राधिकरणका कर्मचारी ३ लाख अनुदानका लागि सम्झौता गर्न गाउँमा आइपुगे । अनुदान सम्झौतामा हस्ताक्षर गर्न गाउँले भेला भए ।
जम्मा भएका मध्येको उमेरको हिसाब गर्दा सबैभन्दा जेठा उनै भेटिए र प्राधिकरणसँग अनुदान सम्झौता गर्ने नेपालकै पहिलो नागरिक बने । उनलाई लाग्छ, ‘त्यो दिन सरकारले वृद्धलाई सम्मान ग¥यो ।’
प्राधिकरणसँग अनुदान सम्झौता गरेपछि उनको जीवनमा खुसी फेरि फर्कियो । प्राविधिकको सल्लाहअनुसार गाउँकै रामकुमार खड्कालाई घर बनाउने ठेक्का दिए । खड्काले १५ लाखमा आरसीसी गरेर चिटिक्क परेको दुई तलाको बलियो घर बनाइदिए ।

अहिले आफ्नै घरमा पुरानै शैलीको पसल सञ्चालन गरेका जगतबहादुरले भने, ‘मेरो पालालाई चिन्ता छैन बलियो घर बनाएको छु, बाँचुञ्जेल ढुक्कले बस्छु ।’ सोही गाउँका वडाध्यक्ष बुक्तम तामाङले भूकम्पले क्षतविक्षत भएको आफ्नो वडामा १ हजार २९९ लाभग्राहीमध्ये १ हजार १५० ले पहिलो किस्ता लिएको जानकारी दिए ।
तीमध्ये ९२० जनाले दोस्रो किस्ता लिएका छन् भने तेस्रो किस्ता बुझ्नेको संख्या ७२० छ । सोही क्षेत्रका इन्जिनियर सुमनकुमार प्रभाकरले जनप्रतिनिधिको सहयोग र स्थानीयको सक्रियतामा पुनर्निर्माण द्रुतगतिमा भएको बताए । ‘लभभग सबै जना तेस्रो किस्ता लिने अवस्थामा हुनुहुन्छ, पुनर्निर्माण सन्तोषजनक छ,’ उनले भने ।

(Visited 249 times, 1 visits today)
Loading comments...