शुक्रवार २८ मंसिर, २०७५ (Friday, 14th December 2018)
२८ मंसिर, २०७५ (14 December 2018)

निर्वाचन विवाद निरुपणका लागि कार्यशाला

राजधानी संवाददाता
1 week ago
05/12/2018

राजविराज । निर्वाचनका बेला हुने विवाद निरुपण तथा विवाद समाधानका क्रममा अपनाउनुपर्ने विधिमा एकरुपता ल्याउने उद्देश्यले निर्वाचन आयोगद्वारा जिल्लामा बहस र सुझाव संकलन कार्य सञ्चालन गरिएको छ ।

बुधबारदेखि आयोगले सदरमुकाम राजविराजमा सुरक्षा निकायका प्रमुख, निर्वाचनका बेला खटिएका अधिकारी, निर्वाचन पर्यवेक्षक, राजनीतिक दलका प्रतिनिधि, अधिकारकर्मी, सञ्चारकर्मीलगायतका सरोकारवालाहरुलाई सहभागी गराई दुई दिने “निर्वाचन विवाद निरुपण कार्यविधि तर्जुमा परामर्श कार्यशाला” मा बहस र सुझाव संकलन कार्य चलाएको हो ।

सो कार्यक्रमका प्रमुख अतिथि प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचनका बेला उत्पन्न हुने द्वन्द्व र विवाद न्युनीकरण गर्नुका साथै विवाद सामाधानका क्रममा निर्वाचन अधिकारीहरुद्वारा अपनाइने विधि र तौरतरिकामा एकरुपता ल्याउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए । सो कार्यक्रममा उपस्थित सहभागीहरुबाट उचित सुझाव र सल्लाह प्राप्त हुने विश्वास छ, उनले भने ।

अब हुने निर्वाचनलाई कसरी थप स्वच्छ, मर्यादित र विवादरहित बनाउन सकिन्छ भन्ने उद्देश्यले आयोजना गरिएको दुई दिने कार्यशालाबाट महत्वपूर्ण सुझाव प्राप्त हुने अपेक्षा राखेको जिकिर गर्दै उनले निर्वाचन कानून बनाउन र परिमार्जन गर्नसमेत कार्यशालाबाट ठुलो मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

अनावश्यक खर्च खटाउन मतदान केन्द्रहरुमै मतगणना र ज्येष्ठ नागरिक तथा शारीरिकरुपमा अशक्तहरुका लागि अनलाईन भोटिङको व्यवस्थाका लागि समेत आयोगले योजना बनाइरहेको उनले जानकारी दिए ।

आगामी दिनमा हुने निर्वाचनलाई स्वच्छ, मर्यादित र विवादरहित बनाउन अहिलेदेखि नै तयारी र अभ्यासको रुपमा ठाउँठाउँमा पुगी कार्यशालामार्फत आयोगले सुझाव र सल्लाह संकलन लागेको उनले बताए ।

(Visited 15 times, 1 visits today)