सोमवार ६ फाल्गुण, २०७५ (Monday, 18th February 2019)
६ फाल्गुण, २०७५ (18 February 2019)

उखु क्रसिङबारे अन्योल

रासस
2 months ago
06/12/2018

 

बर्दिबास । उखु उत्पादक किसान र चिनी उत्पादक उद्योगीबीच उखुको मूल्य र उखु क्रसिङबारे सहमति हुन नसक्दा महोत्तरीसहित तराई क्षेत्रमा अन्योल बढेको छ ।

मंगलबार अबेर रातिसम्म महोत्तरीको बर्दिबासमा बसेको उखु उत्पादक संघ र उखु उत्पादक कृषक संघमा आबद्ध किसान प्रतिनिधि र चिनी उत्पादक नेपाल चिनी उत्पादक महासंघका प्रतिनिधिबीचको वार्ताबिना निष्कर्ष टुंगिएपछि दुवै पक्षबीच अन्योल बढेको हो ।

‘वार्तामा हामीले उखुको मूल्य निर्धारण गरेर उखु क्रसिङ मंसिरभित्रै सुरु गर्न आग्रह ग¥यौं’ प्रदेश २ को सर्लाहीबाट प्रदेशसभा सदस्यसमेत रहेका उखु उत्पादक किसान डिल्लीप्रसाद उप्रेतीले भने, ‘तर उद्योगी उखुको मूल्य निर्धारण गर्ने कुरामा निकै तल झर्न खोज्नुभयो, त्यसैले सहमति हुन सकेन ।’ गत वर्ष किसानले ५३६ प्रतिक्विन्टल पाउने सहमति भए पनि पहिलो किस्तापछि उद्योगले ४६५ प्रतिक्विन्टल मात्र दिएको बताउने किसान प्रतिनिधिले यसपालि उद्योगीले कृषि मन्त्रालयले सिफारिस गरेको ५२८ प्रतिक्विन्टल पनि दिन नसक्ने बताएपछि सहमति हुन नसकेको बताएका छन् ।

‘प्रत्येक वर्ष हामी किसानलाई फसल उब्जाएर किमत (मूल्य) लिने बेलामा यस्तै झन्झटमा फसाइन्छ,’ उखु उत्पादक संघ रामनगर महोत्तरीका सदस्य दिनेश यादवले भने, ‘अब हामीले परिवारको गुजारा कसरी चलाउने ?’ महोत्तरीको गौशाला नगरपालिकाको रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिज (बोलीचालीमा एभरेस्ट चिनी उद्योग, एभरेस्ट चिनी मिलमा गत वर्ष ४२ लाख ७० हजार क्विन्टल उखु क्रसिङ भएको थियो । यसपालि उखु खेती बढेर ५० लाख क्विन्टल नाघ्ने देखिएका बेला बढेको अन्योलले उखु खेतबारीमै सुक्ने स्थिति बनेको अर्का किसान प्रतिनिधि उखु उत्पादक संघ रामनगर महोत्तरीका अध्यक्ष श्याम शङ्कर बताउँछन् ।

यता नेपाल चिनी उत्पादक महासंघका प्रतिनिधि (चिनी उद्योगका प्रतिनिधि) भने आफूहरूको उत्पादन (चिनी) नबिकेर गोदाममा थन्किएको बताउँदै किसानलाई उखुको भुक्तानी दिन नसक्ने भएकाले उद्योग सञ्चालन गर्ने अवस्था नबनेको बताउँछन् । ‘हाम्रो उत्पादन गोदाममा थन्किएको छ,’ एभरेस्ट चिनी उद्योगका कार्यकारी सञ्चालक सुरेशकुमार सर्राफले भने, ‘चिनीको आयात खुला भएकाले हाम्रो उत्पादन बिक्री भएको छैन, अब त उद्योग नै धराशायी हुने भयो ।’

यसैगरी, वार्ताका सहभागी सर्लाही, हरिऔनस्थित इन्दुशंकर चिनी उद्योगका कार्यकारी निर्देशक राजेश केडियाले पनि अब उद्योगीको मर्का नहेरिए उद्योग सञ्चालनको स्थिति नरहने बताए । सरकारले विज्ञसहितको टोली गठन गरेर उखुको मूल्य निर्धारण गर्दै चिनीको आयात रोके मात्र उद्योग सञ्चालन हुन सक्ने उद्योगीहरूले एकमुखले बताएका छन् ।

वार्तामा पूर्वदेखि पश्चिम तराईका १४ चिनी उद्योगका सञ्चालक र प्रशासक, उखु उत्पादक किसानका प्रतिनिधिमूलक संस्थाका प्रतिनिधि र अगुवा किसानको सहभागिता थियो । वार्ता निष्कर्षविहीन भए पनि दुवै पक्षले यसमा सरकारले दिने वैज्ञानिक ठम्याइसहितको समाधान भने आफूहरूलाई स्वीकार्य हुने बताएका छन् ।

 

(Visited 16 times, 1 visits today)
Loading comments...