शुक्रवार २८ मंसिर, २०७५ (Friday, 14th December 2018)
२८ मंसिर, २०७५ (14 December 2018)

च्यासलको दोस्रो जित

राजधानी समाचारदाता
1 week ago
06/12/2018

काठमाडौं । भ्याली च्यासल युथ क्लबले राजधानीमा जारी पल्सर शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा दोस्रो जित निकालेको छ ।प्रतिस्पर्धात्मक खेलमा च्यासलले हिमालयन शेर्पा क्लबलाई २–१ ले पराजित गर्दै लिगमा दोस्रो जित निकाल्न सफल भएको हो । च्यासलले यसअघि लिगको तेस्रो चरणको खेलमा न्युरोड टिम (एनआरटी) माथि ५–१ को प्रभावशाली जित निकालेको थियो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बुधबार भएको प्रतिस्पर्धात्मक खेलमा च्यासलले १ गोलले पछि परेको स्थिति उल्ट्याएर जित निकालेको हो । च्यासलका लागि सन्तोष साहुखलले गोल गर्दा १ गोल उपहार पाएको थियो । हिमालयन शेर्पाका त्रिदेव गुरुङले गोल गरेका थिए ।

१५औं मिनेटमा च्यासलका खेलाडीले अफसाइड भनेर छोडेको बलमा कर्ण लिम्बुले वान भर्सेस वानमा प्रहार गरेको बल बारमा लाग्दै फर्किएपछि त्रिदेव गुरुङले गोल गर्दै शेर्पालाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसअघि खेलको पहिलो मिनेटमै सन्तोष साहुखलको पेनाल्टी क्षेत्रभित्रको प्रहारलाई शेर्पाका गोलरक्षकले बचाएका थिए । १३औं मिनेटमा सन्तोष साहुखलकै पासमा अनमार्क रहेका सन्तबहादुर गुरुङको प्रहार अकासिदा च्यासलले अग्रता लिने मौका खेर फाल्यो । ३०औं मिनेटमा हेमन्त थापा मगरको करिब ३० यार्ड टाढाको प्रहार बारमा लागेर बाहिरिँदा च्यासलले बराबरीको मौका गुमायो । ४०औं मिनेटमा आमिर श्रेष्ठको पासमा सन्तोषको हेडर गोलरक्षकले बचाउँदा च्यासल पहिलो हाफमा १–० ले पछि परेको थियो ।

दोस्रो हाफमा च्यासलले खेललाई आफ्नो नियन्त्रणमा लिँदै गोल गर्न सफल भयो । ५०औं मिनेटमा रवि थापाको पासमा कर्णको हेडर बाहिरिँदा शेर्पाले अग्रता दोब्बर पार्ने मौका खेर फाल्यो । लगत्तै ५१औं मिनेटमा आमिर श्रेष्ठको शक्तिशाली प्रहार पोस्टबाट थोरै बाहिरियो । बारम्बार मौका खेर फालिरहेको च्यासलले ५६औं मिनेटमा बराबरी गोल गर्न सफल भयो । सन्तोष साहुखलले दुई डिफेन्डरलाई बिट गर्दै गोलरक्षकलाई छक्याउँदै सुन्दर गोल गरेका थिए । ७३औं मिनेटमा च्यासलले खेलमा अग्रता बनायो ।

सन्तोषकै प्रहार डिफेन्डर निरज बस्नेतलाई लाग्दै फर्किएको बलमा वैकल्पिक खेलाडी सुनिल खड्काले प्रहार गरेको बल फेरि निरजलाई लाग्दै गोलमा परिणत हुँदा शेर्पाका गोलरक्षक किशोर गिरी मूकदर्शक बनेका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा च्यासल २–१ ले विजयी हुन सफल भयो । च्यासलका सन्तोष साहुखल खेलको म्यान अफ दी म्याच घोषित भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए ।

जितपछि च्यासल ७ अंक जोडेर लिगको सातौं स्थानमा उक्लिएको छ । च्यासलले ६ खेलमा २ जित १ बराबरी र ३ हार बेहोरेको छ । पराजित शेर्पा समान ६ खेलबाटै १० अंक जोडेर छैटौं स्थानमा छ ।

जितपछि च्यासलका प्रशिक्षक राजुकाजी शाक्यले टिमले सुधारिएको खेल पस्कँदा खेलमा पछि परेर पनि जित हात पार्न सकिएको बताए । ‘हामीले यसअघि लिगको उपाधि जित्ने लक्ष्य बनाएका थियौं तर राम्रा विदेशी खेलाडी टिममा ल्याउन समस्या हुँदा राम्रो सुरुवात हुन सकेन । अब हामीले टप सिक्समा रहने योजना बनाएका छौं । शेर्पासँग हार बेहोरेको भए हामीलाई आफ्नो लक्ष्य भेट्टाउन अझै गाह्रो हुने थियो,’ खेलपछि प्रशिक्षक राजुकाजी शाक्यले भने, ‘यो जितले हामीले लिएको लक्ष्य भेट्टाउन सहज हुने अपेक्षा छ । लिगमा अझै सात खेल बाँकी छ ।

हामी राम्रो नतिजा निकाल्ने लक्ष्यमा हुनेछौं ।’ शेर्पाका प्रशिक्षक सुवास लिम्बुले लगातार खेलिरहनुपर्दा खेलाडीले विश्राम नपाएकाले नतिजा आफ्नो पक्षमा पार्न नसकिएको बताए । ‘दुवै टोली बराबरकै हो, उनीहरूले पाएका मौकालाई सदुपयोग गरे, हामी त्यसमा चुक्यौं,’ खेलपछि प्रशिक्षक लिम्बुले भने, ‘अब पुलिस र संकटाजस्तो बलियो टोलीसँग लगातार खेल्ने तालिका छ, विश्राम नपाउँदा लिगमा अब झन् गाह्रो हुने पक्का छ ।’

 

 

(Visited 14 times, 1 visits today)