राजधानी समाचारदाता
3 months ago
0
काठमाडौं। अञ्जन विष्टको एकमात्र गोलमा सिग्नेचर मनाङ–मस्र्याङ्दी क्लबले ग्रान्डमास्टर जावलाखेल युथ क्लबमाथि १–० को कठिन जित निकालेको दिन रुस्लान थ्री स्टार क्लबले सरस्वती युथ क्लबमाथि २–१ को प्रतिस्पर्धात्मक जित निकालेको छ ।
यससँगै मनाङ शीर्षतर्फ अघि बढ्दा थ्री स्टारले मनाङलाई पछ्याइरहेको छ । मनाङ ६ खेलबाट शतप्रतिशत नतिजासहित १८ अंक जोडेर शीर्ष स्थानमा रहँदा समान ६ खेलबाटै एक खेलमा हार बेहोरेको थ्री स्टार १५ अंक जोडेर लिगको दोस्रो स्थानमा रहेको छ । थ्री स्टार मनाङसँग २–१ ले पराजित भएको थियो । त्यसयता थ्री स्टारले शतप्रतिशत जित निकालिरहेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बुधबार भएको खेलमा मनाङले जावलाखेलमाथि दबाब सिर्जना गरे पनि गोलका लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो । पहिलो हाफमा मनाङले लगातार आक्रमण बुने पनि जावलाखेलका गोलरक्षक टकेन्द्र थापा लगातार बाधक बने । सातौं मिनेटमा कप्तान विशाल राईको फ्रिकिकमा गोलरक्षक टकेन्द्रले पन्च गरेको बलमा अञ्जनको प्रहार पुनः उनले बचाए । एडिलाजा सोमिडेको प्रहारलाई पनि उनले विफल पारे ।
१५औं मिनेटमा विशाल राईले करिब ३० यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिक टकेन्द्रको हातमा लाग्दै क्रसबारमा लागेर फर्किंदा मनाङले खेलमा अग्रता बनाउने सुन्दर मौका खेर फाल्यो । ६२औं मिनेटमा मनाङले पेनाल्टीमार्फत खेलमा अग्रता बनायो ।
डिफेन्डर अडामा डुम्बियाले ओलावाले आफिजलाई पेनाल्टी बक्समा लडाएपछि रेफ्री कविन व्यञ्जनकारले मनाङलाई पेनाल्टी दिए, जसमा अञ्जन विष्ट चुकेनन् । यससँगै अञ्जनले लिगमा आफ्नो गोल संख्या ५ पु¥याएका छन् । ८२औं मिनेटमा कमल श्रेष्ठको क्रसमा ओलावाले आफिजले खाली पोस्टमा गरेको डाइभिङ फ्री हेडरलले पोस्टको दिशा दिन सकेनन् ।
लगत्तै आफिजको पासमा अञ्जनको प्रहार पनि बाहिरियो । इन्ज्युरी समयको तेस्रो मिनेटमा जावलाखेलले बराबरी गर्ने सुन्दर मौका खेर फाल्यो । सुशील यादवको हेडरलाई मनाङका गोलरक्षक विशाल श्रेष्ठले उत्कृष्ट बचाउ गरे । रिबाउन्ड बलमा जावलाखेलका अरुज सिंहले बललाई पोस्टको दिशामा प्रहार गर्न सकेनन् ।
इन्ज्युरी समयको आठौं मिनेटमा जावलाखेलका लावल ओलाकनले २५ यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिक वैकल्पिक गोलरक्षक अशोक बराललाई लाग्दै पोस्टको दिशाबाट बाहिरिँदा जावलाखेलले बराबरी गर्ने मौका गुमायो । मनाङका अञ्जन विष्ट खेलको म्यान अफ दी म्याच घोषित हुँदै १० हजार पुरस्कार पाए ।
भ्याली च्यासल युथ क्लबले राजधानीमा जारी पल्सर शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा दोस्रो जित निकालेको छ ।प्रतिस्पर्धात्मक खेलमा च्यासलले हिमालयन शेर्पा क्लबलाई २–१ ले पराजित गर्दै लिगमा दोस्रो जित निकाल्न सफल भएको हो । च्यासलले यसअघि लिगको तेस्रो चरणको खेलमा न्युरोड टिम (एनआरटी) माथि ५–१ को प्रभावशाली जित निकालेको थियो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बुधबार भएको प्रतिस्पर्धात्मक खेलमा च्यासलले १ गोलले पछि परेको स्थिति उल्ट्याएर जित निकालेको हो । च्यासलका लागि सन्तोष साहुखलले गोल गर्दा १ गोल उपहार पाएको थियो । हिमालयन शेर्पाका त्रिदेव गुरुङले गोल गरेका थिए ।
१५औं मिनेटमा च्यासलका खेलाडीले अफसाइड भनेर छोडेको बलमा कर्ण लिम्बुले वान भर्सेस वानमा प्रहार गरेको बल बारमा लाग्दै फर्किएपछि त्रिदेव गुरुङले गोल गर्दै शेर्पालाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसअघि खेलको पहिलो मिनेटमै सन्तोष साहुखलको पेनाल्टी क्षेत्रभित्रको प्रहारलाई शेर्पाका गोलरक्षकले बचाएका थिए । १३औं मिनेटमा सन्तोष साहुखलकै पासमा अनमार्क रहेका सन्तबहादुर गुरुङको प्रहार अकासिदा च्यासलले अग्रता लिने मौका खेर फाल्यो । ३०औं मिनेटमा हेमन्त थापा मगरको करिब ३० यार्ड टाढाको प्रहार बारमा लागेर बाहिरिँदा च्यासलले बराबरीको मौका गुमायो । ४०औं मिनेटमा आमिर श्रेष्ठको पासमा सन्तोषको हेडर गोलरक्षकले बचाउँदा च्यासल पहिलो हाफमा १–० ले पछि परेको थियो ।
दोस्रो हाफमा च्यासलले खेललाई आफ्नो नियन्त्रणमा लिँदै गोल गर्न सफल भयो । ५०औं मिनेटमा रवि थापाको पासमा कर्णको हेडर बाहिरिँदा शेर्पाले अग्रता दोब्बर पार्ने मौका खेर फाल्यो । लगत्तै ५१औं मिनेटमा आमिर श्रेष्ठको शक्तिशाली प्रहार पोस्टबाट थोरै बाहिरियो । बारम्बार मौका खेर फालिरहेको च्यासलले ५६औं मिनेटमा बराबरी गोल गर्न सफल भयो । सन्तोष साहुखलले दुई डिफेन्डरलाई बिट गर्दै गोलरक्षकलाई छक्याउँदै सुन्दर गोल गरेका थिए । ७३औं मिनेटमा च्यासलले खेलमा अग्रता बनायो ।
सन्तोषकै प्रहार डिफेन्डर निरज बस्नेतलाई लाग्दै फर्किएको बलमा वैकल्पिक खेलाडी सुनिल खड्काले प्रहार गरेको बल फेरि निरजलाई लाग्दै गोलमा परिणत हुँदा शेर्पाका गोलरक्षक किशोर गिरी मूकदर्शक बनेका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा च्यासल २–१ ले विजयी हुन सफल भयो । च्यासलका सन्तोष साहुखल खेलको म्यान अफ दी म्याच घोषित भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए ।
जितपछि च्यासल ७ अंक जोडेर लिगको सातौं स्थानमा उक्लिएको छ । च्यासलले ६ खेलमा २ जित १ बराबरी र ३ हार बेहोरेको छ । पराजित शेर्पा समान ६ खेलबाटै १० अंक जोडेर छैटौं स्थानमा छ ।
जितपछि च्यासलका प्रशिक्षक राजुकाजी शाक्यले टिमले सुधारिएको खेल पस्कँदा खेलमा पछि परेर पनि जित हात पार्न सकिएको बताए । ‘हामीले यसअघि लिगको उपाधि जित्ने लक्ष्य बनाएका थियौं तर राम्रा विदेशी खेलाडी टिममा ल्याउन समस्या हुँदा राम्रो सुरुवात हुन सकेन । अब हामीले टप सिक्समा रहने योजना बनाएका छौं । शेर्पासँग हार बेहोरेको भए हामीलाई आफ्नो लक्ष्य भेट्टाउन अझै गाह्रो हुने थियो,’ खेलपछि प्रशिक्षक राजुकाजी शाक्यले भने, ‘यो जितले हामीले लिएको लक्ष्य भेट्टाउन सहज हुने अपेक्षा छ । लिगमा अझै सात खेल बाँकी छ ।
हामी राम्रो नतिजा निकाल्ने लक्ष्यमा हुनेछौं ।’ शेर्पाका प्रशिक्षक सुवास लिम्बुले लगातार खेलिरहनुपर्दा खेलाडीले विश्राम नपाएकाले नतिजा आफ्नो पक्षमा पार्न नसकिएको बताए । ‘दुवै टोली बराबरकै हो, उनीहरूले पाएका मौकालाई सदुपयोग गरे, हामी त्यसमा चुक्यौं,’ खेलपछि प्रशिक्षक लिम्बुले भने, ‘अब पुलिस र संकटाजस्तो बलियो टोलीसँग लगातार खेल्ने तालिका छ, विश्राम नपाउँदा लिगमा अब झन् गाह्रो हुने पक्का छ ।’