शुक्रवार २८ मंसिर, २०७५ (Friday, 14th December 2018)
२८ मंसिर, २०७५ (14 December 2018)

रत्नजित क्वार्टरफाइनलमा

राजधानी समाचारदाता
1 week ago
06/12/2018

 

काठमाडौं। शीर्ष वरीयताका रत्नजित तामाङ योनेक्स सनराइज नेपाल इन्टरनेसनल ब्याडमिन्टन सिरिजको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपीएफ) को कभर्डहलमा बुधबार भएको खेलमा नेपालका शीर्ष वरीयताका रत्नजित तामाङले भारतका नभिदमाथि २–१ को जित निकाल्दै अन्तिम आठमा पुग्न सफल भएका हुन् । प्री–क्वार्टरफाइनलमा रत्नजितले नभिदमाथि २२–२०, २१–१७ र २१–१६ को जित निकाल्यो । रत्नजितले त्यसअघि अफ्रिकी मुलुक मौरीटियसका तेजराज पुल्टोमाथि २–० को सहज जित निकाल्दै प्री–क्वार्टरफाइनलमा पुग्न सफल भएका हुन् ।

यस्तै, नेपालका विकास श्रेष्ठ भियतनामका काओ कुवान फामसँग २१–१४ र २१–१५ को सोझो सेटमा पराजित हुँदै प्री–क्वार्टरफाइनलबाट बाहिरियो । विजित थापा मगर अस्ट्रेलियाका एन्थोनी जोएसँग २१–१६ र २१–१४ ले पराजित भए । दीपेश धामी, नवीन श्रेष्ठ, प्रफुल महर्जन र प्रिन्स दाहाल भने दोस्रो चरणबाट बाहिरिएका छन् ।

महिला एकलमा नेपालकी नङ्सलदेवी तामाङ, अनुमाया राई, जेसिका गुरुङ र सीता राई प्री–क्वार्टरफाइनलमा रोकिइन् । नङ्सल इरानकी सोरायासँग २१–१४ र २१–१६ ले पराजित भइन् । अनुमाया राई म्यानमारकी थित थुजारसँग २१–६ र २१–१० को सेटमा पराजित भइन् । जेसिका गुरुङ भारतकी राशि त्यागीसँग २१–११ र २१–७ ले पराजित भइन् । सीता राई थाइल्यान्डकी चननचिडासँग २१–७ र २१–३ ले पराजित भइन् ।

मिक्स डबल्समा दीपेश धामी र शोभा गौचनको जोडी, विजित थापा मगर र पूजा श्रेष्ठको जोडी र विकास श्रेष्ठ र सीता राईको जोडीले क्वार्टरफाइनलमा स्थान बनाउँदा रत्नजित तामाङ र नङ्सलदेवी तामाङको जोडी पराजित भयो । दीपेश धामी र शोभा गौचनको जोडीले बंगलादेशका सलमान कहान र एलना सुल्तानाको जोडीमाथि २१–१७ र २१–१७ को जित निकाल्यो ।

विजित थापा मगर र पूजा श्रेष्ठको जोडीले जर्मनी र फ्रान्सका फिलिप डेसचर र ससिना वारनको जोडीमाथि १८–२१, २१–१५ र २१–१३ को जित निकाल्यो । यस्तै, विकास र सीताको जोडीले माल्दिभ्सका मोहम्मद र अब्दु रज्जाकको जोडीलाई २३–२१ र २१–१९ ले पराजित ग¥यो । रत्नजित र नङ्सलको जोडी थाइल्यान्डका पन्चाई र पिचायानिनसको जोडीसँग २१–१३ र २१–१३ ले पराजित भयो ।

 

(Visited 9 times, 1 visits today)