शुक्रवार २८ मंसिर, २०७५ (Friday, 14th December 2018)
२८ मंसिर, २०७५ (14 December 2018)

निःसन्तानको कथायुक्त प्रसादको प्रिमियर

राजधानी समाचारदाता
1 week ago
06/12/2018

 

काठमाडौं । २१ मंसिरबाट देशव्यापी सिनेमा हलमा प्रदर्शनमा आउने चलचित्र ‘प्रसाद’को बुधबार काठमाडौंको बिग मुभिजमा रेड कार्पेट प्रिमियर गरियो । प्रिमियरमा नेपाली चलचित्र वृत्तका विभिन्न सिनेकर्मी सहभागी थिए ।

दिनेश राउतले निर्देशन गरेको प्रसादमा विपिन कार्की, नम्रता श्रेष्ठ, निश्चल बस्नेत, बसुन्धरा भुसाललगायतको अभिनय छ । निःसन्तान दम्पतीले भोग्नुपरेको पीडामा केन्द्रित रहेर आफूले यो चलचित्र निर्माण गरेको यसका निर्देशक दिनेश राउतले बताए । विगतमा प्रेम कथामा आधारित चलचित्र निर्माण गर्दै आए पनि यसपटक विवाहपछिको प्रेमसम्बन्ध र त्यसपछि सन्तान नहुँदा जीवनका उतारचढाव यो चलचित्रमा समेटेको पनि यी निर्देशकले बताए ।

अभिनेत्री नम्रता श्रेष्ठले यो चलचित्रमा आफूले दाम्पत्य सुखका लागि संघर्ष गरेकी नारी नारायणीको भूमिका निर्वाह गरेको बताइन् । सिनेमामा आफूले प्रेम सफल पार्न अन्तरजातीय विवाह गरेको र दाम्पत्य जीवन सुखद तुल्याउनकै लागि सन्तान पाउन गरेको संघर्षले दर्शकको मन छुने पनि उनले बताइन् ।

यस चलचित्रमा विपिन कार्कीले आफूभन्दा माथिल्लो भनिएको जातकी युवती भगाउने दलित युवा बाबुरामको भूमिका निर्वाह गरेका छन् । बाबुराम र नारायणीको जीवनमा साथी बनेर रमेशको भूमिकामा आफू प्रस्तुत भएको अभिनेता निश्चल बस्नेतले बताए । आफूले विगतमा निर्वाह गरेको भूमिकाभन्दा प्रसादमा फरक काम गरेको र विपिन, नम्रताजस्ता खारिएका कलाकारसँग काम गर्दा आफूलाई निकै गाह्रो परेको अनुभव पनि उनले सुनाए ।

चलचित्रलाई सुवास थापाले निर्माण गरेको प्रसादलाई सञ्चारकर्मी सुशील पौडेलले लेखेका हुन् । सुशीलका अनुसार उनले यो चलचित्रमा विपन्न वर्गको सानो क्यानभासलाई कथामा उनेका छन् । सानासान समस्यालाई उठाएर प्रसादको आलेख तयार गरेको उनले बताए ।

प्रसाद हेरेपछि निःसन्तान दम्पतीको पीडालाई सिनेमामा सशक्त रूपमा उठाइएको सिनेकर्मीले बताए । अभिनेता भुवन केसी, दीपकराज गिरी, अभिनेत्री ऋचा शर्मादेखि विभिन्न चलचित्रकर्मीले चलचित्र मन परेको प्रतिक्रिया दिए ।

 

(Visited 29 times, 1 visits today)