शुक्रवार २८ मंसिर, २०७५ (Friday, 14th December 2018)
२८ मंसिर, २०७५ (14 December 2018)

गीतबाटै स्वर सम्राटको सम्झना

राजधानी समाचारदाता
1 week ago
06/12/2018

काठमाडौं। स्वर सम्राट नारायणगोपाल गुरुवाचार्यको २८औं स्मृति दिवसमा कलाकारहरूले बुधबार उनलाई सम्झिएका छन् । स्मृति दिवसको अवसर पारेर काठमाडौंमा आयोजित विभिन्न सांगीतिक कार्यक्रममा स्वर सम्राटका सांगीतिक योगदानको चर्चा गरियो ।

यसैक्रममा काठमाडौंको धुम्बाराहीस्थित नारायणगोपाल स्मृति कोष (नारायण गोपालको घर) मा आयोजित कार्यक्रममा स्वर सम्राटका गीत प्रस्तुतिसँगै उनीसँग बिताएका पलहरूको स्मरण गरियो । कार्यक्रममा विभिन्न संगीतकर्मीलाईसम्मान गरियो ।

गायक एवं संगीतकार कर्म योञ्जनलाई नारायणगोपाल संगीत कोषले ‘नारायणगोपाल स्मृति सम्मान’ प्रदान ग¥यो । ताम्रपत्रसहित सो सम्मानबाट गीतकार दिनेश अधिकारी, नीर शाह, दीर्घसिंह बम, राजेन्द्र रिजाल र विश्वम्भर प्याकुरेललाई पनि सम्मानित गरियो । ताम्रपत्रसहित यी स्रष्टाहरूलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।

सम्मानित स्रष्टा योञ्जनले गोपाल योञ्जनलाई भेट्न दार्जिलिङ पुगेका नारायणगोपालको पेमलासँगको भेट र दाम्पत्य जीवनका बारेमा स्मरण गरे । यस्तै, दीर्घसिंह बमले स्वरसँगै श्रोतालाई शब्दको गहिराइमा भुलाइदिने क्षमता रहेकै कारण उनी जनस्तरबाटै स्वर सम्राट भएको बताए ।

स्वरसम्राटसँग आफूले गीत सिर्जनाका क्रममा बिताएका क्षणको स्मरण गर्दै गीतकारका रूपमा सम्मानित नीर शाहले अहिलेका संगीतकर्मीले उनको अध्ययनशील बानीको अनुसरण गर्नुपर्ने बताए ।

सो कार्यक्रममा विभिन्न कलाकारले नारायणगोपालका गीत गाएर उनीप्रति श्रद्धासुमन अर्पण गरे । कार्यक्रममा शिशिर योगीले सागर सरी… गीत गाएका थिए । यस्तै, मदन गोपालले बिर्सेर जाऊ“ कसरी…, अमला महर्जनले कहिले काही“…, शृंखला जोशीले पोखिएर घामको झुल्का…गीत गाउँदै स्वर सम्राटको सम्झना ताजा गराए ।

यस्तै सरला बीसी, देवेन्द्रमान सिंह, उत्सव नेपाल, शिव काफ्ले, लालकाजी श्रेष्ठ, बीबी अनुरागी, मौसम खरेल, सर्मिला आचार्य, चिरिमाया महर्जन, नवीन न्यौपानेलगायतले नारायण गोपालका गीत गाएका थिए ।

बुधबार नै सांस्कृतिक संस्थानका कलाकारले पनि स्वर सम्राटका गीतसंगीत प्रस्तुत गर्दै उनीप्रति श्रद्धासुमन अर्पण गरे । कार्यक्रममा प्रकाश सायमीले स्वर सम्राटको सांगीतिक यात्राबारे चर्चा गरेका थिए ।

सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) ले आयोजना गरेको सो कार्यक्रममा संस्थानका महाप्रबन्धक राजेश थापाले स्वर सम्राटले संस्थानमा महाप्रबन्धक हुँदा गरेका विभिन्न उल्लेख्य कार्यको चर्चा गरे । नारायणगोपालको तस्बिरमा माल्यार्पणसँगै सुरु भएको सो कार्यक्रममा संस्थानका कलाकारले स्वर स्रमाटका गीत प्रस्तुत गरे ।

संस्थानका प्रशिक्षार्थी कलाकारले कस्तुरी हे बास आउ“छ…गीतबाट गायन कार्यक्रम सुरु गरेका थिए । त्यसपछि तीर्थराज पोखरेलले तिमीले पनि मजस्तै…, विपिन घिमिरेले तान चलाउनु…, दीपेन्द्र बज्राचार्यले कसरी म भुलें…जस्ता गीत गाएर आफ्ना प्रिय गायकको स्मरण गरे ।

यस्तै, संस्थानकै कलाकार शिला विष्टले स्वर सम्राटलाई सम्झने क्रममा उनको मलाई नसोध…, आकाश थापाले जता हि“ड्यो उतै तान्ने…, विपिन र शिलाले पहाडको माथि…, राधिका भण्डारीले मेरो सानो संसार… र नरेन्द्र प्यासीले तिम्रो जस्तो मुटु…गीत गाएका थिए ।

(Visited 28 times, 1 visits today)