शुक्रवार १० फाल्गुण, २०७५ (Friday, 22nd February 2019)
१० फाल्गुण, २०७५ (22 February 2019)

वधशालाको फोहोरले बस्ती दुर्गन्धित

राजधानी समाचारदाता
3 months ago
06/12/2018

 

बागलुङ। बागलुङ नगरपालिका–१ खनियाबासमा रहेको अव्यवस्थित वधशालाका कारण सो क्षेत्रको बस्तीहरूमा  दुर्गन्ध फैलिएको छ ।  वधशालामा वध गरिएका राँगाको हड्डी, छाला र लादीको व्यवस्थापन नहुँदा सो आसपासको वातावरण  तथा माझी वस्ती मुख्य रूपमा प्रभावित छ ।

राँगाको लादीलाई खाल्डोमा थुपार्नुपर्नेमा अव्यवस्थित तरिकाले खाल्डोमा नहाली बाहिरै फालेपछि बस्तीमा दुर्गन्ध फैलिएको बागलुङ नगरपालिका–१ का सोमबहादुर माझीले गुनासो गरे ।  वध गरिएका पशुको मलमूत्र, लादी र हड्डी व्यवसायीले जथाभावी फाल्ने गरेका छन् । उक्त स्थानबाट कालिगण्डकी नदीमा जाने मार्गमा समेत दुर्गन्धले हिड्न गाह्रो हुने गरेको यात्रुहरूको गुनासो छ । ‘हामी बूढाबूढी दुर्गन्धले बिरामी भइरहन्छौं । औषधि पनि गरिरहेका छौं,’ माझी बस्तीका ६५ वर्षीय सोमबहादुर माझीले भने, ‘बल्लबल्ल २९ वर्षपछि आफ्नै थातथलोमा फर्केका छौं तर दुर्गन्धले बसिसक्नु छैन ।’

२०४६ सालमा बागलुङ–पोखरा सडक निर्माण गर्ने क्रममा घरबास गुमाएको माझी समुदाय तीन दशकदेखि बागलुङ नगरपालिका–१ स्थित बाङगेचौर खेल मैदानको किनारमा अस्थायी घरटहरामा बस्दै आएका थिए । दुई वर्ष बागलुङ नगरपालिका नगरविकास कोष र माझी बस्ती व्यवस्थापन समितिबीच बस्ती व्यवस्थापनका लागि घर बनाउने गरी त्रिपक्षीय सम्झौता भएर काम अगाडि बढेपछि अल्पसंख्यक माझीहरूले गएको दसैंमा आफ्नै थलोमा घर पाएका हुन् ।

बागलुङ नगरपालिका–१ का वडाअध्यक्ष दुर्गे सार्कीले व्यवसायीलाई चाँडो सफा गर्न र नगरे कारबाही गर्ने चेतावनी दिएको बताए । उक्त स्थानमा पहिलेबाटै पशु वध भइरहेको थियो वडाअध्यक्ष सार्कीले भने, ‘उक्त स्थानमा धेरै फोहोर भएर टोल नै दुर्गन्धित बनेपछि तुरुन्तै सफा गर्न र जथाभावी फोहोर नफाल्न चेतावनी दिएका छौं ।’

सार्कीका अनुसार वडा कार्यालयले व्यवसायीलाई बोलाएर तत्काल सफा गर्न निर्देशन दिने बताए । वडाअध्यक्ष सार्कीले अहिले सचेत गराइएको र अब पनि अटेर गरेमा वातावरण तथा फोहोरमैला व्यवस्थापन ऐनबमोजिम कारबाही गरिने बताए ।

 

(Visited 12 times, 1 visits today)
Loading comments...