सोमवार ११ चैत्र, २०७५ (Monday, 25th March 2019)
११ चैत्र, २०७५ (25 March 2019)

सम्पत्ति सकियो, उपचार भएकै छैन

अर्जुन श्रेष्ठ
4 months ago
06/12/2018

धादिङ । निहाउरो अनुहार, थाकेको ज्यान । घरबार श्रीसम्पत्ति उपचारमै सकियो । तर, फेल भएका दुवै मिर्गाैला फेरेर खुसीले बाँच्ने दिन आएन । केवल पीर, व्यथा अनि ऋणको भारीले उठ्नै नसक्ने गरी थिचियो मात्रै ।

‘सास रहेसम्म आश’  हुन्छ भनेझंै दुवै मिर्गाैला फेल भएका धादिङ गंगाजमुना गाउँपालिका–१ का मेन्जो तामाङ भन्छन् ‘बाँच्ने रहर छ, अरूको सहयोगबिना सम्भव छैन ।’

खेतीपाती गरेर जीविका चलाउँदै आएका तामाङ मध्यम वर्गीय परिवारका हुन् । एक्कासी बिरामी भएपछि पोखराको मणिपाल अस्पतालमा उपचार गर्न पुगे । अस्पतालले रिपोर्ट दिएपछि उनी तामाङ छाँगाबाट खसेजस्तै भए । ‘ दुवै मिर्गाैला फेल’ अस्पतालले दिएको रिपोर्टमा लेखिएको थियो । त्यसपछि भरतपुर हँुदै काठमाडौंका अस्पतालसम्म जँचाउन पुगे ।

तामाङ भन्छन्, ‘बेलैमा उपचार गर्न पाइएको भए आजको यो अवस्था आउने थिएन होला । एउटाले मात्रै काम गर्ने भए पनि दुई छाकको जोहो गर्न त सक्थें ।’

२०७३ साल जेठमा उनले दुवै मिर्गाैला फेल भएको थाहा पाएपछि उपचारका लागि करिब २० लाख रकम खर्च गरें

‘अन्तिम विकल्प मिर्गाैला फेर्नु नै हो ।’ उनले भने,  ‘भएको सम्पत्ति उपचारमै सकें । घरघडेरी, खेतबारी सबै बेचिसकें । अहिले आफैं भाडामा बस्दै छु ।’

सातामा दुई दिन डायलोसिस गर्न काठमाडौं जानुपर्छ त्यसका लागि प्रतिमहिना १५ हजार बढी खर्च हुने बताए । सरकारले यस्ता बिरामीका लागि सुविधा दिएको सुने पनि आफूले केही नपाएको गुनासो गर्छन् । ‘पैसा तिरेका बिल र कागजपत्र एक झोला छ ।’ उनले भने, ‘आफ्नो बलबुता र सम्पत्तिले रोग निको पार्न सकिनँ ।’

 

(Visited 42 times, 1 visits today)
Loading comments...