सोमवार ६ जेठ, २०७६ (Monday, 20th May 2019)
६ जेठ, २०७६ (20 May 2019)

कर्मचारी समायोजन नहुँदा कार्यसम्पादनमै समस्या

राजधानी समाचारदाता
6 months ago
06/12/2018

 

काठमाडौं। संविधान अनुरुप संघीय सरकारका कर्मचारी तीन तहमा समायोजन हुनुपर्ने भए पनि सोअनुसार काम हुन नसक्दा स्थानीय सरकारको काममा समस्या भइरहेको सरोकारवालाले बताएका छन् । विकास पत्रकार मञ्च (फोडेज), नेपाल र गाउँपालिका राष्ट्रिय महासंघ नेपालले संयुक्त रुपमा बुधबार राजधानीमा आयोजना गरेको ‘स्थानीय तहका सवालमा आमसञ्चारमाध्यम’ विषयक कार्यशालामा सरोकारवालाले यस्तो धारणा राखेका हुन् ।

महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले संविधानत एक पटकका लागि संघीय सरकारका कर्मचारी तीनवटै तहका सरकारमा समायोजन हुनु पर्नेमा हालसम्म पनि समायोजन हुन नसक्दा स्थानीय सरकारको कार्यसम्पादनमा समस्या भइरहेको बताएका हुन् । ‘कर्मचारी समायोजन प्रकृया अझै स्पष्ट भएको छैन । केन्द्रबाट प्रदेश तथा स्थानीय कर्मचारी समायोजन गर्दा स्वतः एक तह बढुवाको व्यवस्था राख्न लागिएको सुन्नमा आएको छ’, उनले भने, ‘यस्तो स्वतः बढुवाको प्रावधानले उत्पन्न गर्न सक्ने अल्पकालीन तथा दीर्घकालीन असरको बारेमा ध्यान दिनु पर्दछ ।’ सञ्चारकर्मीका तर्फबाट टिप्पणी गर्दै अन्नपूर्ण पोष्टका प्रधानसम्पादक हरिबहादुर थापाले स्थानीय सरकारको बजेट अझै पनि वितरणमुखी भएकाले विकृति देखिएको बताए । उनले भने, ‘जनप्रतिनिधि आएपछि पनि स्थानीय तहले स्रोतको दोहन व्यापक रुपमै गरिरहेका छन् । तह आवश्यकताका योजनामा केन्द्रीत हुन सकेका छैनन् ।’

साउथ एसिया चेकका सम्पादक मोहन मैनालीले सञ्चारमाध्यमले स्थानीय सरकारका नकारात्मक पक्षलाई मात्र उजागर नगरी सकारात्मक समाचारमार्फत जनप्रतिनिधिलाई सही ट्रयाकमा ल्याउनुपर्नेमा जोड दिए ।

‘पद र हैसियतअनुसारका काम जिम्मेवारपूर्ण ढंगले काम गर्ने हो भने अब स्थानीय सरकारले समृद्धि ल्याउन सक्छ तर जसले जे काम जसरी गर्नुपर्ने हो त्यसरी नगर्दा समस्या देखिएको छ’, उनले भने । नेपानका अध्यक्ष चेतनाथ कँडेलले स्थानीय तहले दुई वर्षमा जनप्रतिनिधि र कर्मचारीको क्षमता वृद्धि गर्नुपर्नेमा त्यो गर्न नसकेकाले कामले गति नपाएको टिप्पणी गरे । महासंघका निर्देशक विमल पोखरेलले जनप्रतिनिधिले गरेको सफल अभ्यासलाई मुलुकभर पु¥याउन सके विकासको तरंग फैलिने बताए ।

फोडेजका अध्यक्ष गोपीकृष्ण ढुंगानाले गरिब, विपन्न र बजेटविहीन चीनको ख्वासी गाउँको समृद्धि कथा सुनाउँदै सबै गाउँपालिका र नगरपालिकाले आन्तरिक एवं बाह्य स्रोतसँगै जनशक्ति परिचालन गरेर आÏना तहलाई ‘ख्वासी’ जस्तै बनाउन सक्ने बताए । उनले भने, ‘मुलुक समृद्ध बनाउने हो भने स्थानीय तह समृद्ध हुनुपर्छ र त्यसका लागि सञ्चारकर्मी स्थानीय सरकारभन्दा एक कदम अगाडि हुनुपर्छ ।’

 

 

 

(Visited 212 times, 1 visits today)
Loading comments...