शुक्रवार २८ मंसिर, २०७५ (Friday, 14th December 2018)
२८ मंसिर, २०७५ (14 December 2018)

छोरीले प्रेमीसँग बिहे गरादिन जिद्दी गरेपछि आमाले घाँटी थिचेर हत्या गरिन्

सुजीतकुमार झा
1 week ago
06/12/2018

जनकपुरधाम । आफ्नै छोरीको हत्या गरेको अभियोगमा धनुषामा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबार ४८ वर्षीया राजकुमारी मण्डललाई पक्राउपछि पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो । जनकपुर उपमहानगरपालिका–२४ सोनापडा निवासी राजकुमारी मण्डलले बुधबार छोरी सोनी कुमारी मण्डलको घाँटी थिचेर हत्या गरेको प्रहरीले बताएको छ ।

प्रहरी उपरिक्षक गोविन्द थपलियाका अनुसार ८ कक्षामा अध्ययनरत सोनी केही समयदेखि प्रेममा परेकी थिइन् । प्रेमीसँग विहे गराइदिनुपर्ने भन्दै आमासँग ढिपी गरेपछि आमाले हत्या गरेको प्रहरीले जनाएको छ ।

घरमा छोरीसँग हरेक दिन विवाद र झगडा हुन थालेपछि केही समययता दुबैजना अलग्गै भान्सा बनाएर खाना खाँदै आएका थिए । बुधबार दिउसो खाना पकाउने बेला भान्सा कोठामा समेत आमा छोरीको झगडा भएको थियो ।

सोही क्रममा छोरीले आमालाई ढोकामा लगाउने आग्लोले निधारमा हिर्काएको प्रहरीले जनाएको छ । प्रतिकारमा आमाले छोरीको घाँटीमा दुवै हातले थिचेकी थिईन् । लगत्तै उनको मृत्यु भएको थियो । राजकुमारीका पति रामवरण मण्डल फर्निचर व्यवसायी हुन् ।

(Visited 168 times, 1 visits today)