शुक्रवार २८ मंसिर, २०७५ (Friday, 14th December 2018)
२८ मंसिर, २०७५ (14 December 2018)

दुई अमेरिकी लडाकू विमान आकाशमा जुधेर दुर्घटना

एजेन्सी
1 week ago
06/12/2018

टोकियो । जापानको दक्षिणपश्चिमी तटीय क्षेत्रमा दुइवटा अमेरिकी लडाकू बिमान बिहीबार आकाशमा जुधेर दुर्घटनाग्रस्त भएका छन् ।

सैनिक अधिकारीले बिमानमा सबार चालक दलका सात जनामध्ये पाँचजना हराइरहेको बताएका छन् ।

आकाशमा एउटा लडाकू बिमानमा अर्को सैनिक बिमानबाट तेल भर्ने क्रममा दुबै बिमान एकआपसमा ठक्कर खाएर दुर्घटनाग्रस्त भएको अधिकारीहरुले बताएका छन् ।

अमेरिकी मरिन कप्र्सका अनुसार एफए–१८ लडाकू बिमान र तेल बोकेर आएको केसी–१३० सैनिक बिमान एकआपसमा ठोक्किएका थिए ।

पश्चिमी जापानको हिरोसिमा नजिक इवाकुनीस्थित अमेरिकी सैनिक अखडाबाट तालिमको सिलसिलामा बिमान उडेलगत्तै दुर्घटनाग्रस्त भएको बताइएको छ ।

अमेरिकी सैनिक अधिकारीले सो दुर्घटना सैनिक अखडाबाट करिब ३२० किलोमिटर टाढा प्रशान्त महासागरमा भएको जनाएका छन् ।

तत्काल खोजी तथा उद्धारमा खटिएका सैनिकले चालक दलका दुई सदस्यलाई उद्धार गरेको थियो ।

सो दुर्घटनाको कारणबारे अनुसन्धान सुरु भइसकेको छ । खोजी र उद्धारमा जापानी सैनिक बिमान र पानी जहाज पनि परिचालन गरिएको जापानी सैनिक अधिकारीले बताएका छन् ।

पछिल्ला केही समयदेखि जापानी तटीय इलाकामा अमेरिकी लडाकू बिमान र नौसैनिक जहाजहरुको दुर्घटना हुनेक्रम बढेको छ । गत महिना पनि एउटा अमेरिकी नेभीको लडाकू बिमान ओकिनावा नजिक दुर्घटनाग्रस्त भएको थियो ।

गत अक्टोबरमा एउटा एमएच–६० सि–हक लडाकू बिमान पनि फिलिपिनी सागरमा उड्नासाथ दुर्घटनाग्रस्त भएको थियो । जापान र अमेरिकाबीचको सुरक्षा सम्झौता बमोजिम जापानमा हाल ५० हजारभन्दा बढी अमेरिकी सैनिक तैनाथ छन् ।

(Visited 387 times, 1 visits today)