शुक्रवार २८ मंसिर, २०७५ (Friday, 14th December 2018)
२८ मंसिर, २०७५ (14 December 2018)

अख्तियारमा स्थानीय तहका कामबिरुद्ध बढी उजुरी

दीपक बुढा
1 week ago
06/12/2018

सुर्खेत । कर्णाली प्रदेशमा सबैभन्दा बढी स्थानीय तहसँग सम्बन्धित उजुरी पर्ने गरेका छन् ।

पछिल्लो समय स्थानीय तहले गरेको काम कारवाहीका बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा उजुरी पर्ने गरेका छन् ।

कार्यालयले आयोजना गरेको पत्रकार भेटघाटमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतका स्थानीय तह र जिल्ला समन्वय समिति लगायतका उजुरी बढी पर्ने गरेको कार्यालय प्रमुख ज्ञानराज सुवेदीले जानकारी दिए ।

‘कर्णालीमा पछिल्लो समय सबैभन्दा बढी स्थानीय तह र साविकको जिल्ला विकास समिति अन्तर्गतको उजुरी बढी आउने गरेको छ’ उनले भने ‘मन्त्रालयगतको विवरणअनुसार संघीय मामिला तथा सामान्य प्रशासनमा मात्रै १५५ उजुरी परेका छन् । अन्य मन्त्रालयगत विवरणमा भने कम छ ।’

कर्णालीका ७९ वटा स्थानीय तहसहित जिल्लाका समन्वय समितिको विरुद्ध यस्ता उजुरी पर्ने गरेको छ । कार्यालयका अनुसार चालू आर्थिक वर्षको चार महिनामा परेका ५०३ उजुरीमध्ये सबैभन्दा बढी संघीय मामिला तथा सामान्यतर्फ १५५ उजुरी परेकोमा ३२ फछर्याैट गरेको छ भने १२३ बाँकी रहेको छ ।

त्यस्तै शिक्षा, विज्ञान, तथा प्रविधिअन्तर्गत १४६ उजुरी परेकोमा ३८ मात्रै फछर्याैट भएको छ भने १०७ बाँकी रहेका छन् । तेस्रो स्थानमा रहेको वन तथा वातावरण मन्त्रालयमा ५१ उजुरी परेकोमा ७ वटा फछर्याैट भएको छ भने ४४ वटा बाँकी रहेको कार्यालयले जनाएको छ । सबैभन्दा कम उजुरी युवा तथा खेलकुद तर्फ परेका छन् जसमा १ मात्रै उजुरी परेकोमा फछर्यौट हुन बाँकी रहेको छ ।

सबैभन्दा बढी उजुरी सुर्खेतमा
त्यस्तै, कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार कर्णालीका १० जिल्लामध्ये सुर्खेतमा सबैभन्दा धेरै उजुरी पर्ने गरेको छ । अख्तियारमा यस आर्थिक वर्षको चार महिनामा जम्मा ५०३ वटा उजुरीमध्ये सुर्खेतमा १०६ वटा उजुरी परेको छ ।

कार्यालयले ३२ फछर्याैट गरेको छ भने ७४ वटा बाँकी रहेको जनाएको छ । त्यस्तै दोस्रो स्थानमा दैलेख रहेको छ ।

दैलेखमा जम्मा ८५ वटा उजुरी परेकोमा १९ वटा फछर्यौट गरेको छ भने ६६ वटा बाँकी रहेको छ । तेस्रो स्थानमा रहेको जाजरकोट जिल्लामा ७३ वटा उजुरी परेकोमा १२ वटा मात्रै फछर्याैट गरेको छ भने ६१ वटा बाँकी रहेको छ ।

चौथो स्थानमा रहेको कालिकोट जिल्लामा ५८ वटा उजुरी परेकोमा ६ वटा मात्रै फछर्यौट भएको छ भने ५२ वटा उजुरी बाँकी रहेको छ । प्रदेशको सबैभन्दा कम डोल्पा जिल्लामा उजुरी पर्ने गरेको छ । जसमा ६ वटा मात्रै उजुरी परेकोमा फछर्यौट गर्न सवै बाँकी छन् ।

शिक्षासँग सम्बन्धित उजुरी बढी
कार्यालयको विवरण अनुसार सुर्खेतमा सबैभन्दा बढी शिक्षासँग सम्बन्धित उजुरी बढी परेको छ । चालू आर्थिक वर्षको चार महिनामा जम्मा १०६ उजुरीमध्ये ३७ वटा शिक्षा, विज्ञान तथा प्रविधिसँग सम्बन्धित उजुरी परेकोमा १२ वटा फछर्याैट भएको छ भने २५ वटा बाँकी रहेको कार्यालयले जनाएको छ ।

दोस्रो स्थानमा संघीय मामिला तथा सामान्य प्रशासनतर्फ २३ वटा उजुरी परेका छन् भने ७ वटा फछर्यौ भए भने १६ वटा बाँकी रहेका छन् । त्यस्तै, वन तथा वातावरण संगसम्बन्धित १९ वटा उजुरी परेकोमा ३ वटा फछर्यौट भएको छ भने १६ वटा बाँकी रहेको जनाइएको छ ।

चार वर्षमा २८ जना रंगेहात
त्यस्तै, आयोगको कार्यालयले चार वर्षको अवधिमा २८ जनालाई रंगेहात पक्राउ गरेको छ । घुस लिदाँलिदै गरेको अवस्थामा आयोगले रंगेहात पक्राउ गरेहको हो । कार्यालय आर्थिक वर्ष २०७१/०७२ मा ९ जना, २०७२/०७३ मा ११ जना, २०७३/०७४ मा ३ जना र चालू आर्थिक वर्षमा १ जना गरी २८ जनालाई रंगेहात पक्राउ गरेको कार्यालयले जनाएको छ ।

(Visited 36 times, 1 visits today)