शुक्रवार २८ मंसिर, २०७५ (Friday, 14th December 2018)
२८ मंसिर, २०७५ (14 December 2018)

बालाचतुर्दशीमा एक लाखले बाले बत्ती

नवीन लुइँटेल
1 week ago
07/12/2018

ललितपुर । पशुपति क्षेत्रमा पितृ मोक्ष र उद्धारका निम्ति करिब १ लाखले बत्ती बालेर सतबीज छरेका छन् । बुधबार साँझ बत्ती जगाएर बिहीबार बिहानसम्म करिब सवा लाख जनाले बत्ती बालेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

बिहीबार बिहान देशभरका शिवालय वरिपरि सतबीज छरिएजस्तै राजधानीको पशुपतिनाथको मन्दिर परिसरमा सतबीज छर्नेको भीड लागेको कोषका सदस्य रमेश उप्रेतीले जानकारी दिए ।

करिब ७५ हजारले आफैं रातभर जाग्राम बसेर बत्ती बालेको अनुमान गरिएको उनले बताए । अरूलाई बत्ती बाल्न दिने तथा कोषका ब्राह्मण कर्मचारीलगायतलाई बत्ती कुर्न दिने भक्तजनको संख्या जोड्दा करिब १ लाख पुगेको उनले बताए ।

‘यसपालि बालाचतुर्दशीका दिन बिहान सतबीज छर्नेको भीड लागेको थियो, श्रद्धालु भक्तजनलाई सजिलो भयो,’ उनले भने, ‘पाटी र सत्तलमा भन्दा पनि पाल टाँगेर बत्ती बाल्ने व्यवस्था मिलाइएको थियो ।

कोषले सतबीज छर्नका लागि बनाएको छुट्टै मार्ग प्रयोग गर्दै करिब ६ लाखले बिहान २ बजेदेखि दिउँसो २ बजेसम्म सतबीज गरेको उनले जानकारी दिए । सुरुमा पाताल गणेश, दक्षिण मूर्ति, उमाकुण्ड, कैलाश, गौरीघाट, गुहेश्वरी, मृगस्थलीनजिकको भागलभूगल मन्दिरसम्म सतबीज छर्नका निम्ति रुट तयार गरेको थियो ।

 

बालाचतुर्दर्शीमा पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड ।      तस्बिर :  सुशील श्रेष्ठ

मंसिर कृष्ण चर्तुदशीका दिन बिहीबार बिहानै आप्mनो परिवारभित्रका सदस्यको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो मिश्रित सतबीज शिवालय वरिपरि छर्ने चलन छ । यसो गर्नाले पितृलाई अन्नको कमी नहुने र उनीहरूले सद्गति प्राप्त गर्ने धार्मिक विश्वास छ ।

बालासुर राक्षसको नामबाट आएको यो चर्तुदशीमा सतबीज छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पूर्ण पाप नाश हुने जनविश्वास छ । सतबिज छर्नाले मृत व्यक्तिले जीवित अवस्थामा गरेका सम्पूर्ण पाप कर्म नाश हुने विश्वास छ । सतबीजको एक गेडा अन्न छर्नाले सुन दान गरेबराबरको फलसमेत प्राप्त हुने फल मिल्ने विश्वास गरिन्छ ।

मंसिर कृष्ण त्रयोदशीका दिन साँझबाट भोलिपल्ट सतबीज छर्ने बेलासम्म आफ्ना पितृहरूको नाममा बत्ती बाल्ने गरिन्छ । अघिल्लो दिन दियो, कलश, गणेश थापी भर्खरै मृत्यु भएका आफन्तजनको नाम गोत्र उच्चारण गरी संकल्प गरेर बत्ती बाल्ने गरिन्छ ।

ठूलो दियो तथा तामाको मानोमा काँचो धाँगोको बत्ती बाल्ने परम्परा हाम्रो समाजमा छ । रातभर बत्ती बालिरहनुपर्ने र निभ्न दिन नहुने चलन छ । चर्तुदशीका दिन बिहान स्नान गरी बत्ती खोलामा विसर्जन गरी सतबीज छरेर पूर्णपात्रो गर्ने चलन छ । राजधानीको पशुपतिनाथको मन्दिर क्षेत्रमा रहेका ११८ शिवलिंग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट गुह्येश्वरी पशुपति मृगस्थलीलगायतका ठाउँमा श्रद्धालु भक्तजनको अघिल्लो दिन साँझदेखि नै भीड लागेको छ ।

पशुपति क्षेत्र विकास कोषले बालाचतुर्दशीका लागि विशेष प्रवन्ध मिलाएको थियो । पशुपतिमा शिवरात्रि र हरितालिका तिजपछि भक्तजनको विशेष घुइँचो लाग्ने चाडका रूपमा बालाचतुर्दशीलाई लिने गरिन्छ । सतबीज छर्न र पितृ मोक्षका लागि दीप बाल्न कोषले प्रबन्ध मिलाएको कोषका सदस्य रमेश उप्रेतीले जानकारी दिए ।

‘हामीले भक्तजनका लागि बत्ती बाल्न दिनका निम्ति पण्डाल, पाल आदिको व्यवस्था गरेका थियौं,’ उनले भने । बालाचतुर्दशीका निम्ति बाग्मती खोलामा अस्थायी पुल, विभिन्न ठाँउमा बत्तीको व्यवस्था, शौचालय र स्वास्थ्य शिविरको प्रबन्ध मिलाइएकाले भक्तजनलाई सहज भएको उनले जानकारी दिए ।

कैलाशमा रात्रिदेखि नै भक्तजनको चहलपहल हुने भएकाले बिजुली बत्तीको पनि प्रबन्ध मिलाइएको थियो । भक्तजनको सुरक्षा र स्वास्थ्य सुरक्षाका लागि पनि विशेष प्रकारको बन्दोबस्त

गरिएको थियो ।

‘शान्ति सुरक्षाका निम्ति सेना, प्रहरी र सशस्त्र प्रहरीसँगै कोषकै स्वयंसेवक खटिएका थिए । स्वास्थ सेवाका लागि पनि स्वास्थ्यकर्मीको समूह क्याम्प नै बनाएर बसेका थिए । पशुपति क्षेत्रमा विभिन्न धार्मिक संघसंगठन र भक्तजनका लागि चियापानीको व्यवस्था गर्न

खटिएका छन् ।

आफ्ना पितृको उद्धारका निम्ति बत्ती बालेर सतबीज छर्न चाहने तर विभिन्न कारणले गर्दा पशुपतिमा आउन नसक्ने भक्तजनका लागि पनि कोषले छुट्टै व्यवस्था गरेको थियो ।

‘१ हजार शुल्क तिरेमा पशुपतिकै ब्राह्मणले संकल्प पढेर त्यस्ता भक्तजनको पितृका निम्ति बत्ती बालिदिने व्यवस्था गरिएको थियो,’ उनले भने, ‘अन्य आफैं आएर बत्ती बाल्नेका लागि २ सय रुपैयाँ तोकिएको थियो ।

 

 

 

(Visited 24 times, 1 visits today)