मंगलवार ३१ भाद्र, २०७६ (Tuesday, 17th September 2019)
३१ भाद्र, २०७६ (17 September 2019)

सारथी सहकारी

निमेन्द्र शाही
9 months ago
08/12/2018

बाजुरा।   बूढीगंगा–९ बारबिसकी बिस्ना लुहार एकल महिला हुन् । अर्काको घरमा भाडामा बस्ने लुहारको अहिले आफ्नै व्यवसाय छ । घर छ । प्रगतिशील बहुउद्देश्यीय सहकारीको सदस्य बनेपछि उनलाई यो सफलता मिल्यो ।
बूढीगंगा नगरपालिका–४ कुल्देमाडांैका विष्णुभक्त रेग्मी अपांगता भएका व्यक्ति हुन् । अहिले रेग्मीलगायत गाउँका सबै अपांगता भएका व्यक्ति, एकल महिला र कुष्ठरोगी मिलेर कुल्देमाडांै बहुउद्देश्यीय सहकारी स्थापना गरेका छन् ।
‘हाम्रो दुःखको सारथी कोही नभएपछि सहकारी बनाएका छौं,’ रेग्मी भन्छन्, ‘घरमा केही सारोगारो परेका बेला कसैलाई भन्नुपरेन । सहकारीबाट ऋण लिएर काम गर्दै आएका छांै ।’

२०६८ सालकोे जनगणनाअनुसार बाजुरामा ५ हजार ८९५ व्यक्ति फरक क्षमताका छन् । तीमध्ये केही अपांगता भएका व्यक्ति, एकल महिला र कुष्ठरोगीहरुले आफ्नै सहकारी बनाएर आफूलाई परेको सारोगारो टार्दै आएका छन् ।
समाजमा हेला गरिएका र अछुतको व्यवहार भोग्न बाध्य पारिएकासमेत अहिले सहकारीको सहायताबाट आफ्नो काम गर्न थालेका छन् । कुल्देमाडौं बहुउद्देश्यीय सहकारीमा दुई जना कुष्ठरोगी, प्रगतिशीलमा दुई जना र बडिमालिका बहुउद्देश्यीय सहकारी संस्थामा चार जना कुष्ठरोगीले समेत सदस्य बनेर आफ्नो व्यवसाय सुरु गरेका छन् ।
बूढीगंगा नगरपालिका–९ की रूपा लुहार (नाम परीवर्तन)ले गाउँमा द ल्याप्रोसी मिसन नेपालले सञ्चालन गरेको शिविरमा जाँच गर्दा कुष्ठरोग भेटियो । अहिले उनी औषधि सेवन गरिरहेकी छन् । सहकारीमा सदस्य बनेर व्यापार पनि सुरु गरेकी छन् ।
संघीयता कार्यान्वयनपछि स्थानीय तहमै सहकारी दर्ता गर्ने अधिकार पाएपछि अशक्त र अपांगता भएकाहरुले समेत सहकारी दर्ता गर्न सकेका हुन् ।

बाजुराका चारवटा सहकारी जसले फरक क्षमता भएका नागरिकको हिम्मतसँगै आर्थिक हैसियतसमेत बदल्दै छ ।

 

कुल्देमाडांै बहुउद्देश्यीय सहकारी संस्था र प्रगतिशील बहुउद्देश्यीय सहकारी संस्था बूढीगंगा नगरपालिकामा दर्ता भएका सहकारीमध्ये पहिलो र दोस्रो नम्बरमा छन् । बडिमालिका बहुउद्देश्यीय सहकारी संस्था त्रिवेणी नगरपालिका र समावेशी बहुउद्देश्यीय सहकारी संस्था खप्तड छेडेदह गाउँपालिकामा दर्ता भएका छन् ।
अशक्त र असहायहरुले आफंै सहकारी खोलेपछि उत्साहित बनेको बूढीनन्दा नगरपालिका उपप्रमुख तारा खाती बताउँछिन् । ‘यहाँका एकल महिला, कुष्ठरोगी र अपांगता भएका व्यक्ति मिलेर सहकारीमा देखाएको सक्रियताले हामीलाई आउँदा दिनमा कार्यक्रम बनाउनसमेत सचेत बनाएको छ,’ उनले भनिन् ।

द ल्याप्रोसी मिसन नेपालले चारवटै सहकारीलाई प्रतिसहकारी १४ लाख रुपैयाँ सहायता गरेको छ । मिसनका जिल्ला कार्यक्रम संयोजक वीरेन्द्र रावलका अनुसार हरेक सहकारीलाई व्यावसायिक पुँजी १० लाख, बीउ पुँजी १ लाख र आयमूलक तालिमबापतको ३ लाख रुपैयाँ प्रदान गरिसकिएको छ ।
अवसर र सहयोग पाए अशक्त र असहायले समेत केही गर्न सक्छन् भन्ने असल उदाहरण बनेका छन्, बाजुराका यी चार नयाँ सहकारी ।

(Visited 37 times, 1 visits today)
Loading comments...