मंगलवार १२ चैत्र, २०७५ (Tuesday, 26th March 2019)
१२ चैत्र, २०७५ (26 March 2019)

एनआरएनएद्वारा कृषि बजार निर्माणका लागि जग्गा उपलब्ध गराइदिन आग्रह

राजधानी समाचारदाता
3 months ago
15/12/2018

 

कठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपालमा आधुनिक कृषि बजार निर्माणका लागि जग्गा उपलब्ध गराइदिन सरकारसँग आग्रह गरेको छ । एनआरएनका उपाध्यक्ष कुलदीप आचार्यको नेतृत्वमा आएको टोलीले शुक्रबार कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल बलदेवलाई मन्त्रालयमा भेटेर जग्गा उपलब्ध गराइदिन आग्रह गरेको हो ।

एनआरएनले काठमाडौंमा कृषिजन्य पदार्थको प्रोसेसिङ सेन्टर र काठमाडौं बाहिर कलेक्सन सेन्टर निर्माण गर्ने जनाएको छ । त्यसका लागि प्रयोगमा नरहेको ५० रोपनीभन्दा बढीको सरकारी जग्गा २० वर्षका लागि लिजमा उपलब्ध गराउन मन्त्री खनालसँग आग्रह गरेको हो । एनआरएन कृषि प्रवद्र्धन समितिका संयोजक युवराज गुरुङले १ देखि डेढ अर्ब रुपैयाँ लगानी गर्ने गरी सात जनाको विज्ञ टिमले आर्थिक प्रतिवेदन तयार गरिरहेको जानकारी दिए । कलेक्सन सेन्टरका लागि काठमाडौं बाहिर प्रदेश १ को सरकारसँग छलफल गर्ने उनले बताए । नाफामूलकभन्दा पनि सामाजिक उत्तरदायित्वका लागि गर्न लागिएको उक्त कामले किसानलाई ठूलो राहत मिल्ने र तरकारी, फलफूल र मासुजन्य पदार्थको आयात न्यून गर्दै आत्मनिर्भरताका लागि सहयोग पुग्ने एनआरएन उपाध्यक्ष आचार्यको भनाइ छ । एनआरएनले निर्माण गर्ने उक्त बजार सरकारको स्वामित्वमा रहनेछ । जवाफमा मन्त्री खनालले प्रस्ताव उपयुक्त रहेको भन्दै प्रधानमन्त्रीसँग पनि आफूले छलफल गर्ने जानकारी दिए । एनआरएनलाई सहज हुने गरी कार्यविधि निर्माण गरिने मन्त्री खनालको भनाइ छ । काठमाडौंमा जग्गा अभाव रहेको भन्दै सहकारी र केही कम्पनीहरूले पनि तरकारीको आधुनिक बजारका लागि जग्गा खोजिरहेको खनालले जानकारी दिए ।

कृषि मन्त्रालयले पनि काठमाडौं छिर्ने पाँचवटा नाकामा कृषि बजार निर्माण गर्ने योजना बनाएको छ । त्यसका लागि ५ करोड रुपैयाँ छुट्टयाइएको छ भने किसानलाई ५० प्रतिशत अनुदान हुनेछ । काठमाडौंमा उपयुक्त जग्गा प्राप्त भएमा कालिमाटीको फलफूल तथा तरकारी बजारलाई त्यहाँबाट विस्थापित गर्ने मन्त्री खनालको योजना छ ।

काठमाडौंको मलपोखरीमा खानेपानी मन्त्रालयको स्वामित्वमा रहेको ६ सय रोपनीको जग्गा उपयुक्त भएको भन्दै मन्त्रालयसँग छलफल चलिरहेको खनालले जानकारी दिए । त्यहाँको २ सय रोपनी जग्गा उपलब्ध भएमा तत्कालका लागि कालिमाटीको बजारलाई कमलपोखरीमा सारेर कालिमाटीलाई कोल्ड स्टोर, पर्याप्त पार्किङसहितको पाँचतले आधुनिक बजार बनाउने कृषिमन्त्री खनालको योजना छ । त्यसो गर्न अहिलेका कालिमाटीका तरकारी व्यवसायी अग्रिम रकम भुक्तान गर्न पनि तयार भएका छन् ।

(Visited 54 times, 1 visits today)
Loading comments...