शनिवार ९ चैत्र, २०७५ (Saturday, 23rd March 2019)
९ चैत्र, २०७५ (23 March 2019)

कांग्रेस महासमिति मूल एजेन्डामा नै असहमति

महेश्वर गौतम
3 months ago
16/12/2018

काठमाडौं। विधानलाई मुख्य एजेन्डा बनाएर सुरु भएको नेपाली कांग्रेसको महासमिति बैठकमा मूल एजेन्डामै नेताहरूबीच सहमति जुट्न सकेको छैन । विधानमा सहमति जुट्न नसकेपछि त्यसको असर महासमिति उद्घाटन सत्रमा देखिएको छ ।
मुलुकको संघीय संरचनाअनुसार पार्टी विधानलाई महासमितिबाट पारित गर्ने लक्ष्य कांग्रेसले लिएको छ । तर, विधानमा सहमति जुट्न नसकेपछि विधानबिना नै महासमिति बैठक सुरु भएको छ ।

शनिबार भएको महासमितिको उद्घाटन सत्रमा शीर्ष नेताहरूले मूल एजेन्डा रहेको पार्टीको विधानमा सहमति जुट्न नसकेको र सहमतिको प्रयास जारी रहेको भन्दै महासमिति सदस्यलाई आस्वस्थ पारेका छन् ।
बैठकमा बोल्ने क्रममा नेता अर्जुननरसिंह केसीले महासमितिको मूल एजेन्डाका रूपमा रहेको पार्टीको विधानका मूल मुद्दामा सहमति हुन बाँकी रहेको भन्दै महासमितिमा सहभागीलाई सोबारे जानकारी गराएका थिए ।
उनले विधानमा पदाधिकारी संख्याका विषयमा खास विवाद रहेको भन्दै सबै पदाधिकारी निर्वाचित गर्ने पक्षमा आवाज उठाउन महासमिति सदस्यहरूलाई आग्रह गरेका छन् ।
‘विधानको मूल विषयमा सहमति भएको छैन, सबै पदाधिकारी निर्वाचित हुने गरी विधान बनाउनुपर्छ, परिश्रम गरेर नेता बन्ने संस्कारको विकास गर्नका लागि पदाधिकारी निर्वाचित हुने व्यवस्था गर्न सबैले आवाज उठाऔं,’ बैठकको उद्घाटनमा धारणा राख्दै नेता केसीले भने ।

यस्तै विधान समितिका संयोजकसमेत रहेका महामन्त्री पूर्णबहादुर खड्काले समेत विधानका केही विषयमा सहमति हुन बाँकी रहेको भन्दै सहमति जुटाएर महासमिति सदस्यको हातमा ल्याइने जनाए ।
‘विधान मस्यौदामा केही काम अझै गर्न बाँकी छ, सहमतिको प्रयास भइरहेको छ, सहमति भएपछि सबै प्रतिनिधिको हातहातमा आउँछ,’ उनले धारणा राख्दै भने ।

विधान मस्यौदा नल्याई महासमिति सुरु गरेको भन्दै केही प्रतिनिधिले विधानको मस्यौदा सहमतिमा ल्याउनसमेत नेताहरूलाई आग्रह गरेका छन् । कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सहमति भएका दस्तावेज बन्दसत्रमा आउने र विधानको मस्यौदा सहमति भएपछि हातहातमा आउने भन्दा महासमिति सदस्यहरूले सहमति तत्काल गरेर ल्याउन भनेका हुन् । उनीहरूले पार्टीको गुटगत विवादका कारण विधानमा असहमति भएको भन्दै नेताहरूलाई महासमिति उद्घाटनमा नै दबाब दिएका हुन् ।
हाल कांग्रेस विधानमा पदाधिकारी बढाउने कि नबढाउने, बढाउँदा कति बढाउने र उनीहरूको चयन प्रक्रिया कस्तो रहने भन्ने मूल विवाद रहँदै आएको छ ।

यस्तै, सभापतिको अधिकार, मनोनीत प्रतिशत, केन्द्रीय समितिको आकार, पार्टी सदस्यताको प्रकार र विभिन्न विभाग तथा समितिहरूको गठन प्रक्रियाका विषयमा समेत विधानमा सहमति जुट्न बाँकी छ ।
सभापति निकट पक्ष विधानमा पदाधिकारी संख्या बढाउन तयार भएको छ । तर, सबै पदाधिकारी निर्वाचित नभएर केही मनोनीत हुनेगरी व्यवस्था गर्नुपर्ने अडानमा छ भने इतर पक्ष सबै निर्वाचित हुने व्यवस्था राख्नुपर्ने अडानमा छ । यस्तै, संस्थापन पक्ष सभापतिको मनोनीत अधिकार २५ प्रतिशतको अडानमा छ भने इतर पक्ष १५ प्रतिशत बढी नहुने पक्षमा छ ।
सहमहामन्त्री प्रकाशशरण महतका अनुसार शनिबार राति अबेरसम्म पनि विधानका विषयमा नेताहरूबीच सहमति भएको छैन ।
उनका अनुसार शनिबार राति नै बन्दसत्र भने सुरु भएको र उपसभापति विमलेन्द्र निधिले तयार पारेको राजनीतिक प्रस्ताव बन्दसत्रमा पेस भएको छ ।

मेरो गल्तीमा गाली गर्नुस् : देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीभित्र कमीकमजोरी थुप्रै रहेको भन्दै आफ्नो कमीकमजोरीमा गाली गर्न छुट रहेको बताएका छन् ।
उनले महासमिति बैठकमा बोल्ने अधिकांश नेताहरूले आफ्नो आलोचना गरेपछि आफ्नो विरोध गर्ने छुट सबैलाई भएको भन्दै आफू गाली सहेर पनि पहिले पहिलेजस्तो नेताहरूले पार्टी नै छाड्ने अवस्था आउन नदिने बताए ।
‘मेरो विरोध गर्ने छुट सबैलाई छ गर्नुस्, पहिलेपहिले किसुनजीले पार्टी छाडेजस्तो पार्टी नै छाड्नुपर्ने दिन आउन दिन्नँ,’ देउवाले भने ।
उनले पार्टीभित्र आफ्नो विरोध गर्नुभन्दा सरकारको कार्यशैलीको विरोध गर्न नेता कार्यकर्तालाई आग्रहसमेत गरे ।
‘मेरो विरोध त गर्न सधैं पाइन्छ, सरकारको कामको शैलीको पनि विरोध गरौं,’ देउवाले कार्यकर्तालाई भने ।
उनले सरकारको कामको शैलीको सरकारकै दल नेकपाका नेताहरूले विरोध गरेको तर आफ्ना नेताहरूले गर्नुपर्ने जति विरोध गर्न नसकेको भन्दै वर्तमान सरकारको खिलापमा बोल्न आग्रह गरेका हुन् ।

छिर्के हान्ने बानीले एकता गाह्रो भो : पौडेल

वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र आफ्नै नेताले आफ्नै नेतालाई छिर्के हान्ने प्रवृत्तिका कारण पार्टीभित्र सहमति र एकता हुन छाडेको र असहमति बढेको बताए ।
उनले आफूले पार्टीभित्र नेताहरूबीच ठोस एकता चाहेको भन्दै सिद्धान्त र व्यवहारबाट पार्टीलाई बलियो बनाउन ठोस रूपमा आन्तरिक एकता हुनुपर्नेमा जोड दिए ।
पार्टीका उपसभापति विजयकुमार गच्छदारले नेताहरूबीच आन्तरिक एकताको आवश्यकता औंल्याएपछि बोलेका पौडेलले गच्छदारको आग्रहलाई समेत व्यंग्य गर्न भ्याए । गच्छदारले बोल्ने क्रममा नेता पौडेल र सभापति देउवालाई उठेर हात मिलाएर एकताको सन्देश दिन भनेका थिए ।
‘अगुल्टाले हान्दा तर्सेको कुकुर बिजुली चम्किँदा तर्सिन्छ, विजयले भन्दा उठिनँ, विमलले समेत भन्यो अनि विश्वास गरेर उठेँ ।’
उनले थपे, ‘एकताको नारा जपेर मात्रै वास्तविक एकता हुँदैन, भावना मिल्नुपर्छ, इस्युमा सहमति खोजौं, मञ्चमा सहमति भन्ने तर हात उठाएर गएपछि फेरि छिर्के हान्ने, मैले धेरैपटक हात उठाएँ, सहमति ठोस रूपमा हुनुपर्छ, हात उठाएर हुँदैन,’ पौडेलले सभापति देउवालाई व्यंग्य गर्दै भने ।
उनले पार्टी संकटमा रहेको वर्तमान अवस्थामा पार्टीभित्र एकताको खाँचो रहेको तर असीमित भोगको चाहनाका कारण पार्टीभन्दा आफ्नो स्वार्थ हावी हुँदा सहमति जुट्न नसेको भन्दै एकताका लागि स्वार्थ त्याग्नुपर्ने जनाए ।

एकताको वाचा गर्नुस् : गच्छदार

महासमितिको उद्घाटन सत्रमा पार्टीभित्रको आन्तरिक एकता कमजोर हुँदा पार्टी कमजोर भएको भन्दै कांग्रेसका दोस्रो तहका नेताले शीर्ष नेतालाई आन्तरिक एकतामा जोड दिन सुझाएका छन् । उनीहरूले शीर्ष तहका नेताहरूलाई महासमितिबाटै एकताको सन्देश दिन आग्रह गरेका हुन् ।
हालै मात्र कांग्रेस उपसभापतिमा मनोनीत विजयकुमार गच्छदारले पार्टीभित्र नेताहरू गुटउपगुटमा विभाजित हुँदा ऐतिहासिक विरासत बोकेको पार्टी कमजोर भएको भन्दै नेताहरूलाई एक हुन आग्रह गरे ।
गच्छदारले पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई महासमिति सदस्यहरूबीच उठेर हात मिलाउँदै एक हुनेछौं भन्ने प्रतिबद्धता व्यक्त गर्न पटकपटक आग्रह गरेका थिए ।
गच्छदारले त्यसो भनिरहँदा देउवा अकमकिए, पटकपटकको गच्छदारको आग्रहपछि देउवा उठेर हात उठाए तर पौडेल उठेनन् । फेरि गच्छदारले वरिष्ठ नेता पौडेललाई आग्रह गरे तर पनि मानेनन् ।
त्यसपछि सँगै रहेका अर्का उपसभापति विमलेन्द्र निधि र महामन्त्री डा. शशांक कोइरालासमेतले आग्रह गरेपछि पौडेलले उठेर देउवासँगै हात उठाए ।

खुलेर आफ्ना कुरा राख्नुस् ः सिटौला
नेता कृष्णप्रसाद सिटौलाले भने आरोप प्रत्यारोपमा भन्दा महासमिति सदस्यहरूलाई बैठकमा खुलेर आफ्ना कुरा राख्न आग्रह गरेका छन् ।
उनले भने, ‘मन लागेको कुरा खुलेर बोल्नुहोस्, तपाईंहरू हामी बराबर हुनुहुन्छ ।’
उनले बैठकमा केन्द्रले एजेन्डा प्रस्तुत गर्ने र त्यसमा महासमिति सदस्यहरूले विचार दिनुपर्ने बताएका हुन् ।
सिटौलाले पार्टीलाई सुधार्न घरभित्रै राम्रोसँग सल्लाह हुनुपर्ने र महासमिति बैठकपछि एकताको सन्देश बोकेर फर्कनुपर्ने बताए ।
कांग्रेस पार्टी सुधार्नका लागि महासमिति सदस्यको सुझाव आवश्यक रहेको भन्दै निर्णय भएपछि विरोध गरेर समस्या समाधान नहुने सिटौलाले बताएका हुन् ।
निर्वाचनपछिको एक वर्ष कांग्रेसले खेर फालेको भन्दै सिटौलाले महासमिति सकेपछि पार्टीले अभियान लिएर गाउँगाउँ जानुपर्नेमा जोड दिए ।
उनले संविधानको सीमामा सरकार नभएको र सरकार निश्चित कम्युनिस्ट पार्टीको घेरामा रहेको समेत जनाए । वर्तमान अवस्थामा सरकारलाई सही बाटोमा हिँडाउने जिम्मेवारी कांग्रेसको रहेको उनले धारणा राख्ने क्रममा बताएका हुन् ।

(Visited 62 times, 1 visits today)
Loading comments...