मंगलवार ८ माघ, २०७५ (Tuesday, 22nd January 2019)
८ माघ, २०७५ (22 January 2019)

हिउँदको सास्ती

सुन्दरकुमार थकाली
3 weeks ago
29/12/2018

सुन्दरकुमार थकाली

मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेका स्थानीय याक पालक धनबहादुर गुरुङको २०७१ सालको हिम पहिरोले २४ याक मरे । हिमपहिरो जाने समयमा बेंसी झार्न ढिलाइ हुँदा उनका याक हिमपहिरोले पुरिएका हुन् ।
हिउँदमा उच्च लेक खर्कमा पालिएका याक तथा चौंरीको बथानलाई भारी हिमपातले दुःख दिन्छ । तर, गएका चार वर्षयता मुस्ताङमा हिमपहिरो गएको छैन । लेकका डाँडाकाँडामा अत्यधिक हावाहुरी चल्ने र हिमपात हुँदा हिमपहिरोको सम्भावना बढी हुन्छ । पछिल्लो समय याक पालक व्यवसायीलाई हिमपहिरोकै चिन्ताले सताउँछ ।

चार वर्षअघि मुस्ताङमा भारी हिमपात भयो । डाँडाकाँडा सेताम्मे भए, सडक अवरुद्ध भयो । त्यतिखेर गुरुङले दुई दर्जन याक गुमाउँदा करिब २० लाखको नोक्सान भयो ।  विगतको हिमपात स्मरण गर्दै उनले भने, ‘हेर्दा हेर्दै दुःख र मिहिनेतले हुर्काइएका याक हिमपहिरोले खायो । पछिल्लो वर्ष उति हिउँ पर्दैन । तैपनि, कति बेला के हुन्छ, भन्नैै सकिन्न । पछिल्ला वर्षमा हिउँ पर्नुअगावै गाउँबेंसी नजिकैको खर्कमा स्थान्तरण गर्ने गरेको छु ।’ तर, दैवीप्रकोप राहतकोषबाट कुनै सहयोग नपाएको उनको गुनासो छ । उनले उच्च लेकमा भएका याक हिमपहिरोबाट बचाउन पूर्वसतर्कता अपनाउन थालेको सुनाए । ‘हिमपातको वर्ष याक बेंसी झार्न ढिला गरियो । त्यही वर्ष हिउँको मुस्लै झरेर याक तथा चांैरी पुरिएर मरे,’ उनले विगत सम्झँदै भने, ‘जसको क्षति भयो, सकियो ।’ विगतमा भएको क्षति अन्य याक पालक किसानले समेत नपाएको उनले बताए ।

थासाङ गाउँपालिकाअन्तर्गतका टुकुचे, कोवाङ, खन्ती र लार्जुङका व्यवसायीले वर्षांैदेखि परम्परागत रूपमा याक पाल्दै आएका छन् । वडा–२ का स्थानीयले धौलागिरि याक पालक व्यवसायी समिति गठन गरेर संस्थागत रूपमा व्यवसाय अघि बढाएका छन् ।समुद्री सतहदेखि ८ हजार १ सय ६७ मिटर अग्लो उचाइमा अवस्थित धौलागिरि हिमालको मुलीखर्क फेदमा उनीहरूले याकगोठ बनाएका छन् । उनीहरूले करिब ५ सय याक पालेका छन् । हिउँद लागेपछि याकहरू सेकुङ खर्कमा झारिने याक व्यवसायी गौतम शेरचनको भनाइ छ । उनले त्यसो त, धौलागिरि याक पालक व्यवसायीले रगत बिक्री गर्न बर्सेनि वैशाखमा उच्च लेकका याक बोक्सीखोला झार्ने गरेको बताए ।

 

 

थासाº गाउ“पालिका अन्तर्गतका टुकुचे, कोवाº, खन्ती र लार्जुºका व्यवसायीले वर्षांैदेखि परम्परागत रुपमा याक पाल्दै
आएका छन्

 

थासाङ–१ टुकुचेमा तीन घरधुरीले याक पाल्दै आएका छन् । उनीहरूले करिब १५० याक पालेका छन् । बर्खामा याक व्यवस्थापन गर्न ४५ सय मिटर अग्लो उचाइको बतासे लेकको खुला चरन क्षेत्रमा गोठ खडा गरेका छन् । उच्च लेकमा पर्याप्त चरन क्षेत्र, उपयुक्त वातावरण, यार्सागुम्बा, जटामसी, पाँचआंैलेलगायतका वनस्पतिका कारण सन्तुलित बासस्थान बनाइएको याक व्यवसायी नगेन्द्र क्षत्री बताउँछन् । लेकमा बर्सेनि साउनमा चांैरी र याकको आलो रगत निकालिने उनले बताए । रोग निको हुने विश्वाससहित जिल्लाबाहिरका बिरामी बतासे लेक पुग्ने क्षत्रीले जनाए ।
जाडो छल्न र हिमपहिरोबाट जोगिन सुरक्षित बासस्थानका लागि याक तथा चांैरीहरू बेंसी झारिने गरेको क्षत्रीले सुनाए । ‘वर्षको नौ महिना उच्च लेकमै राख्छौं । त्यसपछि हिउँदका तीन महिना बेंसी झार्छौं,’ उनले भने ।

तर, जिल्लाको घरपझोङ गाउँपालिका–४ का भूपेन्द्र शेरचनले लेकमा हिमपहिरो जाने जोखिम नरहेको दाबी गरे । उनीसहित वीरबहादुर पुन र पेम्बा गुरुङका २ सय चौंरी र याक छन् । उनीहरूले पनि हिउँदका नौ महिना नमखुलेकमै याक पाल्छन् । बाँकी हिउँदका तीन महिना भने म्हुस लेकमै ल्याउने गरेका छन् । शेरचनले हिउँदमा उच्च लेकमा पानी जम्दा याकलाई पिउने पानी र याक हेर्ने गाठालोलाई समस्या हुने बताए । ‘याक हिमालमै पालिने जनावर हो तर हिउँकै कारण दुब्लाउने भएकाले बेंसी झार्छौं,’ शेरचनले भने, ‘याकलाई न्यानो र पारिलो स्थानमा ल्याउँछौं । जाडो थेग्न अन्डा, जाइफल, भेली, भीर मह, रक्सीलगायतका खानेकुरा खुवाउँछौं ।’

मनाङ र डोल्पामा पनि याक पालिन्छ । विशेष गरी डोल्पाका छार्का, डाँडागाउँलगायत आधा दर्जन गाउँका स्थानीयले याक पालनलाई मुख्य व्यवसायका रूपमा अपनाएको पाइन्छ । याकको मुख्य बासस्थान हिमालको फेदी भए पनि जाडोमा तीन जिल्लाका याक व्यवसायीले सहजता र याक संरक्षणका लागि बस्ती नजिक ल्याई पु¥याउँछन् । यसरी ल्याइएका याक तथा चांैरी फागुनमा साविककै चरन क्षेत्रमा लगिन्छ । डोल्पाका स्थानीयलेयाकसँगै यार्सा संकलन गर्छन् । यसरी याक पालन व्यवसाय र यार्सा बेचेर वर्ष दिनको गुजारा चलाउने गरेको डोल्पा छार्काका ग्याल्जेन गुरुङले बताए । उनले याक हुर्काउन १५ वर्ष लाग्ने जानकारी दिए । मनाङका उच्च लेकमा बस्ने स्थानीयले पनि याक पाल्ने गरेको पाइन्छ ।
मुस्ताङका लागि याकको आयात डोल्पाबाटै हुन्छ । हिउँदमा याक बिक्री गर्न डोल्पाका याक पालक व्यापारी जोमसोम आउने जोमसोमका स्थानीय लेकबहादुर गुरुङले बताए । उनले डोल्पाबाट जोमसोम ल्याइएका याकको मूल्य एक लाख रुपैयाँ
पर्ने बताए ।

 

(Visited 39 times, 1 visits today)