मंगलवार १२ चैत्र, २०७५ (Tuesday, 26th March 2019)
१२ चैत्र, २०७५ (26 March 2019)

शिक्षा सपना होइन, दियो

सम्पादकीय
3 months ago
03/01/2019

 

प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकाको मुहार खुसी देख्न चाहेका छन् । मंगलबार आयोजित ‘बालबालिकासँग प्रधानमन्त्री’ कार्यक्रममा उनले यो कुरा सार्वजनिक रूपमा अभिव्यक्त गरेका हुन् । यो निकै राम्रो कुरा हो । स्वाभाविकै हो, हरेकले बालबालिकाको मुहारमा खुसी देख्न चाहन्छन् । तर, एउटा साधारण मानिस र देशको प्रधानमन्त्रीले बालबालिकाको मुहारमा खुसी देख्न चाहेको कुरामा आकाश र पातालको फरक पर्न जान्छ । एउटा साधारण मानिसले बालबालिकाको मुहारमा खुसी देख्न चाहनु सायद भावनात्मक र शाब्दिक अर्थमा मात्र सीमित हुन जाला । तर, देशको प्रधानमन्त्रीले बालबालिकाका मुहारमा देख्न खोजेको खुसी भने समग्र देशकै नीति, योजना र कार्यक्रममा अभिव्यक्त हुनुपर्छ । प्रधानमन्त्रीले उक्त कार्यक्रममा आफ्ना विगतका राम्रा र खुसीका क्षणहरू सम्झँदै ती बालबालिकासँग आदानप्रदान गरे पनि । बालबालिकाले तोते बोलीमा आफ्ना भावना प्रधानमन्त्रीसँग साटे पनि । कुरा उस्तैउस्तै देखिए पनि फरक धेरै छ, प्रधानमन्त्रीले विगत साटे, बालबालिकाले मीठो भविष्यको परिकल्पना साटे ।

प्रधानमन्त्रीले वर्तमान खोतले, ‘मानिस भोकबाट मुक्त हुनुपर्छ, कठ्यांग्रिएर मर्ने अवस्था आउनुहुँदैन र समाज समतामूलक हुनुपर्छ, त्यस्तो अवस्थामा सबै नेपालीसँगै म पनि खुसी हुन्छु ।’ यो अभावको वर्तमानमा प्रधानमन्त्रीले बाँडेका कल्पनाका कोसेली मात्र हुन् । यी भनाइ र उनको दुई तिहाइ बहुमत प्राप्त सरकारको कार्यकारी हैसियत बीचमा ठूलो विरोधाभास देखा पर्दछ । उनले ती अबोध बालबालिकाका बीचमा हाम्रो सरकारले इन्जिनियरिङ, डाक्टरी, विज्ञान तथा अन्य प्राविधिक शिक्षालगायत सबैमा उच्च शिक्षा निःशुल्क पढ्ने व्यवस्था गर्छ वा गर्दै छ भन्न नै सकेनन् । प्रधानमन्त्रीज्यू † तपार्इंले उक्त भेटमा केही कुरा दिएझैं लाग्छ, जसले ती बालबालिकाको निर्दोष दूधे अनुहारमा ढकमक्क राता फूलहरू फूलेझैं साँच्चिकै खुसी देओस् ?

यी बालबालिका भविष्यका कर्णधार हुन् । यिनको अनुहारमा साच्चै नै खुसी देख्न र उज्ज्वल भविष्य चाहेको हो भने आजका युवाहरूलाई चस्मा लगाएर होइन, खाली आँखाले हेर्न सक्नुपर्छ । देशका योग्य, पढेलेखेका, दक्ष युवा अहिले खाडीलगायतका विदेशी भूमिमा जीवनमरणको संघर्ष गरिरहेका छन् । त्यो पनि एक छाक खान र एकसरो कपडाका लागि † यी युवालाई स्वदेशमा रोक्नका लागि न त रोजगारका नीति, योजना र कार्यक्रम छन्, न त प्रधानमन्त्रीले भेटेका बालबालिकाका लागि निःशुल्क उच्च शिक्षा स्वदेशमा भविष्यमै भए पनि रोजगारीको व्यवस्थाको ग्यारेन्टी गर्ने रणनीतिक कार्यक्रम नै । उल्टै युवाहरू सरकारले नै विदेश पठाएर रेमिट्यान्समा बाँच्ने आधार तयार पारिरहेको छ । प्रधानमन्त्रीज्यू † नेपालको समृद्धि र विकासका लागि आवश्यक हुने शिक्षा निःशुल्क गरी देशमा रोजगारीका तात्कालीन र रणनीतिक नीति, योजना र कार्यक्रम लागू गर्नूस्, बालबालिकका बीचमा तपार्इंले गरेको वाचा ती बालबालिकाकै भविष्यमा पूरा हुनेछ । बालबालिकालाई आश्वासन र सपना होइन, शिक्षाको दियो बालिदिनु जरुरी छ ।

(Visited 14 times, 1 visits today)
Loading comments...