सोमवार ६ श्रावण, २०७६ (Monday, 22nd July 2019)
६ श्रावण, २०७६ (22 July 2019)

पुनर्निर्माणमा विलम्ब

सम्पादकीय
7 months ago
04/01/2019

 

भूकम्प गएको ४४ महिना हुँदा समेत ललितपुर महानगरपालिकाको बुङ्मतीस्थित रातो मत्स्येन्द्रनाथ मन्दिरको पुनर्निर्माण हुन सकेको छैन । रातो मत्स्येन्द्रनाथको हालत यति खराब छ भने अन्य मठमन्दिरको हालत के होला ? १२ वैशाख २०७२ मा भूकम्प गएपछि नौ महिनापछि २ माघ २०७३ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले रानीपोखरीसँगै यो मन्दिरको पनि पुनर्निर्माण सुरु गरेका थिए । केपी शर्मा ओली दोस्रोपटक प्रधानमन्त्री बनेको पनि एक वर्ष पुग्न लाग्यो तर रातो मत्स्येन्द्रनाथ मन्दिरमा कुनै सुधार आएको छैन । आगामी मार्चसम्म पुनर्निर्माण सक्नुपर्ने भए पनि काम नसकिएका कारण सरकार ठेकेदारको म्याद थप्ने तयारीमा छ ।

कम्युनिस्ट नेताहरूले प्रयोग गरेको ‘दलाल पुँजीवाद’ पदावलीले अहिले निर्माण क्षेत्रमा महŒवपूर्ण हिस्सा पाएको छ । तिनै कम्युनिस्टहरू अहिले सरकारमा छन्, जो दलाल पुँजीवादलाई शब्दमा व्याख्या गर्दा घृणा गरे जस्तो गर्छन् तर व्यवहारमा दलाल पुँजीवादलाई सिद्धान्त जस्तो बनाइसके । निर्माणसँग सम्बन्धित कुनै पनि काम समयमा सकिएको रेकर्ड छैन । मठ, मन्दिर, धारा, कुलो, पुललगायत कुनै पनि भौतिक पूर्वाधारको काम समयमा सकिन्न । समयमा काम नसकेकै कारण ठेकेदार कम्पनी कारबाहीमा परेको विरलै सुनिन्छ । यदि कारबाहीमा परिहाले पनि त्यस्ता कारबाही फुकुवाका लागि सिंहदरबारबाटै पहल हुने गरेको छ । रातो मत्स्येन्द्रनाथमन्दिर निर्माणमा पनि सरकारले बेलैमा तदारुकता देखाएको वा समयमा काम नगर्ने ठेकेदारलाई कारबाही गर्ने हिम्मत गरेको भए यो स्थिति आउने थिएन । प्रसंग रातो मत्स्येन्द्रनाथ मन्दिर मात्रै होइन, भूकम्पमा ध्वस्त भएका अन्य ऐतिहासिक मठमन्दिरको पनि हालत उत्तिकै खराब छ ।

रातो मत्स्येन्द्रनाथ मन्दिरको पुनर्निर्माण किन ढिला भयो, यसमा बहस गर्नुको खास अर्थ छैन । यस्तै अन्य सम्पदा निर्माणमा थप ढिलाइ नहोस् भनेर बहस गर्ने हो भने कामयावी हुन सक्छ । कुनै पनि निर्माण आयोजनाको काम समयमै सम्पन्न नहुनेबित्तिकै सबैभन्दा पहिला ठेकेदारलाई दोष दिने चलन छ । तर, पृष्ठभूमि खोतल्ने प्रयास हुँदैन । समयमा काम गर्न नसक्नु ठेकेदारको कमजोरी त हो नै, काम ढिला गर्न प्रेरित गर्ने कर्मचारी र विभागीय मन्त्रीबारे भने खास कुरा हुन्न । समयमा निर्माण सम्पन्न नभएपछि ठेकेदार कम्पनीको म्याद थप्नुपर्छ । म्याद थप्ने बेलामा विभागीय मन्त्री र फाँटवाला कर्मचारीले ठेकेदारमार्फत खर्च असुल्छन् । त्यही परम्पराका कारण पनि निर्धारित समयावधि पछिसम्म काम गरिरहने प्रवृत्ति कायम छ । यदि समयमै काम सम्पन्न भयो भने विभागीय मन्त्री र कर्मचारीलाई खर्चपानीको व्यवस्था कसले गर्ने ? त्यसकारण पनि काममा विलम्ब हाम्रो मौलिक संस्कार बनिसकेको छ । यो संस्कार केवल भाषण गरेर रोकिन्न ।

(Visited 35 times, 1 visits today)
Loading comments...