शनिवार ९ चैत्र, २०७५ (Saturday, 23rd March 2019)
९ चैत्र, २०७५ (23 March 2019)

अर्गानिक बालीमा जोड

सम्पादकीय
3 months ago
07/01/2019

 

लामो समयदेखि अर्गानिक चिया खेतीको परिचय बनाउँदै आएको नेपालको पूर्वी पहाडी जिल्ला इलाम फेरि अकबरे खुर्सानीको अर्गानिक खेतीको नयाँ मोडल सुरु गरेर चर्चामा आएको छ । त्यहाँका स्थानीय किसान अकबरे खुर्सानीको अर्गानिक खेतीमा आकर्षित हुँदै गइरहेका छन् । इलामका लागि यो दोस्रो अर्गानिक नगदे बाली बन्न गएको छ । अकबरे खुर्सानी र काँक्रोलगायतका अन्य नगदेबालीको नमुना खेती गरिँदै आए पनि अकबरे खुर्सानीबाटै त्यहाँका किसानले बढी लाभ लिन थालेका छन् । त्यहाँको सूर्योदय नगरपालिकाले आफ्नो स्थानीय सीमा क्षेत्रलाई ‘अर्गानिक नगर’ भनेर घोषणा गरेको छ । यसले स्थानीय किसानलाई अर्गानिक खेतीतर्फ आकर्षित त गरेको छ नै थप यसले स्थानीय सरकार र जनसम्बन्धलाई जनजीविकाकै स्तरमा सहयोग पु¥याउने अवसरको सिर्जना पनि गरेको छ । यसले स्थानीय सरकारका कृषिसम्बन्धी कार्यक्रम स्थानीय जनताका कृषि उत्पादन गतिविधिसँग प्रत्यक्ष जोडेको छ । यसको क्षेत्र विस्तार हुँदै गएर हाल जिल्लाको सूर्योदय नगरपालिकासँगै इलाम नगरपालिका तथा माइजोगमाई र रोङ गाउँपालिकाका किसानका लागि अर्गानिक अकबरे खुर्सानीको उत्पादन एक भरपर्दो आयस्रोत बन्न पुगेको छ ।

चियापछि अर्को मोडलका रूपमा विकास गरिएको अर्गानिक अकबरे खुर्सानीका विविध परिकार बनाएर इलामेली किसानले बजारमा पठाउन थालेका छन् । यसले आफैं त नगदे बाली अकबरे, त्यसमा पनि विभिन्न परिकार र तिनका स्वाद ग्राहकका जिब्रोमा लगाइदिएपछि किसानको हातमा थप मुनाफा पनि पर्न गई आय स्तरमा वृद्धि हुन गएको छ । किसानको लगाव र आय आर्जन देखेपछि स्थानीय सहकारी बैंक पनि घरमै गएर किसानलाई सहुलियत ऋण प्रदान गर्ने प्रस्ताव राख्न थालेका छन् । यसले स्थानीय सहकारी सञ्चालनमा भरपर्दो आर्थिक आधार प्रदान गरेको छ भने किसानले घरैमा बसेर आफ्ना आर्थिक गर्जो टार्ने मौका पनि पाएका छन् । रासायनिक औषधि प्रयोग गरिएका कृषि उपज खाएर विभिन्न रोगका सिकार बनेका उपभोक्ताहरू पनि अब ढुक्क भएर आफूलाई चाहिए जति अर्गानिक सागपात, तरकारी तथा अन्य खाद्य पदार्थ लिन थालेका छन् । कृषकले यी उत्पादनमा लागेका रोग तथा कीरा नियन्त्रणका लागि तीतेपाती, नीमका पात, गाईको गहुँत, जरामा खरानीजस्ता अर्गानिक औषधि प्रयोग गरिरहेका छन् र उनीहरूले यसबाट अपेक्षित लाभ पनि हासिल गरिरहेका छन् ।

कृषिप्रधान देश नेपालका किसानले पूर्वी नेपालको एक जिल्लामा जनस्तरबाटै सुरु गरिएको यो नमुना अर्गानिक कृषि उत्पादनको तरिका अपनाएर धेरै आर्थिक लाभ लिन र आफ्ना समस्या समाधान गर्न सक्छन् । खेती गराइको तरिका उही हो तर विधि अर्गानिक अपनाउनुपर्छ । खेती गराइको यो तरिकाले देशैभरका किसानलाई कृषि पेसामा थप आकर्षित गर्नेछ । बिदेसिएका जनशक्तिका कारण बाँझा रहन गएका जमिनको पनि राम्रो सदुपयोग हुनेछ । हाल देशले बेहोरिरहेको शोधनान्तर घाटा यसबाट निकै कम गरी सन्तुलनमा ल्याउँदै नाफातिर लैजान मद्दत गर्नेछ । तर, यसका लागि सिंगो राज्यले संरक्षण लिनु जरुरी छ । कृषकलाई नयाँ र नगदे बाली उत्पादनमा आकर्षित गरी चाहिने जति अनुदान सहयोग र सहुलियत ब्याजमा ऋण उपलब्ध गराउनुपर्छ । सरकारले कृषि फार्म तथा संकलन केन्द्र निर्माण गरी कृषि उपज जिम्मा लिएर बजारसम्म पु¥याउन किसानलाई मद्दत गरी कृषि पेसामा सहयोग र आकर्षित गर्नुपर्छ । किसानलाई ठेकेदार र बिचौलियाको कालो छायाबाट मुक्त पार्नुपर्छ ।

(Visited 33 times, 1 visits today)
Loading comments...