बुधवार ९ माघ, २०७५ (Wednesday, 23rd January 2019)
९ माघ, २०७५ (23 January 2019)

पूर्वराष्ट्रपतिको सराहनीय कदम

सम्पादकीय
2 weeks ago
08/01/2019

 

पूर्वराष्ट्रपति रामवरण यादवले चिकित्सकीय सेवामा फर्कने बताएका छन् । लामो समय राजनीतिक जीवन बिताएर देशमा गणतन्त्र स्थापना भएपछि प्रथम राष्ट्रपति हुने अवसर पाएका उनी जनसेवामा प्रत्यक्ष जोडिन चाहेको देखिन्छन् । बीपी स्मृति सामुदायिक सहकारी अस्पतालमा उनले दैनिक एक घण्टा सेवा दिने सोच बनाएको सार्वजनिक गरेका छन् । अस्पतालको ११औं वार्षिक साधारण सभामा उनले यस्तो कुरा बताउँदा सर्वसाधरणमाझ कौतूहलता पैदा भएको छ । उनी सर्वसाधारणसँग सेवाभावका साथ जोडिने विषय चानचुने होइन । चाहना हुँदाहुँदै पनि उनी लगभग डेढ दशकदेखि राजनीतिक व्यस्तताले गर्दा चिकित्सकीय सेवामा संलग्न हुन नपाएका हुन् । तर, उनीभित्र रहेको जनसेवाको हुटहुटी भने अहिले एक
सराहनीय कदमका रूपमा अघि आएको छ । राजनीतिक कर्मीका साथै बीपी कोइरालाका निजी चिकित्सक भएर लामो समय काम गर्ने अवसर पाएका पूर्वराष्ट्रपति यादव आफ्ूले सेवा दिन सक्नेमा ढुक्क देखिन्छन् । प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको नाममा स्थापित सो अस्पतालले देशैभर सेवा दिन सक्नुपर्नेमा पनि उनले जोड दिएका छन् ।

नेपालमा प्रधानमन्त्री वा राष्ट्रपति हुनु भनेको ठूलो मान्छे हुनु हो र निवृत्त भइसकेपछि अन्य काम गर्नुहुँदैन भन्ने मानसिकता नेपाली राजनीतिक वृत्तमा निकै हावी भएको छ । लामो समय जिउँदा पनि ‘ठूला मानिसहरू’ जनसेवामा जोडिएको इतिहास नेपालमा विरलै छ । उनीहरूले आफ्ना अनुभव र ज्ञान समाजसेवामा लगाएको पाइँदैन । बरु आफ्नै घरमा काम गर्ने गरेको, पार्टी प्यालेस धाउने गरेको र थप कमाउ धन्दामा लाग्ने गरेको पाइन्छ । पछिल्लो चरणमा आएर त पूर्वप्रधानमन्त्रीले राजा र राणाकालीन प्रधानमन्त्री जतिको इज्जत राख्न पनि निकै कठिनाइ परेको देखिएको छ । विदेशमा हे¥यौं भने पूर्वप्रधानमन्त्री र राष्ट्रपति समाजसेवामा निकै तल्लीन भएर लागेको देखिन्छ । अमेरिकी पूर्वराष्ट्रपतिहरू या त ट्रस्ट खोलेर जनसेवामा लागेका देखिन्छन् या त विश्वविद्यालयमा प्राध्यापन गरिरहेका पाइन्छन् ।

उनीहरूको ज्ञान र सिप जनताबीच बाँडौं भन्ने रहेको देखिन्छ । देश र जनताका लागि केही न केही सकारात्मक योगदान गरौं भनेर लागिपरेका हुन्छन् । यो भनेको देशका नेता र नेतृत्वलाई आमजनता र माटोसँग जोडेर सकारात्मक भावना जगाउँदै नयाँ पुस्तालाई निरन्तर उत्प्रेरित गर्ने कार्य पनि हो ।
आफूमा रहेको सिप र क्षमता लगानी गरेर सेवा गर्दै जाने पूर्वराष्ट्रपति रामवरण यादवको सोच सबैका लागि प्रेरणा र ऊर्जाको स्रोत हो । उनका जनसेवी हात र मानवीय भावनाबाट धेरै नेपालीले स्वास्थ्य सेवा पाएर थप स्वस्थ जीवन जिउँदै आभारी हुने मौका पाउनेछन् । उनको कदम सबै नेपालीका लागि अनुकरणीय बन्नेछ ।

(Visited 88 times, 1 visits today)