शनिवार ४ श्रावण, २०७६ (Saturday, 20th July 2019)
४ श्रावण, २०७६ (20 July 2019)

बीपी संग्रहालय र पुष्पलालको जन्मघर संरक्षणको ध्यानाकर्षण

राजधानी समाचारदाता
6 months ago
10/01/2019

 

 

काठमाडौं  । राष्ट्रिय सभाको आजको बैठकमा पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको संग्रहालय र नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको जन्मघरको संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।

बैठकको विशेष समयमा सांसद दीनानाथ शर्माले सुन्दरीजलमा रहेको विश्वेश्वरप्रसाद कोइरालाको संग्रहालय कुनै व्यवस्थित नभएको र पुष्पलालको जन्मस्थल रामेछापको भँगेरीमा रहेको घरसमेत भूकम्पले भत्किएपछि पुनर्निर्माण हुन नसकेको प्रति सरकारको ध्यानाकर्षण गराए ।

सांसद शर्माले जननेता पुष्पलालको भत्किएको घर निर्माण गरी संग्रहालयका रूपमा विकास गर्नुपर्नेमा त्यस विषयमा सरकारले कुनै पनि ध्यान नदिएकोमा त्यहाँका बासिन्दा दुःखी रहेको आफूले पाएको सुनाए ।

चित्रकारले कुँदेको पुष्पलाल र शहीद गंगालाल श्रेष्ठको चित्र त्यत्तिकै भुइँमा राखिएको हुँदा पुष्पलालजस्तो नेतालाई सबैभन्दा ठूलो उपेक्षा भएको आफूले महसुस गरेको हुँदा राज्यले महŒवपूर्ण व्यक्तित्वको संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिए ।

सांसद रमेशजंग रायमाझीले वाइडबडी विमान खरिदमा दोषी ठहर भएका व्यक्तिविरुद्ध अख्तियारलाई कारबाही गर्नका लागि मन्त्रीले पदबाट राजीनामा दिनुपर्ने माग गर्दै नेपाल एयरलाइन्स डुबाउन ५६ अर्ब ऋण रहेको हुँदा त्यसतर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिए ।

सो विमान खरिद गर्न सञ्चयकोष र नागरिक लगानीकोषको पैसा दुरुपयोग हुने अवस्था रहेको उल्लेख गर्दै उनले भ्रष्टाचार कार्यले मन्त्रीको मात्र नभई संसद् र सार्वजनिक लेखा समितिको शिर निहुरिएको बताए । सांसद धनकुमारी खतिवडाले रेशमलाल चौधरीलाई शपथ गराउँदा कार्यपालिका र न्यायपालिका चुकेको उल्लेख गरे ।

सांसद रामलखन चमारले तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले शिक्षामा एमबीबीएस पढाउने गरिब विद्यार्थीलाई निःशुल्क पढ्ने व्यवस्था बजेटमा मिलाएको भए पनि कार्यविधि नहुँदा चमार, मुसहर, बादीजस्ता गरिब परिवारका विद्यार्थीले पढ्न नपाएको प्रति सरकारको ध्यानाकर्षण गराए ।

सांसद रामनारायण बिडारीले मकवानपुर जिल्लाको कुलेखानी ताल भूकम्पका कारण निकै खतरामा परेको हुँदा संरक्षण गर्र्नुपर्ने र सिस्नेरी, कुलेखानी तथा अन्य जलाधार क्षेत्रको संरक्षणमा पनि सरकारले ध्यान दिनुपर्नेमा जोड दिए ।

सांसद खिमलाल भट्टराईले भ्रष्टाचारलाई शून्यमा पु¥याउनुपर्ने र सरकारका सकारात्मक गतिविधिलाई नकारात्मक ढंगले प्रस्तुत गर्नुभन्दा पनि जनतामा आशा जगाउनुपर्ने बताए ।

सांसद प्रमिला कुमारीले प्रदेश सेवा आयोगमा हुने समितिमा महिला सहभागिता र मानव विकास सूचांकमा पछाडि परेकाको सहभागिता हुनुपर्ने माग गरे । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसदमा उठेका सवाललाई पाँच दिनभित्र सदनलाई जानकारी गराउन सरकारलाई निर्देशन दिए ।

 

प्रस्ताव सर्वसम्मत

राष्ट्रिय सभाको बैठकले ‘प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत भएको छ ।

राष्ट्रिय सभाको बुधबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । राष्ट्रिय सभाको अर्को बैठक आगामी २ माघ बुधबार १ बजे बस्नेछ ।

 

(Visited 18 times, 1 visits today)
Loading comments...