बिहिवार ५ आषाढ, २०७६ (Thursday, 20th June 2019)
५ आषाढ, २०७६ (20 June 2019)

च्यासलको फराकिलो जित

दीपक ओली
5 months ago
11/01/2019

 

धनगढी। विदेशी खेलाडी अर्मान्ड मोएनको ह्याट्रिक प्रेरित खेलमा ललितपुरको भ्याली च्यासल युथ क्लबले तेस्रो नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकपमा भारतको दिल्ली फुटबल क्लबमाथि फराकिलो जित दर्ता गरेको छ ।

प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा हर्मान्डको ह्याट्रिक मद्दतमा च्यासलले दिल्ली फुटबल क्लबलाई ६–० को फराकिलो अन्तरले पराजित गरेको हो । च्यासलका सन्जोक राई, हेमन्त थापा मगर र सन्तबहादुर गुरुङले समान १–१ गोल थपे ।

धनगढी रंगशालामा सुरुवातदेखि नै दिल्लीमाथि आक्रमक फुटबल खेलेको च्यासलले १४औं मिनेटमा सन्जोक राईको गोलबाट अग्रता बनाएको थियो । विदेशी खेलाडी एल्भिसको पासमा सन्जोक राईले सहजै गोल गरेका थिए । ३१औं मिनेटमा हेमन्त थापा मगरले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहार क्रसबारको भित्री भागमा लाग्दै गोलमा परिणत भयो । ४०औं मिनेटमा सन्जोग राईको लामो पासलाई नियन्त्रणमा लिँदै अर्मान्डले पेनाल्टी क्षेत्रभित्रबाट गरेको शक्तिशाली प्रहारलाई दिल्लीका गोलरक्षक मन्दिपले बचाउन नसक्दा च्यासलले पहिलो हाफमा ३–० को आरामदायी अग्रता बनायो । दोस्रो हाफमा पनि च्यासलले सुरुवातदेखि दबाब कायम राख्यो । ६१औं मिनेटमा अर्मान्ड मोएनले योगेश गुरुङको पासलाई सदुपयोग गर्दै च्यासललाई ४–० ले अघि बढनए । ७३औं मिनेटमा अर्मान्डले प्रहार गरेको फितलो प्रहार गोलरक्षकले रोक्न नसक्दा च्यासल ५–० ले अघि बढ्दा अर्मान्डले ह्याट्रिक पूरा गरे । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा सन्तबहादुर गुरुङले गोल गर्दै च्यासललाई ६–० को फराकलो जित दिलाए । खेलको आरके कन्सट्रक्सन ‘म्यान अफ दि म्याच’ बनेका अर्मान्डले १० हजार रुपैयाँ प्राप्त गरे ।

यससँगै च्यासलले प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ । च्यासलले अब रुस्लान थ्रीस्टारको सामना गर्नेछ । विजयी टोलीका प्रशिक्षक राजुकाजी शाक्यले नयाँ मैदान भए पनि डेब्यु गरेका फरवार्डले उत्कृष्ट प्रदर्शन गरेपछि जित सम्भव भएको बताए । पराजित टोलीका प्रशिक्षक बीएस मेहेराले पहिलो रोजाइका ६ खेलाडी भारतमा व्यस्त भएको हुँदा सोचेअनुरूप खेल्न नसक्दा फराकिलो हार बेहोर्न पुगेको बताए ।

 

 

(Visited 11 times, 1 visits today)
Loading comments...