बिहिवार ५ आषाढ, २०७६ (Thursday, 20th June 2019)
५ आषाढ, २०७६ (20 June 2019)

अभिनेता बिपिनको गाई पाल्ने चाहना

राजधानी समाचारदाता
5 months ago
11/01/2019

 

काठमाडौं । आफ्नो बाल्यकाल गाई गोरुको स्याहारमै बितेकाले गाई पाल्ने चाहना अझै नसकिएको अभिनेता बिपिन कार्कीले बताएका छन् । बिहीबार काठमाडौंमा चलचित्र ‘गोपी’ बारे सञ्चारकर्मीसँगको भेटमा उनले यस्तो भनाइ राखेका हुन् ।

‘बाल्यकालमा घाँस काटेर, गाईलाई खुवाएपछि स्कुल जान्थें । स्कुल जाँदा गाईको दूध पसलमा बेच्ने गरेकाले पनि मेरो जीवनमा गाईसँग आफ्नै प्रकारको सामीप्यता छ ।’ उनले अगाडि थपे, ‘चलचित्र गोपीमा गाई फार्म सञ्चालन गरेको भूमिका निर्वाह गर्दै फेरि गाईसँग मेरो निकटता बढेको छ र भोलि चलचित्रबाट अवकाश जीवनमा गाई पाल्ने चाहना छ ।’

दीपेन्द्र लामाले निर्देशन गरेको चलचित्र गोपीमा आफूले नेपालमै केही काम गरौं भनेर गाई पालनमा लागेको एउटा युवाको भूमिका निर्वाह गरेको पनि अभिनेता कार्कीले बताए । चलचित्रको आलेख राम्रो भएकै कारण तीन घण्टामा स्क्रिप्ट पढेर आफू भोलिपल्टैदेखि छायांकनमा गएको पनि उनले बताए । चलचित्रमा मानिस र गाईबीचको आत्मीयता दर्शकले देख्न पाउने पनि बिपिनले बताए । ‘मैले यसअघि जनावरसँग चलचित्रमा काम गरेको थिइनँ । यसपटक गाईसँग लामो समय काम गर्दा निकै रमाइलो लाग्यो ।’ बिपिनले भने, ‘गाई र बाच्छा बाच्छीको समय र उनीहरूको मुडमा काम गर्दा सुरुमा केही अप्ठेरो भए पनि पछि बानी परियो ।’

गोपीमा यसअघि खगेन्द्र लामिछाने थिए । सुटिङ हुनुभन्दा पाँच दिनअघि लामिछानेले यो चलचित्र छाडेपछि अन्तिम घडीमा अनुबन्धित भएर बिपिन छायांकनमा गएका थिए ।

 

 

(Visited 52 times, 1 visits today)
Loading comments...