शनिवार ९ चैत्र, २०७५ (Saturday, 23rd March 2019)
९ चैत्र, २०७५ (23 March 2019)

माघे संक्रान्तिलाई चौका दाउसँगै भिलेन

राजधानी समाचारदाता
2 months ago
11/01/2019

 

काठमाडौं । दसैं, तिहार र नयाँ वर्षपछि माघे संक्रान्ति पनि नेपाली चलचित्र चल्ने चाड मानिन्छ । विगतमा माघे संक्रान्तिमा चारवटासम्म नेपाली चलचित्र रिलिज हुने गरेका थिए । तर, यसपटक दुईवटा म निर्देशित माघे संक्रान्तिको अवसर पारेर चलचित्र ‘चौका दाउ’ शुक्रबारबाट मुलुकभर सात दर्जनभन्दा बढी सिनेमा हलमा प्रदर्शन हुने भएको छ । पुर्णेन्दु झा निर्देशित सामाजिक कथामा आधारित हास्यप्रधान चलचित्र चौका दाउसँगै देवेन्द्र पाण्डे निर्देशित एक्सन प्रधान सिनेमा ‘भिलेन’ पनि शुक्रबारबाट रिलिज हुने भएको छ ।

चलचित्र चौका दाउका परिकल्पनाकार, कथाकार एवं संगीतकार शम्भुजीत बासकोटा हुन् । काठमाडौं र मोफसलका मल्टिप्लेक्ससँगै सिंगल थिएटरमा पनि आफ्नो चलचित्र प्रदर्शन हुन लागेको उनले बताए । उनले भने, ‘माघे संक्रान्ति हामी सबैको एउटा महŒवपूर्ण पर्व भएकाले यसको शुभकामनास्वरूप चौका दाउ रिलिज गरेका हौं । यो चलचित्रले दर्शकलाई दुई घण्टासम्म हँसाउने पक्का छ ।’

यो चलचित्रलाई काठमाडौंमा केबी चलचित्र र मोफसलमा एफडीले वितरण गर्दैछ । चलचित्रलाई काठमाडौंमा पनि राम्रो सो दिइएको वितरक गोपाल कायस्थले बताएका छन् ।

निर्देशक पुर्णेन्दु झाले चौका दाउ निर्देशन गरेका हुन् । झाका अनुसार यो चलचित्रमा चार चौकाका रूपमा सन्तोष पन्त, रवीन्द्र झा, विल्सनविक्रम राई, तैयव शाह छन् । पाँचौं चौकाका रूपमा अजश्र ढुंगानालाई देख्न पाइन्छ । चलचित्रकी एक मात्र ‘मिस्सी’का रूपमा वर्षा राउत प्रस्तुत भएकी छन् । अन्य कलाकारमा निर्मल शर्मा, श्याम राई, रमेश अधिकारी, शिवशंकर रिजाललगायत छन् ।

सौर्यजीत बासकोटा र मनोज राजभण्डारीले निर्माण गरेको यो चलचित्रलाई यो चलचित्रको दुई गीत ‘राधा पियारी…’ र ‘मेरो माया कतारमा…’ चर्चामा छ । दीर्घ गुरुङले खिचेको यो चलचित्रमा मित्रदेव गुरुङको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, सुवास काफ्लेको निर्माण व्यवस्थापन छ । चौका दाउमा वसन्त श्रेष्ठ र भीमफेदी गाईजको नृत्य निर्देशन, अभिमन्यु निरवीको लेखन रहेको छ ।

यसका निर्देशक पुर्णेन्दु झाले चलचित्रको कथावस्तुबारे राजधानीसँग भने, ‘प्रौढदेखि तन्नेरी पुस्तासम्मका युवायुवतीप्रतिको आकर्षण र त्यसले निम्त्याउने परिणाममा यो चलचित्र केन्द्रित  छ । यो चलचित्र पारिवारिक तथा सामाजिक कथामा आधारित रहेको छ ।’

यस्तै, मधेसको राजनीतिमा आधारित चलचित्र भिलेन पनि माघी तथा माघे संक्रान्तिको अवसर पारेर रिलिज गरिएको यसका निर्देशक पाण्डेले बताएका छन् । यो चलचित्रमा निखिल उप्रेती र शिल्पा पोखरेल, निशा अधिकारी, कपिल खत्रीसहितका कलाकारको अभिनय छ ।

यो चलचित्रमा निखिल उप्रेतीलाई अन्तरजातीय प्रेममा संघर्ष गरेको देखाइएको छ । यो चलचित्रबाट आफू निकै आशावादी रहेको अभिनेत्री शिल्पाको कथन छ । यसमा निखिल तथा अन्यलाई भन्दा पनि समय, समाज र परम्परालाई प्रेमको भिलेनका रूपमा देखाइएको पनि शिल्पाले बताएकी छन् ।

भिलेनमा दीपक श्रेष्ठ र सुरज खड्का कार्यकारी निर्माता हुन् । यसका कलाकार कपिल खत्रीको समेत लगानी रहेको यो चलचित्रका अर्का निर्माता बादाबहादुर श्रेष्ठ हुन् ।

 

(Visited 30 times, 1 visits today)
Loading comments...