शनिवार ४ श्रावण, २०७६ (Saturday, 20th July 2019)
४ श्रावण, २०७६ (20 July 2019)

 ‘सरकारी विद्यालयलाई निजी विद्यालयसँग प्रतिस्पर्धी बनाउनुपर्छ’

राजधानी समाचारदाता
6 months ago
11/01/2019

 

 

 

मोरङ।  प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले सरकारी विद्यालयलाई निजीसँग प्रतिस्पर्धा गर्न सक्ने बनाउनुपर्ने बताएका छन् । बिहीबार विराटनगर–५ स्थित एभरेस्ट बोर्डिङ स्कुलले रजत जयन्तीको अवसर पारेर आयोजना गरेको वार्षिक खेलकुद सप्ताहको उद्घाटन गर्दै यस्तो बताएका हुन् । पछिल्लो समय शिक्षामा एकरूपता ल्याउन भइरहेका प्रयास र उठिरहेका आवाजका सन्दर्भमा मन्त्री कार्कीले निजी विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा जोड दिएका हुन् ।

शिक्षामा एकरूपता कायम गर्न राज्यले आयोग बनाएर विज्ञसँग विभिन्न छलफल गरेर निष्कर्ष निकाल्ने तयारी गरिरहेको भन्दै उनले यसमा संघीय सरकारले कस्तो निष्कर्ष निकाल्छ त्यसलाई भने पर्खिनुपर्ने बताए । यद्यपि राज्यको सम्पूर्ण लगानी भएका विद्यालय र राज्यको कानुनतः सञ्चालन भएका निजी विद्यालयको गुणस्तरमा आकाश जमिनको भिन्नता देखिएकाले त्यसको दुरी कम गर्नुपर्नेमा जोड दिए ।

अहिले नै राज्यले सबै निजी क्षेत्रका विद्यालयलाई सरकारी विद्यालयका रूपमा रूपान्तरण गर्ने स्थिति नरहेको तर्क गरेका मन्त्री कार्कीले भने, ‘यसो गर्न कानुनतः र आर्थिक लगानीको हिसाबले पनि हामी सम्भव देखिरहेका छैनौं ।’ राज्यले सम्पूर्ण लगानी भएका विद्यालयको शिक्षामा स्तरीयता, गुणस्तरीय उत्पादन, प्रतिस्पर्धी बनाउन सके मात्र क्रमशः शिक्षामा निजी क्षेत्रको लगानी घट्दै जाने बताए । यस्तै मन्त्री कार्कीले एभरेस्ट स्कुलले २५ वर्षमा शैक्षिक गुणस्तर कायम गर्न खेलेको भूमिकाको प्रशंशा गरे ।

कार्यक्रममा विद्यालयका अध्यक्ष विनोद ढकालले विद्यालयको प्रगतिमा अभिभावकको विश्वास, विद्यार्थीको मेहनत र शिक्षक कर्मचारीको लगनशीलताले मात्र भएको बताए । सञ्चालकहरूले व्यवस्थापन कुशलतापूर्वक गरे पनि एभरेस्टलाई यो उचाइमा पु¥याउन अभिभावकको महŒवपूर्ण लगानी र विश्वास रहेको बताए । उनले अभिभावकको विश्वासलाई आत्मसाथ गर्दै एभरेस्टले समयसापेक्ष शिक्षा प्रदान गर्दै आएको बताए । विद्यालयका प्राचार्य टीकाराम पुरीले विद्यालय शिक्षाको गुणस्तरलाई कायम राख्दै अब शैक्षिक ज्ञानलाई प्रविधि र सीपसँग जोडेर अघि बढ्ने बताए । उनले भने, ‘आजको शिक्षा एउटा देशका लागि मात्र नभई सिंगो विश्वका लागि हुनुपर्छ, हामी त्यस्तै शिक्षा प्रदान गर्ने जमर्को गरिरहेका छौं ।’ हाम्रा उत्पादन विदेशमा बिक्नुपर्छ भन्ने नभई विश्वस्तरीय शिक्षा यहाँ पनि हुनुपर्छ र समृद्ध नेपाल बनाउन भूमिका खेल्न सक्ने हुनुपर्छ भन्ने रहेको प्रिन्सिपल पुरीले बताए । त्यसकै लागि अंग्रेजी माध्यमको विद्यालय भए पनि आफ्नो संस्कृति र नैतिकताका सवालमा विद्यालयले जोड दिँदै आएको बताए । हामी चाहन्छौं हाम्रा विद्यार्थीहरूको सर्वांगीण विकास होस्, यसका लागि पनि खेलकुदका विभिन्न कार्यक्रम र प्रतिस्पर्धाको आयोजना गरिएको उनले प्रस्ट्याए ।

(Visited 20 times, 1 visits today)
Loading comments...