शनिवार ४ श्रावण, २०७६ (Saturday, 20th July 2019)
४ श्रावण, २०७६ (20 July 2019)

जनताका घरआँगनमा नगर प्रमुखको एक दिन

सुदीप अधिकारी
6 months ago
11/01/2019

 

बर्दिया । चुनाव जिताएर पठाएपछि नगर प्रमुखसँग प्रत्यक्ष कुराकानी गर्न नपाएकी ठाकुरबाबा नगरपालिका –४ मुक्तकमैया बस्तीकी जानकी थारूले एकाबिहानै नगरका प्रमुखलाई आफ्नै आँगनमा देखेपछि दंग परिन् । आफ्नै दैलोमा टुप्लुक्क देखिएका नगर प्रमुखलाई अभिवादन गरी आँगनमा बस्नका लागि गुन्द्री ओछ्याउँदै उनले भनिन्, ‘बस्नुहोस् मेयर साब । बस्तीमै आउनुभयो । खुसी लाग्यो । अब बल्ल विस्तारले मुक्तकमैया बस्तीका कुरा राख्न पाइने भइयो ।’

जनताका आँगनमा पुगेका ठाकुरबाबा नगरपालिका नगर प्रमुख घननारायण श्रेष्ठले अभिवादन फर्काउँदै भने, ‘तपाईंहरूका बस्तीका कुरा सुन्नै भनेर आएको नि । तपाईंहरूका गुनासा, समस्या र सुझाव पनि सुन्छु । नगरका योजना पनि सुनाउँछु ।’ एकैछिनमा गाउँका चौकिदारले बस्तीमा नगर प्रमुख आएको हल्ला पिटाए । बस्तीमै नगर प्रमुख आएको थाहा पाएपछि मुक्तकमैया तथा सुकुम्बासी बस्तीका जनता नगर प्रमुखलाई बस्तीका समस्या सुनाउन र नगर प्रमुखका कुरा सुन्न जानकीको घरमा भेला भए । बस्तीका सबै भेला भएपछि नगर प्रमुखले सबैलाई अभिवादन गर्दै एकाबिहानै बस्तीमा आउनुको कारण सुनाउँदै भने, ‘चुनावका बेला तपाईंहरूसँग केही वाचा गरेका थिए । बस्तीका समस्या सुन्छु भनेको थिएँ । बस्तीको विकास गर्छु भनेको थिएँ । चुनाव जितेपछि अब वाचा पूरा गर्ने बेला आएको छ । तपाईंका कुरा सुन्ने बेला आएको छ । विकास गर्ने बेला भएको छ । त्यसैले, तपाईंहरूसामु आएको हुँ ।

ठाकुरबाबा नगरपालिका नगर प्रमुख घननारायण श्रेष्ठ ‘जनताको घर आँगनमा एक दिन’ भन्ने अभियानअन्तर्गत वडा नम्बर ४ को मुक्तकमैया तथा सुकुम्बासी बस्ती लसिउरा फाँटामा पुगेका हुन् । सातामा एकपटक एउटा गाउँ टोलमा पुगेर जनताका समस्या बुझ्ने र नगरका योजना सुनाउने उनले अभियान सुरु गरेका छन् ।

जनताको आँगनमा एक दिन अभियानका क्रममा सुकुम्बासी बस्ती पुगेका नगर प्रमुखले आफूसँगै रहेका वडा नम्बर ४ का वडाध्यक्ष शेरबहादुर थारूलाई गत वर्ष वडामा सम्पन्न भएका योजना र यस वर्ष सञ्चालन हुने योजना बस्तीका जनतासामु सुनाउन लगाए । वडाध्यक्ष थारूले गत वर्ष वडामा भएका काम सुनाए । केही अधुरा काम यस वर्ष पूरा गर्ने प्रतिबद्धता गर्दै वडाध्यक्षले बस्तीका जनतासामु यस वर्ष वडामा आएका योजना र बजेट सुनाए । वडाध्यक्षले यस आर्थिक वर्षमा वडामा ५४ लाख ८५ हजार रुपैयाँको योजना छनोट भएको सुनाए । यो योजनाअन्तर्गत केही काम सम्पन्न भइसकेको र केही काम सुरुवात गर्ने तयारी भएकाले योजना सम्पन्न गर्न सबैले सहयोग गर्न वडाध्यक्षले आग्रह गरे । शिक्षा, स्वास्थ्य, कृषि, सडक स्तरोन्नति, कलभर्ट निर्माण, युवा स्वरोजगारलगायएतका विभिन्न योजनाहरू वडाबाट सञ्चालन भएको उनले जानकारी दिए ।

वडाध्यक्षले वडाको योजना सुनाएपछि मुक्तकमैया तथा सुकुम्बासी बस्तीकी जानकी थारूले नगरप्रमुखसामु आफूहरूको बासको ठेगान नभएको गुनासो सुनाइन् । वर्षौंदेखि बस्तीमा बस्दै आएका अधिकाशंको लालपुर्जा नभएको हुँदा यो समस्या समाधान गर्न नगरप्रमुखलाई आग्रह गरिन् । बस्तीका धनसिंह विकले बाटो फराकिलो हुनुपर्ने, निकुञ्ज छेउमै बस्ती भएकाले जंगली जनावरको सधैं डर हुने भएकाले निकुञ्जमा पर्खाल निमार्ण गरिनुपर्नेलगायतका समस्या नगरप्रमुखसामु राखे । स्थानीय कोकिला परियारले जनता आवास कार्यक्रमअन्तर्गत निर्माण भइरहेको घरमा ठेकेदारले कमसल सामग्री प्रयोग गरेको भन्दै नगरप्रमुखको ध्यानाकर्षण गराइन् ।

करिब एक घण्टा बस्तीका समस्या र गुनासा सुनेपछि नगरप्रमुख घननारायण श्रेष्ठले कानुनी जटिलताका कारण सुकुम्बासी तथा मुक्तकमैयालाई लालपुर्जा वितरण गर्न नसकिएको प्रस्ट पारे । उनले भने, ‘संघीय कानुन बनेलगत्तै स्थानीय सरकारले लालपुर्जाको समस्या समाधान गर्नेछ ।’ नगरप्रमुखले बस्तीका जनताका सामु नगरपालिकाले शिक्षा, स्वास्थ्य, सरसफाइ, कृषि, युवा स्वरोजगार, सडक कालोपत्रेलगायतका नगरका विभिन्न योजनाहरू सुनाए ।

 

(Visited 28 times, 1 visits today)
Loading comments...