मंगलवार ८ माघ, २०७५ (Tuesday, 22nd January 2019)
८ माघ, २०७५ (22 January 2019)

सकसमा नेविसंघ, दोस्रोपटक थपिएको म्यादसमेत सकिँदै, पदाधिकारी भन्छन्– ‘हामी नै महाधिवेशन गर्छौं

महेश्वर गौतम
2 weeks ago
11/01/2019

काठमाडौं ।  नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको दोस्रोपटक थपिएको म्यादसमेत सकिन लागेको छ ।
२ माघसम्मका लागि भन्दै दोस्रोपटक थपिएको म्यादसमेत सकिन लाग्दा माउ पार्टी कांग्रेस भ्रातृ संगठन नेविसंघको वर्तमान कार्यसमिति विघटन गर्ने कि फेरि म्याद थपेर महाधिवेशन उन्मुख भएको वर्तमान कार्यसमितिलाई तंग्राउने भन्ने अवस्थामा पुगेको छ ।
१२औं महाधिवेशन सम्पन्न गर्न भन्दै माउ पार्टी कांग्रेसले नेविसंघको वर्तमान कार्यसमितिलाई गत २ मंसिरमा दुई महिनाको समय थप गरेर २ माघसम्मको समय दिएको थियो ।
वर्तमान कार्य समितिमा रहेका नेविसंघका पदाधिकारी भने निर्वाचित कार्यसमितिले नै १२औं महाधिवेशन गर्ने बताउँछन् ।
नेविसंघ अध्यक्ष नैनसिंह महरले पार्टीको महासमिति बैठक, जाडो बिदालगायतका कारण तोकिएको समयभित्र जिल्ला अधिवेशन सम्पन्न गर्न नसकिएकाले केही समय थप गरेरै भए पनि पार्टीले निर्वाचित कार्यसमितिद्वारा नै महाधिवेशन गर्ने संकेत गरे ।

‘अहिले ¥यापिड्ली अधिवेशन चलिरहेको छ । स्ववियु निर्वाचनसमेत घोषणा भइसकेको छ । यस बीचमा पार्टीको महासमिति तथा क्याम्पसहरू बिदा भएका कारण समेत तोकिएको समयभित्र महाधिवेशन गर्न सकिएन,’ अध्यक्ष महरले भने, ‘पार्टीले निर्वाचित कार्यसमितिबाटै १२औं महाधिवेशन गर्नुपर्छ, संगठनले पार्टीलाई यही राय दिन्छ ।’
उनले अहिलेसम्म संगठनले साढे ६ लाख सदस्यतासमेत वितरण गरेको र १६ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरिसकेको जनाए ।
महामन्त्री कुन्दनराज काफ्लले समेत अध्यक्ष महरले भने जस्तै निर्वाचित कार्यसमितिले नै निर्वाचनमार्फत नेतृत्व हस्तान्तरण गर्ने पक्षमा छन् ।

‘पार्टीलाई सर्वसम्मत विधान बुझायौं । उमेर हद पनि पार्टीले भनेअनुसार नै मानेर अधिवेशनमा अघि बढेका छौं । थपिएको समयमा सम्भव नहोला भनेर पहिले नै भनेका थियौं,’ महामन्त्री काफ्लेले भने, ‘अधिवेशन उन्मुख भएको अवस्थामा निर्वाचित कार्यसमितिले नै नेतृत्व हस्तान्तरण गर्ने गरी पार्टीले निर्णय लिनुपर्छ ।’
महामन्त्री काफ्लेले हालसम्म ७० प्रतिशत स्कुल तथा क्याम्पसहरूको अधिवेशन सकिएकोसमेत जानकारी दिए । उनले २ माघसम्म २२ जिल्लाको अधिवेशन सम्पन्न हुनेसमेत बताए ।
केही जिल्लामा जिल्ला अधिवेशन सुरु भएको भन्दै पार्टीभित्रका केही नेतासमेत पुनः समय थप गरेर अधिवेशन गर्नुपर्ने पक्षमा छन् । तर, केही नेताहरू भने कुनै हालतमा म्याद थप गर्न नहुने भन्दै विघटनको पक्षमा उभिएका छन् ।
म्याद सकिन एक साता मात्रै बाँकी रहँदा पनि कांग्रेसले नेविसंघबारे लिइने रणनीतिका बारे पार्टीभित्र कुनै छलफल समेत गरेको छैन ।

नेविसंघ निर्देशन समितिका संयोजक तथा कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले नेविसंघको बारेमा के गर्ने भन्नेबारे पार्टीले एक–दुई दिनभित्रै निर्णय लिने जनाए ।
‘अहिले नै त केही कुराकानी भएको छैन, केही दिनमा नै के गर्ने भन्ने टुंगो लगाउँछौं,’ महतले राजधानीसँग भने ।
पहिलोपटक म्याद थप्दा नै नेविसंघले १६ कात्तिकदेखि १८ कात्तिकसम्म राजधानीमा महाधिवेशन गर्ने निर्णय गरेको थियो । यस्तै, दोस्रोपटक म्याद थप भएपछि समेत २८ देखि ३० पुससम्म महाधिवेशन गर्ने नेविसंघले निर्णय लिएको थियो ।

(Visited 36 times, 1 visits today)