मंगलवार ८ माघ, २०७५ (Tuesday, 22nd January 2019)
८ माघ, २०७५ (22 January 2019)

पोखराबाटै श्रम स्वीकृति

राजधानी समाचारदाता
2 weeks ago
11/01/2019

पोखरा  ।  गण्डकी प्रदेशको राजधानी पोखराबाट श्रम स्वीकृति सेवा सुरु भएकोे छ । यसबाट श्रम स्वीकृतिकै लागि काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बिहीबार सो सेवा उद्घाटन गर्दै अबदेखि गण्डकी प्रदेशका ११ जिल्लाबाट वैदेशिक रोजगारमा जानेहरूका लागि सहज हुने बताए । नवलपरासी पिठौलीका खड्कबहादुर गुरुङलाई मन्त्री विष्टले र स्याङ्जा फेदीखोलाका चन्द्रमान गुरुङलाई प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले श्रम स्वीकृतिसहितको पासपोर्ट हस्तान्तरण गरी सेवा सुरु गरेका हुन् । खड्कबहादुर मकाउ र चन्द्रमान यूएईको दुईवर्षे रोजगारीका लागि जान लागेका हुन् ।

मन्त्री विष्टले युवा जनशक्ति वैदेशिक रोजगारमा पलायन हुने अवस्था आगाम दिनमा निरुत्साहित गरिने बताए । उनले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत कृषि क्षेत्रमै २० लाख रोजगारी सिर्जना गरिने सरकारको योजना रहेको जनाए । उनले अबको पाँच वर्षभित्रै वैदेशिक रोजगारमा जाने बाध्यकारी अवस्था अन्त्य गर्ने महाŒकांक्षी योजना सरकारको रहेको सुनाए ।

शिक्षा, सीप, दक्षता अभावमा नेपाली युवा जनशक्ति कठिन र जोखिमयुक्त अवस्थामा रोजगारीमा जान बाध्य भएको बताउँदै मन्त्री विष्टले कामप्रति उच्च सम्मान गर्ने वातावरण स्वदेशमै सिर्जना नभएसम्म यस्तो अवस्था न्यूनीकरण नहुने बताए । उनले दुनियाँ बदलिएको र विभिन्न विकसित देश आफ्नै मुलुकका युवा जनशक्ति परिचालन गरेर समृद्ध भएको उदाहरण पेस गरे । ‘काम नगर्नेहरू रातारात धनी हुने तर दिनरात काम गर्नेहरूको जीवनस्तर बदलिन वर्षांै लाग्ने अवस्था छ,’ उनले भने, ‘यस्तो विरोधाभास अवस्था अबको दिनमा अन्त्य हुनेछ ।’

उनले काम जीवन हो, भविष्य हो, सम्मान र प्रतिष्ठा हो भन्दै आगामी दिनमा सरकारले प्रधानमन्त्री रोजगारी कार्यक्रम ल्याउन लागेको जानकारी दिए । मुुलुकको अथाह प्राकृतिक स्रोतसाधन सदुपयोग गर्दै देशभित्र आत्मसम्मानका साथ काम गर्ने वातावरण मिलाउँदै कृषि क्षेत्रमा बीसौं लाख रोजगार सिर्जना गर्ने सरकारको योजना रहेको बताए । पोखरास्थित श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत श्रम तथा रोजगार कार्यालयबाट हाल पुनः स्वीकृतिको काम हुने र वैदशिक रोजगारमा जाँदा आवश्यक सबै प्रकारका सेवासुविधा सोही कार्यालयबाट उपलब्ध गराउने जनाइएको छ ।

(Visited 41 times, 1 visits today)