मंगलवार ८ माघ, २०७५ (Tuesday, 22nd January 2019)
८ माघ, २०७५ (22 January 2019)

कृषि क्षेत्रका अनुदान सहकारीमार्फत दिने तयारी

राजधानी समाचारदाता
2 weeks ago
11/01/2019

 

काठमाडौं । सरकारले कृषि क्षेत्रमा जाने अनुदान सहकारीमार्फत दिने तयारी गरिरहेको अर्थ मन्त्री डा. युवराज खतिवडाले बताएका छन् । सरकारले दिने अनुदान व्यक्तिगत रूपमा प्रदान गर्दा दुरुपयोग भएको भन्दै अर्थमन्त्री खतिवडाले कृषिमा मल बीउविजन तथा प्रविधिमा दिइने अनुदान सहकारीमार्फत दिने गरी गृहकार्य भइरहेको बताएका हुन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोगमा राष्ट्रिय सहकारी महासंघको आयोजनामा बिहीबारदेखि सुरु भएको सहकारी उद्यम प्रवद्र्धन राष्ट्रिय कार्यशाला गाष्ठीको उद्घाटन गर्दै डा. खतिवडाले भने, ‘सहकारीमार्फत अनुदान गयो भने प्रभावकारी रूपमा प्रयोग हुन सक्छ । राज्यले गरेको लगानीको प्रतिफल प्राप्त हुन्छ भन्ने सरकारको मान्यता हो । यस विषयमा अन्य मन्त्रालयसँग पनि छलफल भइरहेको छ ।’

उनले थपे, ‘सहकारीमा योगदान गर्न खोजेको छ तर सहकारी र निजी व्यवसाय उस्तैउस्तै देखिए भने सरकारले पनि उस्तैउस्तै व्यवहार गर्दछन् । फरक देखिए सरकारले सहुलित दिन्छ ।’ अर्थमन्त्री खतिवडाले रासायनिक मल, यन्त्र, उपकरण, अन्य शीतभण्डार वा अन्य प्रशोधनका लागि दिइने अनुदान सहकारीको माध्यमबाट जानुपर्ने र आधुनिकीकरणसहितको कृषि उद्यममा सरकारले सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए ।

सरकारले हाल तरकारी, फलफूल, जडीबुटी, दूध कुनै पनि प्रशोधनमा २५ प्रतिशत पुँजीगत अनुदान दिने व्यवस्था गरेको बताउँदै उनले भने,

‘मिल्क होली डे’ हटाउन अहिले सरकारले दूध पाउडर कारखानाका लागि खुला रूपमा पुँजीगत अनुदान दिन लागेको छ । मासु प्रशोधन र निर्यात गर्ने गरी आउने उद्यमीलाई समेत अनुदानको व्यवस्था सरकारले गर्छ ।’ उनले सहकारीलाई अवरोध हुने कानुन संशोधन गरेर जडीबुटी, पर्यटन, शिक्षालगायतका क्षेत्रमा सहकारीको च्यानल प्रयोग गर्ने बताए ।

काठबाहेक वनजन्य उत्पादनमा आधारित उद्यम व्यवसाय, घरेलु र साना उद्योग स्थानीय तहमा गर्न सकिने सम्भावना रहेको उल्लेख गर्दै मन्त्री खतिवडालेले भने, ‘घरेलु उत्पादित वस्तु १५ प्रतिशतसम्म महँगो भयो भने पनि अनिवार्य रूपमा किन्ने गरी विनियमावली क्याबिनेटमा जाँदै छ । यसको भरपुर सदुपयोग गर्नुपर्छ ।’

उनले समुदायमा आधारित होमस्टे सहकारीले सञ्चालन गर्नुपर्ने जोड दिँदै भने, ‘सन् २०२० मा २० लाख पर्यटक भिœयाउने लक्ष्य लिइरहेका बेला पोखरा र भैरहवामा जहाज चलेपछि पर्यटकको सख्या अझै वृद्धि हुन्छ । यसमा सहकारीले होमस्टे खोल्ने अर्गानिक उत्पादन गर्नुपर्छ ।’ यातायातको सिन्डिकेट अझै पूर्णरूपमा नहटेकाले सरकारले यातायात क्षेत्रलाई सहकारीसँग जोड्न लागेको बताए । उनले यातायात प्राधिकरण बनाउन लागेको जानकारी दिए ।

कार्यक्रममा महासंघका सल्लाहकार डा. हरिकृष्ण उपाध्यायले दिगो र प्रभावकारी सहकारीका लागि सदस्यता संख्या, सदस्यको आर्थिक समुन्नति र सुशासन आवश्यक हुने औंल्याए । राष्ट्रिय सहकारी विकास बोर्डका सह अध्यक्ष दक्ष पौडेलले सहकारीलाई व्यवसायतर्फ उन्मुख गराउँदै रोजगारीको अवसर सिर्जना गर्ने, युवालाई आकर्षित गर्ने कार्य गर्नुपर्नेमा जोड दिए । उनले पर्यटनलगायत विविध क्षेत्रमा सहकारीले लगानी गर्ने वातावरण तयार पार्नुपर्ने धारणा राखे ।

कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले सहकारी उद्यमशीलता प्रवद्र्धनका लागि विद्यमान कानुनी व्यवस्थाका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । पूर्वमन्त्री गणेश शाहले उद्यमशीलता विकासमा नवीन प्रविधिको प्रयोग र डा. राजु अधिकारीले व्यवसायकि सफलताका लागि सकारात्मक सोचको विकास विषयक कार्यपत्र प्रस्तुत गरे ।

गोष्ठी शुक्रबार काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न हुने छ । शुक्रबार आईएलओका राष्ट्रिय कार्यक्रम संयाजक नवीन कर्णले सहकारी सहकारबीचको व्यवसाय सम्भावना र चुनौती र उद्यमशीलता विज्ञ तारा ढकाले सहकारीमार्फत लद्यु उद्यम प्रवद्र्धन विषयक कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।

 

(Visited 26 times, 1 visits today)