बिहिवार १२ बैशाख, २०७६ (Thursday, 25th April 2019)
१२ बैशाख, २०७६ (25 April 2019)

स्वर्गीय उसको जिउँदो कथा

सुयोग ढकाल
3 months ago
11/01/2019

 

सुयोग ढकाल

केही दिन अघिको कुरा हो । उसले आफ्नै कोठामा डोरीको पासो लगायो । यसपाला तिहारमा उसकी दिदीले उसलाई दीर्घजीवी हुने आशिष दिँदै लगाइदिएकी मखमलीको माला जस्ताको त्यस्तै कोठाको भित्तामा झुन्डिइरहेको छ । तर, अब त्यो माला पहिरिएको ऊ गइसक्यो । माला अझै उस्तै ताजा छ मानौं कि हिजै भाइटीका थियो ।  उसका केही मुस्कानसहितका तस्बिरहरू त्यहीँ दराजमा राखिएको छ अनि साथमा उसले पाएका केही पुरस्कार अनि तक्माहरू । उसको इहलीलाको अन्त्यसँगै उसका यी प्राप्तिका द्योतकहरू औचित्यहीन भएका छन् । ऊ अस्तिसम्म दिदीको हाँसोमा थियो, अब आँसुमा बगिरहनेछ ।

अब सुरु गर्छु, म स्वर्गीय उसको जीवित कथा । उसले प्रतिनिधित्व गरेको छ ती सबैजना जसले जीवनलाई आफंैले तिलाञ्जली दिएका छन् । ऊ भर्खर २६ वर्षको मात्र थियो । जीवनका आरोह र अवरोहको सुरुवात अनि उत्सर्गमा नै उसले किन यसरी हार खायो, प्रश्नको उत्तर कसैसँग छैन ।  इन्टरनेट अनि पार्टी कल्चरसँग रमाएका देखिने यी पुस्ताहरू भित्रभित्रै अनिद्रा अनि रंगहीन जीवन बिताइरहेका छन् । सम्बन्धलाई न्याय दिन गाह्रो छ, मनको तृष्णा अनि तिर्सना दिनै बढ्दो छ । अरूहरूसँगको तुलना चर्कंदो छ, को ठूलो अनि को राम्रोको विवाद सधैं छ, खुलेर नहाँसेको धेरै भयो अनि औषधि र  लागुपदार्थमा खुसी खोज्न चाहने विकल्प पनि अगाडि छ ।
उसले छाडेर गएपछि म आफंै झस्कन थालेको छु । मैले उसलाई चिन्दा ऊ त्यस्तो थिएन, जस्तो ऊ पछि गएर भयो । उसमा एउटा अदम्य साहस थियो । अनि चमक थियो । त्यो आत्मविश्वास सायद पछि गएर महत्वाकांक्षामा परिणत भयो या महत्वाकांक्षा अहंकारमा परिणत भयो । ऊ पछिल्लो समयमा उत्ति बोल्न रुचाउँदैनथ्यो, हच्केरै बस्थ्यो, फुटसलमा फुटबल खेल्न आउन छाडेको धेरै भइसकेको थियो ।

आज नेपाली अनि विश्व समुदायका धेरै जना धनी– गरिब, राम्रा–नराम्रा, बहुचर्चित अनि मोफसलका धेरै जनालाई यस रोगले गाँजेको छ । कहिलेकाहीँ त यसरी आत्महत्या गर्नु पनि एउटा जमातमा फेसन नै भएको छ कि भन्ने पनि आउँछ मनमा । यस रोग या भनौं सोचबाट ग्रसित धेरै जना छन् र यस संक्रमणलाई विभिन्न नाम दिइएको छ । कसैले डिप्रेसन, कसैले एन्जाइटी त कसैले मेलानकोलीलगायत धेरै नाम दिएका छन् ।
कायर, काँतर आदि धेरै शब्दले पुकारिन्छ यहाँ मरेपछि । अर्कोतर्फ, फेसबुकको वालभरि संवेदनाहरू आँउछन् । पत्रिकामा स्मरणहरू कथिन्छन् । तर, पापी समाज बाँचुन्जेलसम्म चाहिँ घाउमा जानीनजानी नुनचुक छर्दै बसेको हुन्छ । यहाँ बाँचुन्जेलसम्म यसरी दुःखमा अनि डिप्रेसनमा बाँचेकाहरूलाई कायर या अल्छीलगायत थुप्रै नाम दिइन्छ, तुलना गरिन्छ अनि गाली गरिन्छ । फलानाको छोरा र फलानाकी छोरीसँग तुलना अनि तर्कना गरिन्छ ।

बाँचुन्जेल बाँच्नमा आँच थप्न नसकेको समाज अनि परिवारले मरेपछि राखेको चिस्यानमा भने जीवनभर आँसु बगाउँछ । सायद, उसलाई पनि यस्तै भयो कि ? मनको वह अनि पीडा पोख्ने ठाउँ या मान्छे नपाएर सायद भित्रभित्रै भुटभुटिएर उसले जीवनको अर्थ नै पो हराएको हो कि ? अब ऊजस्ता धेरै युवाहरूलाई यसरी पासो लाग्न अनि देहत्याग गर्न नदिन हाम्रा सामाजिक संयन्त्रहरू सक्रिय हुन अनि जीवनमैत्री हुन जरुरी छ ।  जीवनमा बाँच्नुको अर्थ नै नदेख्ने गरी उसमा खोइ के भयो ? बुझ्नै नपाई अनि कुनै हेक्का नै नपाई उसले यसरी जीवन नै किन निरर्थक देख्यो भन्नेचाहिँ मलाई अझै लागिरहेको छ ।

के हामीले आजको पुस्तालाई जीवनको महŒव सिकाउन नसकेकै हो र ? बिहान घाम उदाउँदा, पानी पर्दा, कुनै यात्रामा जाँदा अनि केही खेल खेल्दा जित र हारमा हाँस्न नजानेका पुस्ता आजभोलि स्मार्ट फोन अनि क्रेडिट कार्डको ब्यालेन्ससँग मात्र मुस्काउन थालेका छन् । अभौतिक कुरासँगको यो मित्रताले मानवलाई कहाँ पु¥याइरहेको छ त ? घरमा खाना खान समयमा नगएर पबजीको चिकन डिनरका लागि रातभरि मोबाइल ध्यान गर्ने पुस्ता हुर्किनै रहेको छ ।
पानीको छायामा देखिएको रुखको प्रतिबिम्बको पछि कुदेर पानीको सतहमा हाम्फालेमा प्रतिबिम्बको अभौतिक बस्तु भेटिन्छ र ? डिप्रेसन यही दुविधाको उपज पनि हुन सक्छ । डिप्रेसनले मान्छेभित्रको ऊर्जा, शक्ति, आशा अनि उत्प्रेरणालाई खर्लप्पै पारेर खाइदिन्छ । खुसी लाग्ने र ऊर्जा हुने कुनै पनि कुराले काम गर्न छोड्छ ।

 

 

तिहारमा उसकी दिदीले उसलाई दीर्घजीवी हुने आशिष दि“दै लगाइदिएको मखमलीको माला जस्ताको त्यस्तै कोठाको भित्तामा झुन्डिरहेको छ । तर, अब त्यो माला पहिरिएको ऊ गइसक्यो । माला अझै उस्तै ताजा छ मानौं कि हिजै भाइटीका थियो

 

तसर्थ, डिप्रेसनलाई कम गर्न धेरै अप्ठेरो हुनेगर्छ । अर्को मुख्य कुरा के हो भने डिप्रेसन भएको भनेर चाल पाउन पनि गाह्रो हुन्छ, जस्तै ऊ पनि आफ्नोे अन्तिम घडीसम्म जीवनको त्यो दुर्दशालाई स्विकार्न सकिरहेको थिएन सायद ।
स्वीकारोक्ति सबैभन्दा ठूलो सत्य हो, म कालो छु या मलाई कसैले मन पराएनन् या मैले डाक्टर पढ्न पाइन या अन्य थुप्रै तीता तथ्यहरूलाई हामीले स्विकारेर अघि बढ्न जरुरी छ । हामी सबैजना आआफ्नै हिसाबले विशेष छौं, भित्री सुन्दरता र भावी सफलतालाई आँक्न नसक्नु नै डिप्रेसनको कटु यथार्थ हो । जीवनलाई फिल्म या गीतसँग तुलना गर्नु पनि मूर्खता हो, तीन घण्टाको फिल्म र न्यूनतम ७० वर्षको हाम्रो औसत जीवनमा आकाश जमिनको फरक छ ।
क्रियाशीलता र गतिशीलता नै डिप्रेनसँग लड्ने प्रारम्भिक कार्य हुन् । तर, डिप्रेसनको अवस्थामा यी कुराहरू सहजै गर्न सम्भव छैन । तथापि, तत्काल गर्न सकिने कुराहरू हेरिनु जरुरी छ । हामी सबैलाई कहिलेकाहीँ वाक्क या दिक्क लाग्नु स्वाभाविक हो तर कुनै कारणबिना नै वाक्क लाग्नु या दिक्क लाग्नुचाहिँ खतराको जनाउ हुनसक्छ ।

यस्तो बेलामा तत्कालै गर्ने क्रियाहरूमा सोच्नु जरुरी छ, मनपर्ने संगीत बजाएर नाच्ने हो या फोन इन्टरनेट सबै थन्क्याएर छोटो घुम्न निस्कने हो या साथीलाई बोलाएर भेट्ने, चलचित्र हेर्ने या कुनै अन्जान साथीसँग झुठै सही तर सभ्य शैलीमा चोट नपर्ने गरी रमाइलो च्याट या वार्ता गर्ने हो कि या मनलाई भुलाएर वाक्कपनालाई पन्छाउन जरुरी छ ।
कुनै जनावर पाल्नु भएको छ या एक्वेरियममा माछा छ भने तिनै जनावर या माछासँगै मग्न भएर समय बिताउने हो कि ? कुनै ताल या पोखरी या खोलाको किनारमा एक्लै प्रकृतिसंग समय बिताउने हो कि ? एउटा तथ्य भने पक्का हो, जतिजति मानव प्रकृतिसँग पर भएर जीवन बिताउन थाल्ने भएको छ उतिउति ऊ बेखुसी हुने सम्भाव्यता बढ्दै गएको छ ।
हामी आफूलाई लागेका कुराहरू भन्न अनि डिप्रेसन या लामो समयको बेखुसीलाई उपचार गर्न परामर्शदाता या चिकित्सकहाँ जान लजाउँछौं । तर, कालान्तरमा उसको जस्तो भवितव्य त झन् भयावह हो नि † यो संसारमा रोग कसलाई लाग्दैन, पीडा कसलाई हुँदैन अनि समस्या कसको छैन ? स्वीकार गरेर आत्मविश्वासका साथ अघि बढ्न आउँदो पुस्ताले सिकेमा भोलि ऊजस्तो कसैको भवितव्य हुने थिएन ।

डिप्रेसनमा हुँदा गरिब दुःखी या असहायलाई गएर सानै कुरा भए पनि दानपुण्य गर्नुहोस् अनि हेर्नुहोस् त्यो तपाईंको सानो सहयोगले उनीहरूको जीवनमा र मुहारमा आएका हर्षहरू । तपाईंमा त्यो हर्षको केवल शून्य दशमलव केही न्यूनतम हर्ष मात्र पनि प्रवाह भएमा तपाईं केही न केही आफ्नाबारेमा राम्रो महसुस गर्न थाल्नुहुनेछ ।
मान्छेसँग भर्चुअल्ली कुरा नगर्नुहोस्, आफ्नोे समस्या बाँड्न परेमा आमनेसामने भएर आफ्नोे प्रत्यक्ष अभिव्यक्तिका साथ समस्या उजागर गर्ने गर्नुहोस् । डिप्रेसनमा हुँदा या छु जस्तो लागेमा भिटामिन बी बढी हुने खानाहरू जस्तै ः सागपात, गेडागुडी, चिकेन अनि अन्डाहरू खानुहोस् । धेरै गुलियो र बोसो भएका कुराहरू नखानु जाति हुन्छ ।

उज्यालो र घाम मज्जाले आउने गरी बस्नुहोस् । संसारसँग लुकाउनुपर्ने के छ र ? बन्द झ्याल, ढोका र पर्दा खोल्नुहोस्, हावाको प्रवाह मजाले गराउनुहोस् । ऐना हेर्नुहोस् अनि मुस्काउनुहोस्, तपार्इंको अनुहारमा मुस्कान बडो सुहाउँछ ।
नकारात्मक सोच अनि विचारलाई चुनौती दिनुहोस्, नकारात्मक ऊर्जालाई बिदा दिनुहोस् । सही र गलतबीचको तुलनामा सही र गतलबीचमा एउटा पातलो मैदान बनाउनुहोस् । यस संसारमा केही पनि सम्पूर्ण रूपमा सही या गलत मात्र छैनन् । सही र गलत त केवल असर हुन् । कारण जीवन हो । हरेक सही समयअनुसार गलत र हरेक गलत समयअनुसार सही हुन सक्छ । अब हामीले ऊजस्ता अरूलाई गुमाउनुपर्ने दिन नआओस् ।  दुःख अनि सुख, पीडा या आनन्द, कालो या गोरो, राम्रो वा नराम्रो यी सबै सापेक्षिक कुरा हुन् । एकदिन राम्रो दिन र हाम्रो दिन हुनेछ । सबै कुरा अनि समस्या समाधान भएर हामी जीवनको रंगमा रंगिनेछौं । हाँसीखुसी बाँचौं र बाँचिदिऔं, अनमोल जीवन खेर नफालौं, शुभकामना ।

 

 

(Visited 73 times, 1 visits today)
Loading comments...